
कम कर निर्धारण गरी राजस्व चुहावट गरेको सम्बन्धी मुद्दामा कर फर्छ्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत तथा सदस्यहरू उमेशप्रसाद ढकाल र चुडामणि शर्मा दोषी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले राजस्व चुहावट मुद्दामा तीनैजनालाई दोषी ठहर गरेको प्रवक्ता दीपेन्द्रनाथ योगीले लोकान्तरलाई जानकारी दिए । उनीहरू तीनै जनाले कर निर्धारण गर्दा १० अर्ब २ करोड १९ लाख रुपैयाँ राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो ।
प्रतिवादीमध्ये चुडामणि शर्माले गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा भने सफाइ पाएका छन् । उनी तत्कालीन अवस्थामा आन्तरिक राजस्व विभागका डीजी समेत थिए ।
राजस्व चुहावटसम्बन्धी मुद्दाको सजाय निर्धारण भने जेठ २५ गते हुने गरी तोकिएको योगीले जानकारी दिए ।
२०७१ सालमा तत्कालीन अर्थमन्त्री रामशरण महतले गठन गरेको कर फर्छ्योट आयोगले बक्यौता (नउठेको कर)का रूपमा रहेको ३० अर्ब ५२ करोड रुपैयाँ फर्छ्योट गरी ९ अर्ब ५४ करोड रुपैयाँ मात्रै असुल गर्ने निर्णय भएको थियो ।
यति ठूलो परिमाणमा कर छूट दिँदा राज्यलाई ठूलै नोक्सानी परेको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले २०७४ साउन १ गते विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको थियो । करिब ६ वर्षपछि मुद्दाको फैसला आएको हो ।
चुडामणिविरुद्ध ३ करोड ६३ लाख ७२ हजार ९६१ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियारले छुट्टै मुद्दा दायर गरेको थियो । तर यो मुद्दामा भने चुडामणि शर्माले सफाइ पाएका छन् ।