०५ साउन २०८३, मंगलबार
कांग्रेस संसदीय दलको बैठक

कांग्रेस बैठकमा सुनिल शर्मा पक्राउको प्रसंग : आरजु विरोधमा बोलिन्, देउवा मौन !

साउन २६, २०८०
काठमाडौं
कांग्रेस बैठकमा सुनिल शर्मा पक्राउको प्रसंग : आरजु विरोधमा बोलिन्, देउवा मौन !

आफ्ना प्रत्यक्ष निर्वाचित सांसद डा. सुनिल शर्मा शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेको विषयलाई एजेन्डा नै नबनाएको कांग्रेसले अन्ततः यो विषयलाई गम्भीरतापूर्वक लिने निर्णय गरेको छ ।

बिहीवार कांग्रेस संसदीय दलको बैठक शुरू हुँदा शर्मा पक्राउ परे पनि कांग्रेसले यो विषयमा आपत्ति जनाएको थिएन । के आधारमा पक्राउ गरिएको हो सीआईबीबाट जानकारी लिने सामान्य निर्णय गरेको थियो । काठमाडौं जिल्ला अदालतले शुक्रवार साँझ सांसद शर्मालाई साधारण तारेखमा राखेर अनुसन्धान अगाडि बढाउन आदेश दिइसकेको छ ।

शुक्रवार संसदीय दलको बैठक अघि तय गरिएको एजेन्डामा पनि शर्मा पक्राउको विषयले प्रवेश पाएको थिएन । दलको बैठकको एजेन्डा भन्दै पार्टीले अगाडि सारेको छलफलका विषयमा संसदको अवरोध, संसदमा विचाराधीन विधेयक, बजेट, संसदमा पार्टीको भूमिका, सरकारले गर्नुपर्ने काम, विविध र शोक प्रस्तावलाई मात्रै मुख्य एजेन्डा बनाइएको थियो । तर शर्माको विषयमा सात बुँदामा कहीँ छलफलको विषय उल्लेख थिएन । 

तर दलको बैठकमा बोल्ने १९ मध्ये अधिकांश सांसदले कांग्रेससँग प्रतिशोध साँधेको भन्दै सिलसिलाबद्ध बोलेका हुन् । सभापति शेरबहादुर देउवा पत्नी एवं सांसद आरजु राणाले समेत कांग्रेस नेतालाई एकपछि अर्को प्रतिशोध साँध्दै पक्राउ गरेकोमा आपत्ति जनाएकी थिइन् । अरू सांसदले पनि छानी-छानी कांग्रेस नेता र सांसदलाई पक्राउ गरिएकोप्रति आपत्ति जनाइरहेका थिए ।

तर बाढी पहिरोको क्षतिमा पर्नेलाई राहत, रोकथाममा लाग्नुपर्ने, अवरुद्ध बाटो  खुलाउनुपर्ने, लम्पी स्कीनविरुद्ध कदम चाल्नुपर्ने र डेंगुको विषयमा प्रभावकारी काम गर्न सरकारलाई निर्देश गर्ने निर्णय गर्‍यो । यद्यपि शर्माको विषयमा पहिलो दिनको बैठकबाट निर्णय गर्न देउवाले मौनता देखाए । तर सांसद सञ्जय गौतमले शर्मा पक्राउको विषयमा गम्भीर बन्नुपर्ने बताएपछि बल्ल देउवा हो यो विषय पनि राख्नुपर्छ भन्ने मनस्थितिमा पुगेको एक नेता बताउँछन् ।

‘धेरै सांसदले शर्मा पक्राउको विषयमा निरन्तर आवाज उठाइरहेका थिए । शर्माको विषयमा शुक्रवार केही नबोल्ने जस्तो देखियो । सांसद गौतमले शर्माको कुरा पनि राख्नुपर्छ भन्नुभयो’ ती सांसदले लोकान्तरसँग भने, ‘त्यसपछि बल्ल सुनिल शर्माको विषयमा सांसदले उठाएको कुरालाई गम्भीरवतापूर्वक लिनुपर्छ । अध्ययन गरेर आइतवार थप निर्णय गर्नुपर्छ भन्नेमा पुगिएको हो । अन्तिममा देउवाले ‘हो हो राख्नुपर्छ’ भनेपछि निर्णयमा यो कुरा पनि आयो ।’ 

null

शुक्रवार बैठक नसकिएपछि सभापति देउवाले आफ्नो धारणा राखेका छैनन् । अब अर्को बैठक आइतवार बस्नेछ । 

कसले के भने ?

सांसद शर्माको विषयमा कांग्रेस संसदीय दलका सदस्यले मिश्रित प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभा बैठकपछि नयाँ बानेश्वरमा बसेको दलको बैठकमा केही सांसदले सामान्य घटनामा सांसदलाई पक्राउ गरिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् ।

‘सुनिल शर्मालाई यसरी पक्राउ गरिनु अनुचित हो भन्ने केही साथीहरूको कुरा छ । किनकि शैक्षिक प्रमाणपत्रका विषयमा यस अघि पनि अरूले सफाइ पाएका छन् । यसैले सांसदजस्तो जिम्मेवार मान्छेलाई घरबाट लगेर थुन्नु उचित होइन भन्ने केही सांसदको भनाइ छ’ कांग्रेस सांसद श्याम घिमिरले भने, ‘राजनीतिक रुपमा प्रतिशोध साँध्दा भोलि–भोलि यस्ता घटना दोहरिन्छन् । फरक मापदण्ड हुनुहुँदैन भन्ने एकस्वर छ ।’

संसदीय दलमा घिमिरेबाहेक ज्ञानेन्द्रबहादर कार्की, अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडू, प्रदीप पौडेल, देवीप्रसाद तिमल्सिना, उदय राणासहितका सांसदले शर्मामाथि प्रतिशोध साँधेको आरोप लगाएका हुन् । 

बैठकमा बोल्ने अधिकांश सांसदले कांग्रेस नेतामाथि एकपछि अर्को प्रतिशोध साँध्न खोजेको आरोप समेत लगाएका थिए । 
देउवा पत्नी आरजुले नै शर्मा पक्राउमा आपत्ति नै जनाइन् । 

‘पहिले पनि हाम्रो पार्टीका बालकृष्ण खाँण पक्राउ पर्नुभयो  । अहिले फेरि सुनिल शर्मालाई अन्यायपूर्वक गिरफ्तारी गरिएको छ’ आरजुले भनिन्, ‘ यस्तो त पहिले भारत र पाकिस्तानमा हुन्थ्यो । अर्को पार्टीको हुनेवित्तिकै पक्राउ गरिहाल्ने जेल हालिहाल्ने नेपालमा पनि यस्तै हुन थाल्यो । यस्तो शैली गलत छ ।’

आरजुले आफूमाथि पनि अनेक लाञ्छना लगाउने काम भएको भन्दै जथाभाबी गर्ने विरुद्ध कडा कानून ल्याउनुपर्ने बताइन् । ‘म माथि पनि आक्रमण भएको छ । संसदमा संसदको कोड अफ कन्डक्ट बनाउनुपर्‍यो’ आरजुले भनिन्, ‘नचाहिने कुरा गर्नेलाई कस्न प्रष्ट नीति ल्याएर नियन्त्रण गर्नुपर्छ ।’

सांसद ज्ञानेन्द्र कार्कीले यस अघि शर्माको विषय टुंगिसकेको भन्दै अहिले पक्राउ गरिनु उचित नभएको बताए । ‘शर्माको विषय पहिले नै टुंगिसकेको हो अहिले आएर किन पक्राउ गर्नुपरेको हो ? यो उचित भएन ।’ कार्कीले भने । 

अर्का सांसद प्रदीप पौडेलले पनि भ्रष्टाचारी र अनियमितता गर्नेविरुद्ध जो भए पनि पक्राउ अनुसन्धान गर्नुपर्ने बताए । तर प्रतिशोध साँध्न नहुने बताए । 

‘हामी भ्रष्टाचारीको संरक्षक होइनौं । तर भ्रष्टाचारविरुद्ध कदम चाल्दा तेरो मेरो नभनी इमानदारीपूर्वक गरिनुपर्छ’ पौडेलले भने, ‘पूर्वाग्रही ढंगले अघि बढे राम्रो सन्देश जाँदैन ।’ सुनकाण्ड, बालुवाटार जग्गा प्रकरण, ओम्नीजस्ता काण्डको पनि प्रभावकारी छानबिन गर्नुपर्ने उनले बताए । 

अर्की सांसद सरिता प्रसाईंले पनि शर्मा पक्राउमा आपत्ति जनाइन् । ‘अरूले बदमासी गरेका छैनन् र ? सधैं किन छानी-छानी कांग्रेका नेता मात्रै पक्राउ गरिन्छ ?’ उनले भनिन्, ‘एकपछि अर्को नियतवस पक्राउ गर्दा हामी पनि खरो रुपमा उत्रिन आवश्यक छ ।’

अर्का सांसद अर्जुननरसिंह केसीले पनि शर्मा पक्राउको विषय आपत्तिजनक भएको बताए । एकातिर नेता पक्राउ गरेको जस्तो देखाए पनि सरकार सुशासनमा चुकेको उनको आरोप थियो । 

केसीले बजेटमा पक्षपात भएको पनि बताए । तर उनले पक्षपात भएको बताएलगत्तै सभापति देउवाले ‘बजेट त सबै नुवाकोटतिरै गयो भन्छन् त केसी जी’ भनेर व्यंग्य गरेका थिए । अर्थमन्त्री डा. प्रकाशरण महतले धेरै बजेट नुवाकोटमा लगेको भन्दै आलोचना भएपछि देउवाले पनि व्यंग्य गरेका हुन् ।

सांसद उदयशमशेर राणाले पनि बारम्बार संसद अवरोध हुँदा नागरिक सरोकारका थुप्रै विषय उठाउन नपाइएकाले नीतिमै सुधार गनुपर्ने बताए । 
‘यो पहिलोपटक होइन बारम्बार यस्तो भइरहेको छ । पञ्चायतकालदेखिकै समस्या हो । सुन र मानव तस्करी, हाइज्याक, अरू सामान भित्र्याउने काम मात्रै होइन हाम्रो अन्तर्राष्ट्रिय एयरपोर्टमा धेरै सुरक्षा कमजोरी छन्’ उनले भने, ‘यसैले सय केजी सुनमात्रै होइन यस अघि गायब भएको ३३ किलो सुन कहाँ गयो, यो पनि छानबिन हुनुपर्छ । यी सबैको लागि उच्चस्तरीय समिति बनाऊँ ।’ 

राणाले शर्माविरुद्ध छानबिन हुन सक्ने तर कांग्रेसलाई मात्रै लक्षित गर्न नहुने बताए ।

‘फेक डकुमेन्ट छ भने राज्यले जोसुकैलाई पनि छानबिन गर्न पाउँछ । तर सरकारविरुद्ध बोलेकै भरमा समाउने कुरा उचित होइन’ राणाले भने, ‘कांग्रेसका नेता एकपछि अर्को गर्दै समातिने तर एमाले र माओवादीका नेतालाई केही नहुने यो कसरी हुन्छ ? बादल, कृष्णबहादुर महरा र ओम्नी काण्डमा परेका किन समातिँदैनन् ? हाम्रो नेता पक्राउ गर्ने तर ललितानिवासमा माधव नेपाललाई बयान लिनुपर्नेमा विदेश जान किन दिइयो ?’

एमालेको अवरोध डरलाग्दो

कांग्रेसको बैठकमा एमालेले जारी राखेको संसद बैठकको अवरोध डरलाग्दो रुपमा अघि बढिरहेको टिप्पणी गरेका गरिएको छ । सांसद दीपक खड्काले एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आएको विषय डरलाग्दो रहेको भन्दै निरूत्साहित गर्नुपर्ने बताए । 

‘एमालेले संसदमा गरिरहेको अवरोध डरलाग्दो रुपमा आयो । उसको यो शैली विकृत रुपमा आइरहेको छ । किनकि यो पहिलोपल्ट होइन । अवरोध गर्नु त एमालेको बानी नै भइसक्यो । संसद अवरुद्ध त खुलाउनै पर्छ तर एमालेलाई निरूत्साहित गर्न जरुरी छ ।’ खड्काले भने । 

एमालेको गलत रवैयाविरुद्ध उदय शमशेर राणा, श्याम घिमिरेसहितका नेताले विरोध जनाएका छन् । नागरिक सरोकारका महंगी, मूल्यवृद्धि, बाढी–पहिरो, लम्पी स्किनसहितका विषयमा राज्यको ध्यानाकर्षण गराउन नपाएको समेत उनीहरूले बताए । 

मन्त्रीले फोन नउठाएपछि आपत्ति 

सांसद घिमिरेले अधिकांश मन्त्रीले फोन नउठाएको भन्दै गुनासो गरे । ‘आलोपालोमा सधैं मन्त्री हुने तपाईंहरू नै हो । हामीले हाम्रो कामको लागि फोन गरेका हुँदैनौं जनप्रतिनिधिको सवाल उठाउन कहिलेकाँही फोन गर्छौं तर हाम्रै मन्त्रीले फोन उठाउनु हुन्न’ घिमिरेले भने ।

salt training

कमेन्ट गर्नुहोस्