२८ असार २०८३, आइतबार

सरोज खनाल भन्छन् – अहिले बनिरहेका फिल्म धेरै भयो, वर्षमा ५२ वटासम्म ठिकै हो

असार २५, २०८०
काठमाडौं
सरोज खनाल भन्छन् – अहिले बनिरहेका फिल्म धेरै भयो, वर्षमा ५२ वटासम्म ठिकै हो

पुराना चर्चित अभिनेता सरोज खनालले नेपालमा अहिले भइरहेको फिल्म निर्माण संख्यात्मक रुपमा धेरै भएको बताएका छन् । उनले वर्षमा १ सयभन्दा धेरै फिल्म बन्नु दर्शकलाई बढी भएको बताएका हुन् । 

असार र साउनमा फिल्म रिलिज सुस्त देखिएपनि भदौंबाट हरेक हप्ता दुईदेखि तीन वटासम्म फिल्म प्रदर्शनमा आउने गरेका छन् । ‘हरेक हप्ता दुईदेखि तीनवटा फिल्म रिलिज हुन्छन् । हेर्ने दर्शक पहिलेजत्तिकै हुन् । बरु त्यो भन्दा घट्दैछन्’ अभिनेता खनालले लोकान्तरसँग भने, ‘युवाजति विदेश गइरहेका छन् । घरको बुढाबुढी, आमाबुबाले कति फिल्म हेर्छन् र ! केटाकेटीले कति फिल्म हेर्छन् र ! दर्शक घट्दैछन्, फिल्म बढ्दैछन् ।’ 

अहिले नेपालमा बनाउनुपर्ने भन्दा ठ्याक्कै दोब्बर फिल्म बनिरहेको उनको टिप्पणी छ । 

‘हप्तामा एउटा, वर्षमा ५२ वटासम्म फिल्म ठिकै हो’ उनले भने, ‘तर, वर्षमा १ सयभन्दा बढी फिल्म बनिरहेका छन् । त्यो दोब्बर भयो ।’ उनी फिल्म संख्या घटाउन निर्माणमा सहकार्य गर्न निर्माताहरूलाई सुझाव दिन्छन् । त्यसो गर्दा निर्मातालाई अहिलेजस्तो धेरै घाटा पनि नहुने उनको धारणा छ । यसमा फिल्मसम्बन्धी छाता संगठनहरुले भूमिका खेलुन भन्ने उनको धारणा छ । 

‘एकैपटक तीनवटा फिल्म रिलिज हुन्छन् । एउटा चल्दा दुई वटा त डुबेकै पाइन्छ’ उनी भन्छन् ‘दुई जना मिलेर फिल्म बनाउँदा संख्या कम हुन आउँछ । फिल्महरू अहिलेजस्तो जुधाउनु पनि पर्दैन । निर्मातालाई पनि अहिलेजस्तो धेरै घाटा हुँदैन ।’ 

सरोजको पहिलो निर्देशन रहेको फिल्म ‘बगान’ आउँदो शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । यो फिल्ममा उनीसँगै करिश्मा मानन्धर, प्रमिला कार्की, आकाश श्रेष्ठलगायतका कलाकारहरूको अभिनय छ । एकल महिलाको कथामा यो फिल्म निर्माण भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्