
अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भई हाल काठमाडौं महानगरपालिका–१ लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठ रहेकी प्रहरीले जनाएको छ ।
श्रेष्ठले वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइ प्रतिष्ठित कम्पनीमा तीन लाख रूपैयाँभन्दा बढी तलबको काम लगाइदिने प्रलोभनमा पारी पीडितबाट पटक-पटक गरी रु ३० लाख रूपैयाँ ठगी गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई लाजिम्पाटबाट पक्राउ गरेको हो ।
पक्राउ परेकी श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।