०२ साउन २०८३, शनिबार
निजी क्षेत्र अझै असन्तुष्ट

ब्याजदर कटौतीले बुझेन निजी क्षेत्रको चित्त, यतिले मात्र समस्या समाधान नहुने गुनासो

बैशाख १, २०८०
ब्याजदर कटौतीले बुझेन निजी क्षेत्रको चित्त, यतिले मात्र समस्या समाधान नहुने गुनासो

वाणिज्य बैंकहरूले वैशाख १ गतेदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर १ प्रतिशत घटाएका छन् । दुई दिनअगाडि वाणिज्य बैंकहरूले गरेको यो निर्णयसँगै विकास बैंक र फाइनान्स कम्पनीको ब्याजदर पनि घटेको छ । वैशाखबाट वाणिज्य बैंकहरूले दिने निक्षेपको ब्याजदर एकल अंकमा झरेको छ । 

बैंकहरूले चैतको अन्तिम दिन नयाँ ब्याजदर वैशाखबाट लागू हुने भन्दै सूचना प्रकाशित गरेरै ब्याजदर घटाएको जानकारी दिएका हुन् । प्रकाशित सूचनाअनुसार वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशतमा झरेको छ । चैतसम्म मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका बैंकहरूले १.१ प्रतिशतले ब्याजदर घटाउँदा विकास बैंक र फाइनान्सले पनि सोही अनुपातमा ब्याजदर घटाएका छन् ।

चैत महिनामा निक्षेपमा अधिकतम् ११.६० प्रतिशतका दरले ब्याज दिइरहेका अधिकांश विकास बैंकहरूले वैशाख महिनामा भने १०.६० प्रतिशत दिने भएका छन् ।

यस्तै चैतमा अधिकतममा १२ प्रतिशत ब्याजदर प्रदान गर्दै आइरहेका अधिकांश फाइनान्स कम्पनीहरूले पनि वैशाखमा ११.२५ प्रतिशतका दरले ब्याज दिने सूचना सार्वजनिक गरेका छन् । 

ब्याजदर घटाउने निर्णयसँगै अब वाणिज्य बैंकहरूमा संस्थागत वचतकर्ताको निक्षेपको ब्याजदर ७.९९ प्रतिशत हुने भएको छ । सामान्य बचतको ब्याजदर ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत हुनेछ । यसअघि सामान्य वचतकर्ताले ६ देखि ८ प्रतिशत ब्याज पाउँदै आएका थिए । 

वाणिज्य बैंकहरूले निक्षेपमा एकल अंकको ब्याजदर कायम गरेको भए पनि निजी क्षेत्र भने अझै सन्तुष्ट छैन । राष्ट्र बैंकले नीतिगत व्यवस्था नै गरेर अर्थतन्त्रलाई राहत हुने गरी ब्याजदर घटाउने अपेक्षा गरिएको भए पनि त्यसो हुन नसकेको नेपाल उद्योग परिसंघ (सीएनआई)का वरिष्ठ उपाध्यक्ष राजेश अग्रवालले बताए । 

उनले भने, ‘राष्ट्र बैंकले नीतिगत हस्तक्षेप गरेर घटाएको भए दीर्घकालीन र त्यसको प्रभावकारिता पनि बढी हुने थियो । अहिले बजारमा हल्ला धेरै भएर थामथुम पार्नलाई मात्र ब्याजदर घटाएको देखियो ।’

यस्तो बेलामा राष्ट्र बैंकले नेतृत्व लिएर समस्या समाधान गर्नुपर्ने उनको माग छ ।

‘केन्द्रीय बैंकले तोकेको ल्यान्डिङ रेटलाई नै घटाउन सक्यो भने त्यसबाट अर्थपूर्ण काम हुन्छ । अहिले घटेको ब्याजदरले अर्थतन्त्रमा खासै योगदान गर्दैन । यसले ०.५ प्रतिशतसम्मको मात्रै योगदान दिन सक्ने र त्यो पनि कम्तीमा २ त्रैमास पर्खनुपर्ने हुन्छ’, उनले थपे, ‘हाम्रो अपेक्षा केन्द्रीय बैंकबाट निर्देशन होस् र कम्तीमा २ प्रतिशत घटोस् भन्ने थियो ।’ 

अहिले अर्थतन्त्रमा देखिएको समस्यालाई कम गर्ने टुल्स बैंकको ब्याजदर नै भएको निष्कर्ष निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल मुलुकको अर्थतन्त्र चलायमान बनाउन कर्जाको ब्याजदर नै एकल अंकमा आउनुपर्ने माग गर्छन् ।

‘अहिले निक्षेपको ब्याजदर मात्र एकल अंकमा आएको छ । यो अवस्थामा केन्द्रीय बैंकले विभिन्न टुल्स प्रयोग गर्न सक्छ । त्यसलाई घटाएर एकल दरमै कर्जा दिन सक्छ । बेसरेटमा दिने प्रिमियम २ प्रतिशतमा सीमित गर्ने, बैंक दर घटाउने र केन्द्रीय बैंकले लिने नीतिबाटै ब्याजदर घटाउनुपर्ने हुन्छ,’ उनले भने ।

जबसम्म कर्जाको ब्याजदर एकल अंकमा आउँदैन, तबसम्म बजार चलायमान नहुने मल्लको तर्क छ ।

नेपाल बैंकर्स संघका सीईओ अनिल शर्मा भने चौतर्फी दबाबका कारण १ प्रतिशतले भए पनि ब्याजदर घटाउन सकिएको बताउँछन् । उनले भने, ‘बैंकहरूले जति सक्छन्, त्यति नै कम गरेका छन् ।’

अहिले निक्षेपको ब्याजदर घटाएर सकारात्मक सन्देश दिने प्रयास भएको छ र अर्को महिनाबाट कर्जाको ब्याजदर पनि विस्तारै घट्दै जाने उनको बुझाइ छ ।

बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)का अध्यक्ष पवन गोल्यान भने निरन्तर दबाब र निजी क्षेत्रको आग्रहलाई सुनेर नै बैंकको ब्याजदर १ प्रतिशतले घट्न गएको बताउँछन् ।

अब बेस रेट पनि घट्ने र एक महिनापछि त्यसको प्रभाव कर्जाको ब्याजदरमा समेत देखिने उनको भनाइ छ ।

आगामी जेठ र असारमा पनि यही अनुपातमा ब्याजदर घटाउन सकिए कर्जाको ब्याजदर एकल अंकमै आउन सक्ने गोल्यानले बताए ।

ब्याजदर घटाउने निर्णय भएकै दिन शेयर बजारमा सकारात्मक प्रभाव परेको भन्दै गोल्यानले अन्य क्षेत्र पनि विस्तारै चलायमान हुने विश्वास व्यक्त गरे ।

सरकारले निर्माण व्यवसायीको रोकिएको करीब ७० अर्ब भुक्तानी दिने तथा ३५ अर्ब पुनरकर्जा र १ खर्ब रुपैयाँ उत्पादनशील क्षेत्रमा खर्च गर्न सके बजार सामान्य अवस्थामा फर्किने उनको तर्क छ ।

गोल्यानका अनुसार राष्ट्र बैंकले सार्वजनिक गरेको महंगीदर भन्दा कर्जाको दर कम नहुने गरी व्यवस्थापन गर्न सकिन्छ । त्यसको मूल ध्येय बजार सहज बनाउने भन्ने नै हो ।

केन्द्रीय बैंकले भने बजारको माग अनुसार ब्याजदर तय हुने प्रतिक्रिया दिएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले २०४६ सालदेखि नै बैंकहरूको ब्याजदर तय गर्ने जिम्मा बजारलाई दिइएको बताए । उनले भने, ‘राष्ट्र बैंकले ब्याजदरमा हस्तक्षेप गर्ने भन्ने होइन, यो त बजारको आवश्यकताअनुसार आफैं निर्धारण हुनुपर्छ ।’

ब्याजदर कम गरेर अर्थतन्त्र चलयमान गर्न बैंक तथा वित्तीय परिसंघले सरकारलाई विभिन्न प्रकारका सुझाव दिएको छ । परिसंघले पूँजीबजार स्थिर भएकाले यसलाई चलायमान बनाउनुपर्ने, बैंकिङ क्षेत्रमा विद्यमान कर्जा नोक्सानी व्यवस्थामा पुनरावलोकन गर्नुपर्नेसहितको माग सरकारसँग राखेको छ ।

बजारमा तरलता प्रवाह बढाउनुका साथै पूँजीगत खर्च बढाउनुपर्ने, आत्मनिर्भर अर्थतन्त्रमा जोड दिनुपर्ने माग पनि परिसंघले गरेको छ ।

केन्द्रीय बैंकमार्फत तरलता बढाउने, घरजग्गा र शेयर बजारलाई सकारात्मक ऊर्जा दिने काम गर्नुपर्ने, उत्पादनमूलक क्षेत्र तथा रोजगारमूलक उद्योग व्यवसाय, ऊर्जा, निर्माण, पर्यटन, कृषिजस्ता क्षेत्रका लागि आवश्यक पर्ने कर्जाको ब्याजदर अन्य क्षेत्रको तुलनामा कम्तीमा २ (दुई) प्रतिशतले कम हुनुपर्ने माग पनि परिसंघको छ ।

salt training

कमेन्ट गर्नुहोस्