
नेपाली कांग्रेसकी नेत्री मीना पाण्डेको निधन भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिकी पूर्वसदस्य एवं पूर्व महिला, बालबालिका तथा समाज कल्याणराज्यमन्त्री पाण्डेको मंगलवार काठमाडौंको गौशालास्थित निजी निवासमा निधन भएको हो ।
उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा एक घण्टा राखेर दाहसंस्कार गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
विसं २००८ मा जन्मिकी पाण्डेले विसं २०३५ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा शुरु गरेकी थिइन् ।
तीन पटकसम्म कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य रहेकी स्व पाण्डे विसं २०४८, २०५१ र २०७४ मा प्रतिनिधिसभा सदस्य बनेकी थिइन् भने विसं २०६४ मा संविधानसभा सदस्य बनेकी थिइन् ।
उनी कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको दुई पटक सभापति बनेकी थिइन्। नेपालमा प्रजातन्त्रको स्थापना र पुनःस्थापनाका क्रममा उनले पटक–पटक जेल जीवनसमेत बिताएकी थिइन् । उनको निधनबाट कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको जनाएको छ ।