
भारतको आन्ध्र प्रदेशमा रहेको वेमना इंदलू गाउँका मानिस कहिले पनि जुत्ता चप्पल लगाउँदैनन् ।
गाउँको स्थापना भएदेखि नै यस्तो परम्परा चलिआएको हो । अनि यस गाउँबाट बाहिर गएर फर्किने बेलामा नुहाइधुवाइ नगरी गाउँमा पस्न नदिइने परम्परा पनि छ ।
सानो गाउँमा २५ परिवार बस्छ । कुल जनसंख्या ८० छ । अधिकांश गाउँलेहरू अशिक्षित छन् र कृषिमा निर्भर छन् ।
यस गाउँको नियम र परम्परालाई गाउँलेहरूको नातेदारले पनि मान्नुपर्छ ।
यहाँका मानिसले आफूलाई पलवेकरी जाति भन्छन् । यिनीहरूलाई पिछडिएको वर्गमा सूचीकृत गरिएको छ ।
गाउँलेहरू बिरामी हुँदा पनि अस्पताल जाँदैनन् । भगवानले सबै रोग निको पारिदिने विश्वास उनीहरू राख्छन् । उनीहरू बिरामी पर्दा नीमको रुख वा स्थानीय मन्दिर घुमेर काम चलाउँछन् ।
महिनावारी हुँदा महिलालाई घरमा मात्र नभई गाउँमा पनि बस्न दिइँदैन । उनीहरूका लागि गाउँबाहिर एउटा कोठा बनाएर राखिन्छ ।
गाउँलेहरूले सरकारी योजनाको लाभ लिइरहेका छन् । राशन उनीहरूको घरसम्मै पुर्याउने गरिएको छ ।