
‘विदेशमा बसे पनि मन त नेपालमै हुने रहेछ, नेपालबाट आफूलाई टाढा राख्नै नसकिने रहेछ,’ गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा निर्वाचित भएपछि फोन सम्वादको शुरूआत गर्दै माधव दुलालले भने, ‘नेपाली संस्कृति चिनाउन यहाँ कल्चरल हाउस बनाउनेगरी तत्काल काम अगाडि बढाउने सोचेका छौं ।’
एनआरएनए क्यानडाको हालै सम्पन्न अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका दुललाले कार्यभार सम्हालेको एक महिना पुग्दैछ । तर, उनले आफ्नो दुई वर्षे कार्यकाल (सन् २०२३–२०२५)मा देखिने गरी केही काम गरिछाड्ने अठोट लिएका छन् ।

उनले प्राथमिकता दिएर अगाडि बढाउन खोजेको एउटा मुख्य काम हो, क्यानडाका विभिन्न शहरमा नेपाली संस्कृति चिनाउने ‘कल्चरल हाउस’ निर्माण । यो योजनालाई अगाडि सार्न खोज्नुमा उनका दुई खास उद्देश्य छन्– क्यानेडियन नागरिकलाई नेपाली संस्कृति देखाएर नेपाल भ्रमणका लागि प्रेरित गर्ने र नेपाली ‘कम्युनिटी’का बालबालिकालाई आफ्नो संस्कृतिसँग जोडिराख्ने ।
‘यहाँ जन्मिएका हाम्रो कम्युनिटीका बालबच्चा नेपाली संस्कृतिबाट टाढा नहोऊन् र हाम्रो संस्कार के हो भनेर उनीहरूलाई जानकारी दिन सकियोस् भन्ने नै मुख्य उद्देश्य हो,’ लोकान्तरसँगको कुराकानीमा दुलालले थपे, ‘अर्को कुरा भनेको यहाँका रैथाने बासिन्दा तथा अन्य विभिन्न देशबाट आई बसोबास गरेका फरक–फरक सम्प्रदायका मानिसलाई हाम्रो संस्कृति देखाएर नेपाल भ्रमणका लागि प्रेरित गर्ने र नेपालमा पर्यटक आवागमनमा वृद्धि सहयोग पुर्याउने हाम्रो उद्देश्य छ ।’

क्यानडा सरकारले विभिन्न सम्प्रदायको सांस्कृतिक संरक्षण र प्रबर्द्धनका लागि बजेटसमेत उपलब्ध गराउने गरको छ । तर, नेपाली समुदायले अहिलेसम्म त्यो सुविधा पाउन सकेको छैन । अब सरकारी तहबाटै सहयोग प्राप्त गर्ने गरी योजना बनाएर अगाडि बढ्ने उनले बताए ।
मक्रानडाँडादेखि इजरायल हुँदै क्यानडासम्म
मकवानपुरको साविक गढी गाविस– ५ (हाल गढी गाउँपालिका– ३) मक्रानडाँडामा जन्मिएका दुलालले क्यानडा पुगेर त्यहाँको नेपाली समुदायको नेतृत्व गर्ने स्थितिसम्म पुग्दा निकै संघर्ष गरेका छन् ।
२०५४ सालमा एसएलसी उत्तीर्ण गरेपछि हेटौंडा झरेका दुलालले शुरूमा सीएमए अध्ययन गरे । शिक्षाको परम्परागत पाटोलाई पनि जारी राखे । सोसियोलोजीमा मास्टर्स अध्ययन गर्दैगर्दा उनी वैदेशिक रोजगारीको सिलसिलामा इजरायल पुगे । त्यहाँ केही समय बसेपछि ‘वर्क पर्मिट’ पाएर क्यानडा पुगेका हुन् ।
एनआरएनएमा जोडिएको भने उनी इजरायल हुँदै हो । ‘विदेशमा आएर पसिना बगाउने हामीजस्ता नेपाली नागरिकहरूको हकहितमा काम गर्ने कुनै संघ–संस्थाको खोजीमा थिएँ । २००७ मा इजरायल छँदै संगठनमा जोडिएँ । २००८ मा क्यानडा आएपछि यहाँको पनि संस्थापक सदस्यकै रूपमा जोडिने अवसर पाएँ ।’
२०१३ देखि २०१७ सम्म उनी क्यानडाको क्यालेग्रीमा नेपाली समुदायको नेतृत्व गर्ने जिम्मेवारीमा रहेछन् । त्यसपछि २०१७ देखि एनआरएनए क्यानडाको उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हाले ।
क्यानडास्थित ‘एक्पेरियर फाइनान्सियल ग्रुप’को ‘सिनियर एक्जुकेटिभ डाइरेक्टर’ रहेका दुलालले कम्तीमा २ वर्ष एनआरएनए क्यानडाको अध्यक्षका रूपमा नेतृत्व गर्नेछन् ।
क्यानडामा नेपालीहरूको खास संख्या कति छ भन्ने यकिन तथ्यांक छैन, तर एनआरएनएमा भोटिङ राइट्स भएका ‘पेड मेम्बर’ झण्डै ५ हजारको हाराहारीमा छन् ।

‘यहाँ करीब १ लाख जति नेपाली हुनुपर्छ भन्ने हाम्रो अनुमान हो,’ दुलालले भने, ‘यकिन डेटा न यहाँको सरकारसँग छ, न हामीसँग नै । यहाँ (सेन्सस) जनगणनका क्रममा नेपाली हौं भनेर उल्लेख गर्ने कुनै अप्सन छैन । साउथ एसियन भनेर उल्लेख गर्नुपर्ने भएकाले हाम्रो यकिन संख्या कति छ भनेर खुल्न सकेको छैन । अब हामीले नेपाली भनेर जनाउने व्यवस्थाका लागि पनि लबिङ गरिरहेका छौं ।’
अहिले क्यानडामा मार्सी चामल, मुस्ताङको सीमीदेखि गुन्द्रुकसम्म पुग्न थालेका छन् । यस्ता सामग्रीको प्रबद्र्धन गरेर क्यानडामा थप बजार खोज्ने पनि उनको योजना छ ।
नेपालका लागि केही गर्ने हुटहुटी
केही वर्षअघि नेपाल आएको समयमा दुलाल आमाको उपचारका लागि चितवनको भरतपुर पुगेका थिए । जाँदा पहिले ‘चेकअप’ गरेको ‘रिपोर्ट’ लैजान भुलेछन् । यो कुराले उनलाई निकै समस्या भयो ।
‘हेटौंडाबाट भरतपुर पुगेको मान्छे फेरि रिपोर्ट लिन जानु न यत्तिकै फर्किनु भन्ने कुराले निकै अन्योल भएको थियो,’ दुलालले सझिए, ‘यहाँ (क्यानडा)मा त हरेक व्यक्तिको स्वास्थ्यसम्बन्धी सबै विवरण एकीकृत हेल्थ सिस्टममा राखिएको हुन्छ । अस्पताल जाँदा तपाईंले रिपोर्ट लिएर जानै पर्दैन ।’
नेपालबाट क्यानडा फर्किसकेपछि पनि उनलाई यो विषय सधैं खड्किरहन्छ । नेपालमा समेत त्यस्तै सिस्टम भयो भने धेरै सहज हुने थियो भन्ने उनको बुझाइ छ ।
‘एकीकृत हेल्थ सिस्टम बनाएर सबै स्वास्थ्य संस्थालाई यसमा जोड्न सकियो भने धेरै सहज हुन्छ । सरकारसँग पनि आफ्ना नागरिकको स्वास्थ्यसम्बन्धी आधिकारिक तथ्यांक हुने भएकाले पोलिसी मेकिङमा सहयोग पुग्छ,’ उनले भने, ‘यस किसिमको हेल्थ सिस्टम बनाउनका लागि हाम्रो तर्फबाट सकेको पहल गर्ने योजनामा छौं ।’
यस्तो सिस्टम भित्र्याउन केही महंगो हुने भए पनि क्यानडासँग सरकार–सरकार (जीटुजी) लेभलमा कुराकानी हुन सक्यो भने केही सहज हुने उनले सुनाए । एकपटक सिस्टम बनिसकेपछि यो बिमा कम्पनीहरूका लागि पनि निकै उपयोगी हुने र त्यसबाट सरकारले आम्दानी समेत ‘जेनरेट’ गर्न सक्ने हिसाब उनले सुनाए ।
‘सेवाग्राहीको स्वास्थ्यसम्बन्धी आधिकारिक जानकारी नपाउँदा बिमा कम्पनीहरू निकै समस्यामा पर्ने गरेका छन् । क्यानडामा चाहिँ बीमा कम्पनीलाई कुनै व्यक्तिको स्वास्थ्यसम्बन्धी जानकारी चाहियो भने सरकारसँग माग्नुपर्छ । सरकारले त्यही सिस्टमबाट उपलब्ध गराउँछ, केही चार्ज लिएर,’ उनले सुनाए ।
यस्तो सिस्टमका लागि कम्तीमा ‘पोलिसी लेभल’मा कुराकानी चलाउने उनले सोचेका छन् ।
‘खासमा यस्तो कुरा एनआरएनए आईसीसीले हेर्ने हो, तर त्यहाँ विभिन्न देशमा रहेका नेपालीहरू हुनुहुन्छ, देशपिच्छे आ–आफ्नै एजेन्डा छन्, त्यसैले हाम्रै तर्फबाट पनि केही पहलकदमी लिने सोचेका हौं,’ दुलालले भने ।
क्यानडा सपना देख्ने विद्यार्थी र अभिभावकलाई केही सुझाव
कन्सल्टेन्सीहरूको अतिरञ्जित प्रचारमा लोभिएर क्यानडा पुगी दुःख पाएका विद्यार्थीहरूको समस्याको विषयमा पनि उनी चिन्तित छन् । क्यानडा स्थायी बसोवासका लागि निकै उपयुक्त भए पनि विद्यार्थीका रूपमा भने कम्तीमा दुई वर्ष संघर्ष गर्नुपर्ने अवस्था रहेको उनले सुनाए ।
‘कन्सल्टेन्सीहरूले भए/नभएको कुरा गरेर पठाएका हुन्छन् । यहाँ आएपछि नेपाली विद्यार्थीहरूले निकै दुःख पाएको देखेको छु । बाबुआमाले ऋणधन गरेर पठाउनुभएको हुन्छ । यहाँ आएकै दिनदेखिबाट विद्यार्थीहरूलाई तनाब हुन्छ । नेपालबाट गरिने अपेक्षाले पनि तनाब थप्ने गरेको पाउँछु,’ उनले भने, ‘बाबुआमा यहीँ भएका १८/२० वर्षका किशोरकिशोरी आफूले खाएको भाँडा पनि उठाउँदैनन्, तर त्यही उमेरका भाइबहिनी यहाँ आएर निकै तनाबमा परेको स्थिति छ ।’
क्यानडा पठाउनुअघि ‘कम्तीमा २ वर्ष खर्च गर्छु, त्यसपछि मात्र केही अपेक्षा राख्छु’ भनेर सोच्न बाबुआमालाई उनको सुझाव छ । ‘यहाँको सरकारले विद्यार्थीलाई हप्तामा २० घण्टाभन्दा बढी काम गर्न दिँदैन । प्रतिघण्टा १५ डलरका हिसाबले पनि हप्तामा ३०० डलर कमाइ हुन्छ । यही हिसाबले महिनामा करीब हजार/१२ सय डलर आम्दानी हुन्छ । त्यसमा करीब २५ प्रतिशत ट्याक्स तिर्नुपर्छ । बाँकी रहेको पैसामा ७५० डलर त कोठा भाडा नै हुन्छ । अब भन्नुस्, कुनै पनि विद्यार्थीले कसरी पैसा कमाएर नेपाल पठाउन सक्छ ?’ उनले थपे, ‘यहाँ आएदेखि नै उनीहरूको तनाब शुरू हुन्छ । कोठा पाउनै कोही व्यक्ति जमानी बसिदिनुपर्छ । २ महिनाको अग्रिम भुक्तानी गर्नुपर्छ । आउन नपाई घरबाट पैसा पठाउने दबाब हुन्छ, त्यसैले धेरैजना डिप्रेसनमा गएको देखेको छु ।’
क्यानडाको शिक्षा र जीवनशैली निकै राम्रो रहे पनि पैसा कमाउने उद्देश्य हो भने सोचेर मात्र आउन विद्यार्थीहरूलाई उनको सुझाव छ । ‘यहाँको प्रधानमन्त्रीले नै विद्यार्थीलाई शिक्षाका लागि कम्तीमा २ वर्षसम्म लगानी गर्न सक्नेगरी मात्र आउनुस् भन्ने गरेका छन् । तर, कन्सल्टेन्सीहरूले यस्तो कुरा भन्दैनन्, भए/नभएको सपना देखाएर पठाउँछन्, अनि १८/२० वर्षका भाइबहिनीहरू यहाँ आएर जिन्दगीमा कहिल्यै नझेलेको तनाव झेल्न बाध्य छन् ।’