
केही समय अघि मात्रै भारतमा उपचार गराएर स्वदेश फर्किएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार नभएको देखिएको छ ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि शीतल निवासदेखि नयाँ बानेश्वरस्थित संसद भवनसम्म आउँदा, प्रस्तुत गर्दा र फर्किंदा राष्ट्रपतिले असहजता महसुस गरेको देखिएको छ ।
सरकारको २०८०/८१ को कार्यक्रम प्रस्तुत गर्न संघीय संसदको संयुक्त बैठकमा आउँदा पनि राष्ट्रपतिलाई सुरक्षाकर्मीले आड दिएका थिए । करिब दुई घण्टा लगाएर नीति कार्यक्रम पढ्दा पनि पौडेलले पटक–पटक असहजता महसुस गरेका थिए । लामा वाक्य पढ्ने क्रममा उनको स्वर पटक–पटक दबेको थियो ।
संसदमा आउँदा, १ घण्टा ५५ मिनेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दा र फर्किँदा विस्तारै–विस्तारै हिँडेका पौडेलले असहजता महसूस गरेको प्रत्यक्ष भिडियोमा देख्न सकिन्छ ।
पौडेलको अनुहारको भावले पनि उनी पूर्णरूपमा स्वस्थ नभएको देखाउँछ ।
कार्यक्रम घोषणा गरेर फर्किँदा पनि दुवैतर्फ सुरक्षाकर्मीले समाएर उनलाई गाडीसम्म पुर्याएका थिए ।
स्वास्थ्यमा राम्रो सुधार नआइसकेकाले राष्ट्रपतिले कार्यक्रमलाई शुरूआत गर्ने र प्रधानमन्त्रीले पढ्ने चर्चा गरिएको थियो । तर शारीरिक रुपमा पूर्णरूपमा ठीक नभइसके पनि राष्ट्रपति आफैंले कार्यक्रम पूरै पढ्ने बताएका थिए ।
राष्ट्रपतिका निजी चिकित्सक निरज बमले पौडेलको स्वास्थ्य अवस्था विस्तारै ठीक हुँदै गएको जानकारी दिए ।
‘उहाँले दुई घण्टासम्म सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभयो । त्यस्तो ठूलो समस्या छैन’ उनले भने, ‘भारतमा उपचार गराएर आएपछि उहाँको स्वास्थ्यमा सुधार हुँदैछ ।’
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले उपचारपछि पूर्ण निको नभएको बताए । तर कुनै स्वास्थ्य समस्या नभएको उनको भनाइ छ ।
‘स्वास्थ्यमा समस्या भएको भए उहाँले दुई घण्टासम्म नीति कार्यक्रम प्रस्तुत गर्न सक्नुहुने थिएन’ कार्कीले भने, ‘तर उपचारपछि पूरै निको भइसक्नुभएको छैन । औषधि खाइरहनुभएको छ ।’ केही समयअघि मात्रै बिरामी परेको हुँदा राष्ट्रपतिलाई आउने र जाने क्रममा सुरक्षाकर्मीले बढी नै भरथेग गर्दा स्वास्थ्यमा समस्या हो कि जस्तो देखिएको हुन सक्ने कार्कीको भनाइ छ ।
छातीमा संक्रमण देखिएपछि वैशाख ६ गते भारतको एम्स अस्पतालमा उपचारका लागि गएका पौडेल १८ वैशाखमा फर्किएका थिए ।