
नेपाली भाषा र साहित्यको श्रीवृद्धि गर्ने उद्देश्यले डियरवाक सिफल स्कुलले अन्तर विद्यालयस्तरीय कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । साउन २६ गते स्थलगत कविता लेखन र भाद्र २ गते फाइनल कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।
लोकप्रिय नेपाली एप हाम्रो पात्रोसँगको सहकार्यमा हुने कार्यक्रममा १०० जना बालबालिका सहभागी हुनेछन् । स्थलगत कविता लेखनमा प्रतियोगीहरूले तोकिएका शीर्षकमध्ये गोलाप्रथाद्वारा आफूलाई परेको शीर्षकमा कविता लेख्ने छन् । लिपिबद्ध कविताहरूलाई विद्यार्थी स्वयंले खामबन्दी गर्ने र उक्त कविता भाद्र २ गते दिन वाचन गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा निर्णायकको भूमिकामा कवि रामबाबु सुवेदी, साहित्यकार अनन्त वाग्ले र आयोजक विद्यालयका शिक्षक प्रतिनिधि लक्ष्मी तिवारी रहने छिन् ।
कार्यक्रममा आयोजक विद्यालयका विद्यार्थीहरूले अप्रतियोगी कविका रूपमा आफ्ना कविता वाचन गर्ने आयोजकले जनाएको छ । सहभागिलाई प्रमाणपात्र र वियजीलाई पुरस्कारको व्यवस्था गरिएको छ ।