३० जेठ २०८३, शनिबार
आलेख

सान्दर्भिकता गुमाउँदै गएको कांग्रेसमा रूपान्तरण र पुस्तान्तरणको बहस

असार २८, २०८०
काठमाडौं
सान्दर्भिकता गुमाउँदै गएको कांग्रेसमा रूपान्तरण र पुस्तान्तरणको बहस

नेपालको अग्रणी लोकतान्त्रिक दल नेपाली कांग्रेसभित्र अहिले रूपान्तरण र पुस्तान्तरणको बहस चलिरहेको छ ।

स्वाभाविक र स्वस्थ ढंगले हुनुपर्ने यो बहस संस्थापन र संस्थापनइतरबीचको द्वन्द्वको रूपमा प्रकट हुन थालेको छ । संस्थापनइतर पक्ष पार्टी सभापति शेरबहादुर देउवालाई नेतृत्वबाट बिदा गर्नुपर्ने र संसदीय दलको नेता फेर्नुपर्छ भन्ने लबिङमा छ । ५ पटक प्रधानमन्त्री भैसकेको व्यक्ति पुनः प्रधानमन्त्री हुन आवश्यक नरहेको भन्ने संस्थापनइतरका नेताहरूको अभिव्यक्तिले उनीहरूको चाहना नेतृत्व परिवर्तन हो भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । 

संस्थापनइतर पक्षकै कतिपय नेताहरू ‘हाम्रो दुस्मनी शेरबहादुर देउवा या अन्य कुनै व्यक्ति विशेष’सँग नभई  विधिविपरीत चलेको पार्टी नेतृत्वसँग हो पनि भनिरहेका छन् । पार्टी पद्धतिअनुसार नियममा अगाडि बढ्दै जाँदा  भोलिको दिनमा व्यक्तिसँग पनि भिड्नुपर्ने हुन सक्छ । 

कांग्रेसमा पुस्तान्तरण र रूपान्तरणको कुरा त्यसै उठेको छैन, २०७४ र २०७९ सालको संसदीय निर्वाचनदेखि अहिलेसम्म पार्टी सञ्चालनको कार्यशैलीले निम्त्याएको हो । विधानअनुसार बोलाउनुपर्ने केन्द्रीय समिति बैठक बोलाउन एक वर्ष लाग्यो, तैपनि अझै शुरू भएको छैन । 

समयमै गठन गर्नुपर्ने विभाग गठन भएका छैनन् भने भ्रातृ संगठनहरूको अवस्था भद्रगोल छ । कांग्रेसको यो दुरावस्थाले गर्दा शुभेच्छुक र आममतदातामा पार्टीप्रति  निराशा र वितृष्णा बढ्दै गएको छ । कांग्रेस लथालिंग बन्दा नयाँ पार्टीहरू जन्मँदै आएका छन् र आफूलाई स्थापित गर्न प्रयत्नशील छन् । कांग्रेसको अवस्थामा व्यापक सुधार नआउने हो र कार्यशैली यस्तै रहने हो भने नयाँ पार्टीहरू भविष्यमा कांग्रेसकै समकक्षी बन्ने सम्भावनालाई नकार्न सकिँदैन । 

कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा सभापतिको परम्परागत कार्यशैली, एकल नेतृत्वको अभ्यास र आफू  अनुकूल निर्णय गर्दै जाने प्रवृत्तिले पार्टी झन् कमजोर बन्दै गइरहेको हो । पार्टीमा झांगिएका यस्तै तमाम विकृतिहरूको जगमा कांग्रेसभित्र पुस्तान्तरण र रूपान्तरणको बहस उठेको हो । 

कांग्रेसमा पुस्तान्तरणको सबाल

पुस्तान्तरण आफैंमा राम्रो शब्द हो र यो शब्द आफैंमा जडताविरुद्ध लक्षित छ । जब आफूभन्दा अघिल्लो पुस्तामा जडता आउँछ, जब क्रिया शक्तिहीन हुन्छ, जब मष्तिष्क तेज हुँदैन, जब दृष्टि मधुरो हुन थाल्छ, जब दाँत फुस्किएर बोली प्रस्ट हुँदैन र हिँड्दा खुट्टा लर्बरिन थाल्छन्, त्यस्तो अवस्थामा अरू सदस्यले पुस्तान्तरणको कुरा उठाउँछन् । यो अत्यन्त जायज छ । अत्यन्त अनिवार्य छ । 

पुस्तान्तरणमा नगई परम्परागत ढंगले चल्दा कांग्रेसको सामर्थ्य ह्रास भएर जान्छ । कठिन कालखण्डमा देशलाई निकास दिएको पार्टी इतिहासमा उपहासको पात्र बन्न सक्छ । लोकतन्त्रको लडाईंमा सधैं अगाडि रहेको,  अन्य दललाई पनि लोकतन्त्रमा अग्रसर बनाएको पार्टी भविष्यमा नयाँ पार्टीका सामु निरीह बन्ने खतरा रहन्छ । 

ओम आचार्य


कांग्रेस लोकतन्त्र, समाजवाद  र राष्ट्रियताजस्ता मूल सिद्धान्तबाट गणतन्त्र स्थापनापछिका दिनमा विमुख बन्दै गइरहेको छ । आफ्ना सिद्धान्तमा विमुख भएकै कारण सरकारको नेतृत्वमा रहँदा होस् या सरकारमा सहभागी भएको बेला मुलुकमा सुशासन दिन सकिरहेको छैन । देशमा भ्रष्टाचार चरम अवस्थामा पुग्दा कांग्रेसले मौनता साँधेको छ । यस्तै कारणले गर्दा आममतदाता कांग्रेससँग निराश भएका छन् ।

कांग्रेसको मुख ताक्न छाडेर विकल्पमा अन्य दल रोज्न थालेका छन् । यसैको नतिजा हो संसद्मा भर्खरै खुलेका दल पनि हैसियतसहित उपस्थित भएका छन् । 

गणतन्त्र स्थापनापछि कांग्रेसको आफ्नो दायित्व सकिएको हो ? कांग्रेसको कर्तव्य सकिएको हो ? अवश्य होइन । यिनै प्रश्नको जवाफ खोज्न कांग्रेसमा रूपान्तरण र पुस्तान्तरणको बहस उठेको हो । पुस्तान्तरणको बहसले वास्तवमै कांग्रेसमा रूपान्तरण गर्छ कि पुस्तान्तरण नगरी विश्राम लिन्छ, कांग्रेस कार्यकर्ताका लागि अग्निपरीक्षाको विषय बनेको छ । 

कांग्रेसमा यस्ता विचार बीच-बीचमा आउने र निष्कर्षमा नपुगी सेलाउने गरेका छन् । जसरी अहिले पुस्तान्तरणको कुरा आएको छ, जसरी व्याख्या र विश्लेषण गरिएको छ, यसले धेरै संशय पैदा गरेको छ । जहाँ संशय हुन्छ, त्यहाँ विश्वास र निष्ठा हुँदैन । जहाँ संशय हुन्छ, त्यहाँ भ्रम हुन्छ र त्यस्तो अवस्थामा पुस्तान्तरणले कार्यसिद्धिमा  सफलता पाउँदैन । 

कांग्रेसभित्र अर्को कुरा अनुशासनहीनता बढ्दै गएको छ । अराजकता चरमचुलीमा पुगेको छ । शीर्ष नेतादेखि कार्यकर्तासम्ममा अराजकता देखिएको र भोगिएको अनुभव पार्टी पंक्तिमा छ । यस्तै कुरामा परिवर्तन ल्याउँदै पार्टीलाई परिमार्जित गर्न पनि पुस्तान्तरण जरुरी छ । तर, पुस्तान्तरणभित्र पनि कसरी अगाडि बढ्ने भन्ने मार्गचित्र बाहिर आउन सकेको छैन । पुस्तान्तरणको अगुवाइ गर्नेले साझा सहमतिको एजेन्डा ल्याउन सकेका छैनन् । 

पाटीभित्र पदीय जिम्मेवारीमा कोही ठूला र कोही साना अवश्य छन् । पुस्तान्तरण अभियानको यो आन्दोलनलाई सफल बनाउने हो भने पुस्तान्तरणभित्र यस किसिमको भेद हटाउनु पहिलो र अनिवार्य शर्त हो ।

रुपान्तरणको अनिवार्यता

हिजोको कांग्रेसले आजको समयानुसर आफूलाई रूपान्तरित गर्नैपर्छ । २००७ सालको राजनीति र आजको अवस्थामा धेरै भिन्नता छन् । प्रजातन्त्र स्थापनाका लागि कांग्रेसको स्थापना भएको थियो । आज त देशमा गणतन्त्र स्थापना भएको पनि दशक नाघिसकेको छ । 

सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक अवस्था पनि २००७ को जस्तो छैन । परन्तु, राणाकालमा स्थापना भएको कांग्रेस पार्टीभित्र राणाकालीन चरित्र, सोच विचार जीवन्त छ । पार्टीभित्र राणाकालीन हैकम आज पनि विद्यमान छ । राणा शाहीको जस्तो हुकुम र तामेलीका अवशेष बाँकी छन् । रूपान्तरण यहीँबाट शुरू हुनुपर्छ । यसका लागि प्रथमतः पुस्तान्तरण आवश्यक छ । पुस्तान्तरण नभएसम्म रुपान्तरणको कल्पना गर्न सकिँदैन । नेतृत्वले जब रुपान्तरणको आवश्यकता देखेर पनि कार्यान्वयन गर्दैन, तर उसको बहिर्गमन अनिवार्य छ ।

पुस्तान्तरसँगै ऊर्जावान, गतिवान  र मतिवान तथा  विचारवान नेतृत्व कांग्रेसले खोजेको छ । कांग्रेस राम्ररी बुझेको र कांग्रेसमा रुझेको नयाँ नेतृत्वले पार्टीलाई गति दिन सक्छ । पुस्तान्तरणबाट त्यस्तो नेतृत्वको आगमन भएमा कांग्रेसलाई समयसापेक्ष अगाडि बढाउन सक्छ । समयनुकूल राजनीतिमा कांग्रेसलाई उभ्याउन सक्छ र आमूल परिवर्तनको एजेन्डा कार्यान्वयन गराउन सक्छ । 

तब मात्र कांग्रेसको साख पुनर्जीवित हुन्छ । कांग्रेसमा जनविश्वास बढ्छ । कार्यकर्ताले कांग्रेसको सदस्य भएकोमा गर्व गर्न सक्छन् । 

salt training

कमेन्ट गर्नुहोस्