
आक्रामक व्यापार गरिरहेको फिल्म ‘जारी’ पाइरेसीको मारमा परेको छ ।
सामाजिक सञ्जालबाट फिल्मको पाइरेसी भइरहेको भन्दै यसका निर्माताले प्रहरीमा उजुरी दिएका छन् । निर्माता मणिराम पोखरेलले आइतवार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् ।
फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामबाट फिल्मको पाइरेसी भइरहेको र त्यसले निर्माण टिमलाई आर्थिक नोक्सान भएको भन्दै निर्माता पोखरेलले ३२ वटा एकाउन्टविरुद्ध अनुसन्धान गरिपाउँ भन्दै उजुरी दिएका हुन् । उक्त उजुरीमा क्षतिपूर्ति दिलाइदिन समेत माग गरिएको छ ।
शुक्रवारदेखि प्रदर्शनमा आएको यो फिल्मले दुई दिनमा ४ करोड २० लाख बढी कलेक्सन गरिसकेको छ ।
उपेन्द्र सुब्बा निर्देशित फिल्मको लामा– लामा दृश्य पनि टिकटकमा हालिएको छ । यो फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बरालको मुख्य भूमिका छ ।
यसअघि झिंगेदाउ, छक्का पञ्जा ४ लगायतका फिल्म पनि पाइरेसीको मारमा परेका थिए ।