३० असार २०८३, मंगलबार

बुटवलमा प्रथम राष्ट्रिय पार्क सम्मेलन हुँदै

बुटवलमा प्रथम राष्ट्रिय पार्क सम्मेलन हुँदै

बुटवलमा प्रथम राष्ट्रिय पार्क सम्मेलन हुने भएको छ ।

सम्मेलन यही जेठ ६ र ७ गते बुटवलस्थित मणिमुकुन्द सेन उद्यान (फूलबारी) मा हुने सम्मेलन आयोजक समितिका संयोजक खेमप्रसाद लुइटेलले जानकारी दिए । पार्कहरूले भोग्नुपरेका कानूनी जटिलता र नीतिगत समस्या पहिचान र समाधानमा साझा पहल गर्न राष्ट्रिय पार्क सम्मेलन आयोजना गरिएको हो ।

बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक लुइटेलले हालसम्म नेपालमा पार्कसम्बन्धी कुनै कानून, नियमावली नहुँदा जुनुसुकै क्षेत्रबाट सञ्चालित पार्कहरूको विकास र संरक्षणमा समस्या देखिएको बताए । यसको नीतिगत तहमा समाधान खोज्न सम्मेलन आयोजना गरिएको उनले जानकारी दिए ।

राष्ट्रिय पार्क सम्मेलन आयोजक समितिका संयोजकसमेत रहेका लुईटेलले सम्मेलनमा देशभरका करिब १५० पार्कका ३ सय जना प्रतिनिधिहरू सहभागी हुने र पार्कहरूको राष्ट्रिय नेतृत्व चयन गर्ने बताए ।

देशको समृद्धिमा पर्यटन अभिन्न पाटो भएकाले पर्यटनको आधार स्तम्भ पार्क सञ्चालन गर्दा आइपर्ने समस्यालाई कानूनी र नीतिगतरूपमा सम्बोधनका लागि सम्मेलनले राजयका सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उनको विश्वास छ ।

सम्मेलनमा संविधानविद् काशीराज दाहाल र पत्रकार डिआर घिमिरेले कार्यपत्र पेस गर्ने र त्यसमाथि छलफल हुने अध्यक्ष लुइटेलले बताए ।

शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) का अध्यक्ष बेलप्रसाद शर्माले पर्यटन, वातावरण संरक्षण, मानव स्वास्थ्य र ठाउँको सौन्दर्यताका लागि पार्कहरूको ठूलो भूमिका र योगदान भए  पनि हालसम्म राज्यले कानूनी र नीतिगत रुपमा सम्बोधन नगरेको हुँदा आवश्यक कानून र नीति निर्माणमा सम्मेलनले दबाब दिने बताए ।

धेरैजसो पार्कहरू वन क्षेत्रभित्र सञ्चालनमा रहेकाले बेलाबेलामा वनसँग हुने विवाद र द्वन्द्व अन्त्यका लागि स्पष्ट कानून बनाउन राज्यको ध्यानाकर्षण गराउन सम्मेलनले भूमिका खेल्ने अध्यक्ष शर्माले बताए ।

दुई दिनसम्म चल्ने सम्मेलनमा करिब ३० लाख खर्च हुने आयोजकले जनाएको छ । सम्मेलनले नेपाल पार्क महासंघ गठन गरी बुटवल घोषणापत्र समेत जारी गर्ने सम्मेलनका सदस्य सचिव एवं मणिमकुन्द सेन उद्यानका प्रमुख कार्यकारी अधिकृत अनन्त सिलवालले जानकारी दिए ।

मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फूलबारी) र तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) को व्यवस्थापन सम्मेलन हुन लागेको हो ।

salt training

कमेन्ट गर्नुहोस्