
सर्वसाधारणलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि बेदकोट नगरपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण अगाडि बढाइएको छ ।
नगरपालिकाको वडा नम्बर ३ मा ९ करोड ७४ लाखको लागतमा अस्पताल भवन निर्माण हुन लागेको हो ।
अस्पताल भवन निर्माणका लागि राजेन्द्र निर्माण सेवा कम्पनीलाई जिम्मा दिइएको छ । निर्माण कम्पनीसँग अस्पताल निर्माणका लागि २ वर्षअघि ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भए पनि साइड क्लियर नहुँदा निर्माण ढिलो गरी शुरू भएको छ ।
नगर प्रमुख भोजराज बोहराले अस्पताल निर्माण अगाडि बढेको बताए ।
‘अस्पताल निर्माणका लागि ठेक्का सम्झौता भए पनि आवश्यक जग्गाको व्यवस्थापन नहुँदा कार्य अगाडि बढ्न सकेको थिएन,’ उनले भने, ‘जग्गा व्यवस्थापन गरी निर्माण व्यवसायीलाई तोकेता गर्यौं, साइड क्लियर भएपछि निर्माण अगाडि बढेको छ ।’
उनका अनुसार अस्पताल निर्माणका लागि शारदा माध्यमिक विद्यालयले ७ कठ्ठा, सामुदायिक वनले ५ कठ्ठा गरी १२ कठ्ठा जग्गा उपलब्ध गराएको छ । अस्पतालका लागि २ वटा भवन, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीका लागि आवासीय भवन निर्माणका लागि योजना निर्माण गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टका अनुसार २ वर्षभित्रै निर्माणकार्य सक्ने गरी विक्रम संवत् २०७७ सालमा ठेक्का सम्झौता भएको थियो ।
अस्पताल निर्माण भई सञ्चालनमा आएपछि यस क्षेत्रका वासिन्दाले चिकित्सकीय सेवा लिनका लागि महेन्द्रनगर र भारततर्फ जानुपर्ने झन्झट हटेर जाने बताइएको छ । नगरपालिकामा हालसम्म २ वटा स्वास्थ्य चौकी, २ वटा २४ घण्टे बर्थिङ सेन्टर र १० आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा छन् ।