११ साउन २०८३, सोमबार
थमन विक हत्या प्रकरण

एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित

बैशाख १९, २०८०
एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित

महोत्तरी– १ बाट निर्वाचित एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् ।

हत्या अभियोगमा कोइरी फरार अभियुक्त रहेको भन्ने व्यहोराको प्रहरीको पत्र सभामुखसमक्ष पुगेपछि मंगलवार कोइरीलाई निलम्बन गरिएको हो ।

सभामुख देवराज घिमिरेले निलम्बनको निर्णय गरे पनि सूचना टाँस्न भने बाँकी रहेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले लोकान्तरलाई जानकारी दिए ।

अधिकारीका अनुसार आजै साँझ वा भोलि बिहानसम्ममा सूचना टाँसिने छ ।

'प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ (३) बमोजिम सभामुखले उहाँलाई निलम्बन गर्नुभएको हो,' अधिकारीले भने ।

उनका अनुसार लगातार १० वटा भन्दा बढी बैठकमा अनुपस्थित भएको कारण समेत उल्लेख गरेर निलम्बन गरिएको छ । 

प्रहरीले संसद् सचिवालयलाई गत पुस ७ गते र यही वैशाख १७ गते कोइरीका सम्बन्धमा पत्र पठाएको थियो ।

संसद् सचिवालय स्रोतका अनुसार यसअघि आएको पत्र सभामुखकोमा पुगेको थिएन । 

यसबीचमा कोइरीले बिरामी बिदा स्वीकृतिका लागि माघ २५ गते संसद् सचिवालयमा पत्र दर्ता गराएका थिए ।

यो विषयले प्रतिनिधिसभा बैठकमा समेत चर्को विवाद र वादप्रतिवाद भएको थियो ।

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरी बलका सहायक निरीक्षक थमन विकलाई घेरा हालेर कुटपिट गरी हत्या गरेको घटनामा महतोविरुद्ध जिल्ला अदालत महोत्तरीमा कर्तव्य ज्यान मुद्दा विचाराधीन छ ।

जिल्ला अदालतले थुनछेक बहसपछि महतोलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएकोमा उच्च अदालत जनकपुरले थुनामा राख्न आदेश दिएको थियो । तर, कोइरी पक्राउ परेका छैनन् ।

फरार अभियुक्त रहेकै बेला चुनाव लडेर उनी निर्वाचित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्