
२०४८ सालमा पहिलोपटक सांसद भएका नेपाली कांग्रेसका नेता रमेश रिजाललाई २०७९ सालमा आएर बल्ल मन्त्री बन्ने साइत जुरेको छ ।
लामो कालखण्ड कांग्रेसका रहेर पटक–पटक चुनाव जितेका रिजालले अन्ततः पहिलोपटक सांसद भएको ३० वर्षपछि मन्त्री बन्ने मौका पाएका हुन् ।
२०४८ सालमा रिजालसँगै चुनाव लडेका कांग्रेस सभापति शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री भइसकेका छन् । समकालीन राजनीति गरेका लोसपाका नेता शरतसिंह भण्डारी १२ पटक मन्त्री बने तर निरन्तर कांग्रेस सभापति शेरबहादुर देउवानिकट रहेका रिजालले भने लामो कालखण्डमा पहिलोपटक मन्त्री बन्ने मौका पाएका हुन् ।
पटक–पटक चुनाव जितेर पनि धैर्यतापूर्वक देउवालाई साथ दिएका रिजाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका हुन् । परराष्ट्र मन्त्री बन्ने चर्चा र तयारीबीच उनलाई देउवाले वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा लगाएका हुन् । सिनियर र निरन्तर साथ दिँदै आएका रिजालाई अवसर नदिएको निरन्तरको आरोपपछि देउवाले यसपटक उनलाई मन्त्रीमा अवसर दिएका हुन् ।
आफ्ना विश्वासिला नेता रिजाललाई देउवा स्वयंले परराष्ट्र मन्त्री बनाउनेमा ढुक्क गराएका थिए तर अन्तिममा उनलाई वाणिज्यमा पठाइएको छ । रिजाल २०४८, २०५१, २०६४ सालको पहिलो संविधानसभा र यसपटक गरी ४ पटक सांसद बनेका नेता हुन् । रिजाल गत मंसिर ४ गते भएको निर्वाचनमा पर्सा–४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।
यसअघि २०७४ सालमा रिजाल कांग्रेस अनुशासन समितिको संयोजक भएका थिए । पटक–पटक केन्द्रीय सदस्य रहँदै आएका रिजाल १४औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य चुनिएका थिए । केन्द्रीय सदस्यमध्येमा रिजाल सिनियरमै पर्छन् । उनी अहिले कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्य पनि हुन् । उनी २०५६, २०७० र २०७४ चुनावमा पराजित हुन पुगेका थिए ।
२०१३ सालमा पर्साको मसिहानीमा जन्मिएका रिजाल २०२७ सालबाटै नेविसंघको राजनीतिमा होमिएका थिए । उनका बुवा मेघनाथ उपाध्याय २०१५ सालको चुनावमा कांग्रेसबाट लडेका थिए । उपाध्याय राणा शासन विरोधी आन्दोलनमा सक्रियतापूर्वक लागेका थिए । बुवाको लिगेसीबाट छोरा रिजाल पनि नेविसंघ हुँदै कांग्रेसको राजनीतिमा जोडिएका हुन् ।
वीरगञ्जको ठाकुरराम क्याम्पसबाट उनी नेविसंघको राजनीतिमा जोडिएका हुन् । राजनीतिक परिवारमा जन्मिएका रिजाल पञ्चायतमा प्रवासमा कांग्रेस सक्रिय हुँदादेखि नै पार्टीमा लागेका थिए । राजनीतिक आन्दोलनका क्रममा उनी ३ वर्ष जेल बसेका छन् ।
उनी भारतको पटनामा भएको सम्मेलनमा २०३४ सालमा कांग्रेस पर्साको सचिव भएका थिए । रिजाल २०५१ सालमा पर्सा कांग्रेसको सभापति चुनिएका थिए ।
कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडा रिजाल संसदीय राजनीतिमा विमलेन्द्र निधिभन्दा पनि पुराना नेता भएको बताउँछन् ।
‘शालिन, भद्र, इमान्दार र अनुभवी नेता रमेश दाइ विमलेन्द्र निधिभन्दा पनि पुरानो नेता हो । उहाँ २०४८ सालदेखि चुनाव जित्नुभयो तर निधि २०५१ पछि बल्ल संसदीय राजनीतिमा आउनुभयो,’ खतिवडा भन्छन्, ‘कहिल्यै चुनाव नजितेकालाई पनि पटक–पटक अवसर दिने र मन्त्री बनाइँदै गर्दा रमेश दाइलाई बल्ल आज आएर न्याय भएको छ ।’