०४ साउन २०८३, सोमबार

‘सिनेमाघर एप’मा रिलिज भयो हरिवंशको फिल्म ‘महापुरुष’

भदौ ८, २०८०
काठमाडौं
‘सिनेमाघर एप’मा रिलिज भयो हरिवंशको फिल्म ‘महापुरुष’

हल रिलिजमा सुपरहिट भएको नेपाली फिल्म ‘महापुरुष’ शुक्रवारबाट नेपालको ओटिटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ । 

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिनेमाघर र फिल्म टिमले यस बारेमा जानकारी गराएको छ । यो फिल्म सिनेमाघर एपमा विज्ञापनरहित हेर्न सशुल्क र विज्ञापनसहित हेर्न निःशुल्क दुवै तरिकाले पाइनेछ । प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्मलाई २ सय रूपैयाँ तिरेर हेर्न सकिनेछ । 

सिनेमाघरका अध्यक्ष खगेन्द्र लामिछानेले ‘महापुरुष’लाई हलमा जस्तै एपमा पनि दर्शकको राम्रो साथ मिल्नेमा विश्वास व्यक्त गरे । उनले सिनेमाघरमा दर्शकले देखाएको चासोबाट उत्साहित रहेको बताए । हालसम्म सात लाख बढी एप डाउनलोड भइसकेको जनाए । लामिछानेले युट्युबमा सित्तैमा फिल्म हेरिरहेका दर्शकलाई एपमा पैसा तिरेर हेर्ने बानी बसाल्न एकदमै गाह्रो भए पनि अब एप्लिकेसनमा पैसा तिरेर फिल्म हेर्ने बानीको विकास भइरहेको बताए । 

अघिल्लो वर्ष सिनेमाघर एपमा फिल्म ‘कबड्डी ४’ रिलिज भएको थियो । दर्शकको अत्यधिक चापका कारण एपको सर्भर १२ घण्टासम्म डाउन भएको थियो । त्यसपछि सर्भरलाई अपग्रेड गरिएको खगेन्द्रले बताए । उनले एपमा ‘कबड्डी ४’ले युट्युबमा भन्दा राम्रो कमाई गरेको समेत दाबी गरे । ओटिटी प्लेटफर्मप्रति दर्शकको आकर्षण बढ्दा फिल्म क्षेत्रलाई नै फाइदा पुग्ने उनको भनाई छ । 

‘महापुरुष’का प्रमुख अभिनेता हरिवंश आचार्यले डिजिटल माध्यममा ठूलो संख्यामा दर्शकहरू रहेको बताए । पहिलो पटक ओटिटी प्लेटफर्ममा आफ्नो फिल्म रिलिज भएकोमा उनले खुसी व्यक्त गरे । अहिले डिजिटल मार्केट फराकिलो भइसकेको र यसले कलाकारलाई जीवित बनाइराखेको बताउँदै उनले सिनेमाघर एप नेपाली फिल्म क्षेत्रका लागि बरदान साबित भएको बताए । नेपाली फिल्मका लागि नयाँ प्लेटफर्म जन्मिनु राम्रो कुरा रहेको उनको भनाई छ । 

अभिनेता तथा निर्माता रबिन्द्र सिंह बानियाँले हलमा हेर्न छुटाएका दर्शकका लागि लक्षित हेरेर फिल्मलाई डिजिटल रिलिज गरिएको बताए । यसअघि फिल्म ‘जात्रै जात्रा’ निःशुल्क रिलिज गर्दा समेत दर्शकले इन्टरनेटको पैसा तिरेकोमा निःशुल्क नभएको प्रतिक्रिया जनाएको सम्झना गर्दै अहिले परिस्थिति बदलिएको जिकिर गरे । उनले दर्शकले सोच्ने तरिका बदलेको बताउँदै सिनेमाघर एपमा ‘महापुरुष’ सफल हुने विश्वास जनाए । 

सिनेमाघर एपका चीफ टेक्निकल अफिसर सन्जिव ढकालले सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेको बताए । अबदेखि सिनेमाघरले एलजि, सामसुङ र एप्पल एयरप्ले पनि थप गरेको उनले बताए । उनले सिनेमाघर एपमा उपलब्ध फिल्महरू नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेविट–क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिने बताए । साथै, गुगल प्लेबाट सिधा पेमेन्ट गर्न सकिने सेवा सुरू भएको जानकारी दिए । सन् २०१६ देखि सञ्चालित नेपालको पहिलो ओटिटी प्लेटफर्म ‘सिनेमाघर एप’का प्रमुख कार्यकारी अधिकृत सागर खरेल हुन् । 

यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमा समेत फिल्महरू हेर्न सकिन्छ । पत्रकार सम्मेलनमा ‘महापुरुष’का अन्य प्रमुख कलाकारहरू राजाराम पौडेल, गौरी मल्ल, नरेश पौडेल, अरुण क्षेत्री, शिखा तामाङ, कोपिला थापा, निर्माता म्याक्स दीपेश खत्री लगायतको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्