०२ साउन २०८३, शनिबार

सुनसरीमा २२ सय जनाको निःशुल्क आँखा जाँच

सुनसरीमा २२ सय जनाको निःशुल्क आँखा जाँच

नेपाल नेत्रज्योति संघ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगन्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगन्ज गाउँपालिकामा २ दिने निशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ ।

नुरदुबई फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न आँखा शिविरमार्फत् २ हजार १९९ जनाको आँखा परीक्षण गर्दा २४२ जनामा मोतिबिन्दुको समस्या देखिएको छ ।

बुधवारसम्ममा १५४ जना बिरामीको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिसकिएको र बाँकी बिरामीहरूको पनि निःशुल्क शल्यक्रिया गरिने बताउँछिन् अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा.रक्षा पन्त ।

जेठ १ र २ गते देवानगन्ज गाउँपालिकामा चलेको शिविरमार्फत दृष्टिदोष भएका ९१९ जना बिरामीहरूलाई निःशुल्क चश्मा समेत वितरण गरिएको बताउँछन् विराटगनर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक मोहम्मद रफिक ।

शिविरमा मोतिबिन्दु देखिएका बिरामीहरूलाई विराटनगर आँखा अस्पतालमा ल्याई निःशुल्क शल्यक्रिया गरिएको थियो । आँखा उपचारको पहुँच र आर्थिक अभावमा लामो समयदेखि दृष्टिविहीन बस्न बाध्य भएका बिरामीहरूले आफ्नो घर आँगनमै निःशुल्क आँखा उपचार सेवा पाएपछि खुशी हुँदै स्वास्थ्यकर्मीहरूलाई धन्यवाद समेत दिएका थिए ।

शिविरमार्फत सुनसरी जिल्ला सहितका छिमेकी जिल्लाका साथै सीमा क्षेत्रका भारतका नागरिकहरू समेत लाभान्वित भएको बताउँछन् अस्पतालका प्रबन्धक कुमार पृथु ।

विराटनगर आखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा. सुमित मिश्र र डा. प्रिति अग्रवालको नेतृत्वको टोलीले शिविरमा सेवा प्रवाह गरेको थियो ।

नेपाल नेत्रज्योति संघ पुर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत हाल २ वटा आँखा अस्पताल र ३१ वटा आँखा उपचार केन्द्र सञ्चालनमा छन् ।

सन् २०२२ मा पूर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत सञ्चालित अस्पताल, आँखा उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रममार्फत १२ लाख १३ हजार ३२६ जनाको आँखा जाँच गरी १ लाख ३१ हजार ८४६ जनाको शल्यक्रिया गरिएको थियो । त्यसैगरी स्थापनाकालदेखि सन् २०२२ सम्ममा संस्थामार्फत १ करोड २४ लाख ३० हजार ४७६ जनाको आँखा जाँच गरी २० लाख ९४ हजार १५ जनाको शल्यक्रिया गरिएको छ ।

सन् २०२२ मा १५४ वटा निःशुल्क आँखा शिविर सञ्चालन गरी ६ हजार १३० जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया समेत गरिएको थियो । पहुँच र आर्थिक अभावमा कोही पनि नागरिकहरू दृष्टिविहीन बस्नु नपरोस् र सन् २०३० सम्ममा नेपालबाट उपचारपछि निको हुने अन्धोपन निवारण गर्ने नेपाल सरकारको योजनालाई सफल बनाउने गरी आफ्नो सेवालाई विस्तार गरिरहेको बताउँछन् पुर्वाञ्चल आँखा उपचार कार्यक्रमका प्रमुख प्रशासक सुधिर ठाकुर ।

नेपाल नेत्रज्योति संघले सन् २०३० सम्ममा नेपालका हरेक स्थानीय तहसम्म आँखा स्वास्थ्य सेवालाई विस्तार गर्ने लक्ष्य लिएकाले सोही अनुरूप अहिले काम अगाडि बढिरहेको बताउँछन् नेत्रज्योति संघका केन्द्रीय सदस्य एवं विराटनगर आँखा अस्पताल व्यवस्थापन समिति अध्यक्ष पद्मनारायण चौधरी ।

salt training

कमेन्ट गर्नुहोस्