प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’मा समावेश गीत ‘दर्शन सलाम’ करोड क्लबमा प्रवेश गरेको छ ।
यो गीतले सार्वजनिक भएको एक महिनामै शनिवार युट्युबमा एक करोड प्लस भ्युज पाएको हो ।
डेभिड शंकर र सहिमा श्रेष्ठको स्वर, राजेन्द्र थापाको शब्द, दीपक शर्माको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको यो गीत सार्वजनिक भएको छोटो समयमै लोभलाग्दो भ्युजका साथ युट्युबमा ट्रेन्डिङ नम्बर वानमा आएको थियो ।
कविराज गहतराजको कोरियोग्राफीमा तयार भिडियोमा स्वस्तिमा खड्काका साथमा चलचित्रका मुख्य कलाकारहरू दीपकराज गिरी, दीपाश्री निरौला, राज आचार्य, केदार प्रसाद घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा लगायतलाई प्रस्तुत गरिएको छ ।
हेमराज बिसी निर्देशित चलचित्र ‘छक्का पञ्जा ४’ले यतिबेला हलमा आक्रामक व्यापार गरिरहेको छ । चलचित्र अघिल्लो शुक्रवारदेखि प्रदर्शनमा आएको हो । चलचित्र प्रदर्शनको केही दिनपछि सार्वजनिक गीत ‘सिरुपाते जुंगामा’ यतिबेला युट्युब ट्रेन्डिङको एक नम्बरमा छ ।