
यो मायालाई आजै हो देखेको
देब्रे गाला चन्द्रमा लेखेको
फूल मायामा न भूल
आजैको देखेको, देब्रे गाला चन्द्रमा लेखेको
फूल मायामा न भूल, ए फूल मायामा न भूल
केही दिनयता चर्चामा छ यो गीत । टिकटकमा निकै छाएका छन् गीतका टुक्काहरू । युट्युबमा भ्युज बढिरहेको छ । ८ दिनअघि पूर्णकला बिसी र राजु आरडीको स्वरमा ‘फूल मायामा नभूल’ गीत सार्वजनिक गरिएको थियो ।
धनबहादुर गायकको शब्द एवं संगीत र प्रविण गुरुङको स्वरमा रहेको पुरानो चर्चित गीतलाई पुनः रेकर्ड गरेर भिडियोसहित यो गीत सार्वजनिक गरिएको हो ।
गीतमा संगीत संयोजनको काम कृष्ण केसीले गरेका छन् । मदन खड्काको कोरियोग्राफी, खड्कासँगै दीलिप गायकको संयुक्त निर्देशन रहेको भिडियोमा राजु आरडी, बबिता बानियाँ ‘जेरी’, रिया खड्का, रञ्जिता लामा लगायतको अभिनय छ ।
यो गीत सार्वजनिक भएको छोटो समयमै टिकटकमा चर्चामा आएको थियो । गीतमा थुप्रैले टिकटक भिडियो बनाए ।
फलस्वरुप भिडियोले आइतवार दिउँसोसम्म युट्युबमा १७ लाख ५० हजार प्लस भ्युज पाइसकेको छ ।

भिडियोका कोरियोग्राफर एवं निर्देशन मदन खड्काले भिडियोको भ्युज बढ्नुमा टिकटकले फाइदा पुर्याएको बताए ।
‘अहिले त गीत प्रमोसनको माध्यम नै टिकटक बनेको छ’ खड्काले भने, –‘यो गीतलाई पनि टिकटकले फाइदा पुर्यायो । टिकटकमा गीत मन पराइएपछि युट्युबमा भिडियो खोजेर हेर्नेहरू बढ्नुभयो । त्यसपछि गीतले राम्रो भ्युज पाउँदै गयो ।’ उनका अनुसार यो गीतमा लाखौं टिकटक भिडियो बनेका छन् ।
दुर्गा पौडेलको छायाँकन रहेको यो गीतको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।