०२ साउन २०८३, शनिबार

सुत्केरी खोज्दै जनप्रतिनिधि घरघरमा

सुत्केरी खोज्दै जनप्रतिनिधि घरघरमा
प्रतिकात्मक तस्वीर

सिरहाको नवराजपुर गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

जनप्रतिनिधिले पोषिलो खानेकुरा, बच्चाका लागि कपडा र ३ हजार ५०० रुपैयाँ लिएर पुग्दा स्थानीय महिला खुशी भएका हुन् ।

सुरक्षित मातृत्वका लागि गर्भवतीलाई ४ चरणमा स्वास्थ्य परीक्षण गराउनुपर्छ । बर्थिङ सेन्टरमा सुत्केरी गराउन उत्प्रेरीत गर्ने उद्देश्यले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालनमा ल्याएको नवराजपुर गाउँपालिका उपाध्यक्ष पुनमकुमारी यादवले बताइन् । उनले भनिन्, ‘सुत्केरी खोज्दै हामी घरघर जाने गरेका छौं । घरमै पुगेर सुत्केरीलाई सेवा उपलब्ध गराउँदै आएका छौं । यसका लागि स्थानीय स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएकाले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन भइरहेको छ ।’

नवराजपुर–३ फूलवरियाकी पुष्पा यादवले ‘सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ बच्चालाई कुपोषण हुनबाट कसरी जोगाउन सकिन्छ भन्ने जानकारी पनि प्राप्त हुने हुँदा कार्यक्रम उपलब्धिमूलक भएको बताइन् ।

नवराजपुर–१ देवीनगरकी गनिताकुमारी दासले कार्यक्रमबाट बच्चाका लागि कपडा र रकम पाएपछि निकै खुशी लागेको सुनाइन् । पोषिलो खानेकुरा किन्नका लागि रकम र बच्चाका लागि कपडा लिएर उपाध्यक्ष यादव घरमै पुगेकी थिइन् ।

स्वास्थ्यचौकी देवीनगरका प्रमुख सञ्जीव यादवले शिशु अस्पताल वा स्वास्थ्य संस्थाबाट प्राप्त जन्म प्रमाणपत्र वा जन्मदर्ताको प्रमाण पत्रको प्रतिलिपि अधारमा सेवा उपलब्ध गराइरहेको जानकारी दिए । ग्रामीण भेगमा अझै पनि महिला घरमै सुत्केरी हुने गरेको पाइन्छ । यसका कारण शिशु मृत्युदर तथा पोषणसमबन्धी जानकारी अभावमा कुपोषित बच्चा जन्म हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

नवराजपुर गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमका लागि आर्थिक वर्ष २०७९/८० का लगि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्