०५ साउन २०८३, मंगलबार
शिवशिखर सहकारी ठगी प्रकरण

केदारनाथ शर्माको अस्वाभाविक उदय र 'पतन'– ४ लाखको किराना पसलदेखि १० अर्बको दायित्वसम्म

भदौ १४, २०८०
काठमाडौं
केदारनाथ शर्माको अस्वाभाविक उदय र 'पतन'– ४ लाखको किराना पसलदेखि १० अर्बको दायित्वसम्म

चार लाख रुपैयाँ लगानीमा किराना पसल गर्ने सामान्य व्यापरीले अहिलेको अवस्थामा के गर्न सक्ला ? बढ्दो महंगी, खर्चालु हुँदै गएको दैनिकी, प्रतिस्पर्धात्मक बजारमा टिक्नुपर्ने बाध्यता र कम नाफाका कारण ४ जनाको परिवार पाल्न पनि धौ–धौ पर्ने अवस्था छ । कम मार्जिन र बढ्दो खर्चका कारण परिवार पाल्नेभन्दा थप अपेक्षा सानो व्यापारबाट गर्न सकिँदैन ।

तर, ३० वर्ष अगाडि ४ लाख रुपैयाँबाट किराना पसल शुरू गरेका केदारनाथ शर्माको महत्त्वाकांक्षाले १० अर्बको दायित्व सिर्जना भएको छ । शिवशिखर सहकारीका अध्यक्ष समेत रहेका उनले यो अवधिमा ९ अर्बभन्दा बढीको सम्पत्तिसमेत जोडेका छन् । शिवशिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक शर्माको ९ अर्बको कम्पनी हुँदाहुँदै पनि सहकारीलई प्रयोग गरेर बिगारेको हिसाबका कारण उनी अहिले प्रहरीको हिरासतमा बस्न बाध्य भएका छन् । 

देशको सबैभन्दा ठूलो सहकारी बनाएका उनले बचतकर्ताको पैसा फिर्ता गर्न नसक्दा किराना पसल शुरू गर्नुभन्दा अगाडि अर्थात् तीन दशक अगाडिकै अवस्थाभन्दा पनि तल्लो स्तरमा शर्मा पुगेका छन् ।

शर्माले प्रहरीलाई दिएको बयानमा २०५१ सालमा कोहलपुरबाट ४ लाखमा ढकाल किराना स्टोरबाट व्यवसाय शुरू गरेको बताएका छन् ।

त्यसपछि उनले २०६०/०६१ सालमा ४० लाख रुपैयाँमा ओमशिव स्टोरको नाममा काठमाडौंको बानेश्वरमा पसल सञ्चालन गरेका थिए ।  

शिवशिखर अर्गनाइजेसनबाट व्यापार व्यवसाय गरिरहेका उनको शिवशिखर सहकारीको मात्रै ३५ वटा जिल्लामा १ लाख ६८ हजार ७२५ जना बचतकर्ता छन् । उनीहरूबाट सहकारीले २०८० वैशाख २५ सम्ममा ९ अर्ब ४९ करोड ७२ लाख २० हजार ५६० रुपैयाँ निक्षेप संकलन गरेको छ । 

सहकारी संस्था दर्ता गर्दा स्वीकृत शेयर पुँजी ६ लाख २८ हजार रुपैयाँ थियो । त्यसलाई बढाएर ७९ करोड ५७ लाख ५ हजार ७ सय शेयर पुँजी बनाएको नेपाल प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्यूरो (सीआईबी)को प्रतिवेदनमा उल्लेख छ ।

यो संस्थाको कूल दायित्व १० अर्ब ७७ करोड ७६ लाख ३७ हजार ५८६ रुपैयाँ पुगेको छ । सीआईबीले सरकारी वकिलको कार्यालयमार्फत अदालतमा दर्ता गराएको मुद्दामा सहकारीको दायित्व अधिक भएको र शर्माले त्यसलाई बेवास्ता गरेका कारण वाणिज्य बैंकहरूलाई समेत अप्ठ्यारो पारिदिएको उल्लेख छ ।

उनले काठमाडौंका २१ हजार ३६९ जना बचतकर्ताको २ अर्ब ११ करोड ५२ लाख ६२ हजार ११९ रुपैयाँ उठाएका थिए । यो रकम १ हजार १४५ जनाबाट उठाउँदा सहकारीले ७८ करोड १९ लाख ६३ हजार २१४ रुपैयाँ ठगी गरेकाले त्यसको बिगो दाबीसहित सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

यो सहकारीको बागबजार शाखाबाट ६ हजार ६६१ जना बचतकर्ताको ५० करोड २ लाख ३६ हजार ९२८ रुपैयाँ, न्यूरोड शाखाबाट ५ हजार १३५ जना बचतकर्ताको ४६ करोड ५४ लाख ३६ हजार ८३४ रुपैयाँ उठाएको उक्त प्रतिवेदनमा उल्लेख छ । कीर्तिपुर शाखाका ५ हजार ८७७ बचतकर्ताबाट ९८ करोड ६३ लाख ८५ हजार ३२१ रुपैयाँ र महाराजगञ्ज शाखाका ३ हजार ६९६ वचतकर्ताबाट २० करोड ३२ लाख ३ हजार २३६ रुपैयाँ उठाएको अभियोजन प्रतिवेदनमा देखिन्छ । 

सरकारी वकिलको कार्यालयले सहकारीका सञ्चालक केदारनाथ शर्मा, सुशील बानियाँ, भोजराज पौडेल, तेजबहादुर तामाङलगायत १९ जना प्रतिवादीलाई सरकारी ऐन २०७४ को दफा १२२ को खण्ड घ, ङ, च, छ, ज र ट को कसूर गरेको दाबीसहित मुद्दा दायर गरेको छ । यस्तो कसुर गर्नेलाई ‘अपराधपीडित संरक्षण ऐन २०७५’ को दफा ४१ बमोजिम क्षतिपूर्ति भराउन मागदाबी गरिएको छ । 

प्रतिवेदन अनुसार प्रतिवादीहरू केदानाथ शर्मा, रसना शाक्य, रमेश खाइजु र शिवप्रसाद पौड्यालको खातामा जम्मा १५ लाख ५७ हजार ९०७ रुपैयाँ र एउटा स्कूटर मात्रै देखिएको छ ।

अभियोजन प्रतिवेदनमा सहकारीका सञ्चालक केदारनाथ शर्मा र उनी श्रीमती गीता शर्माले देशभरमा भएका शाखाबाट भक्तपुरमा रहेको केन्द्रीय कार्यालयमा रहेको खातामा जम्मा गर्न लगाएर व्यक्तिगत कम्पनीमा लगानी गरेको दाबी गरिएको छ । त्यतिमात्र नभएर उनका नातेदाहरूले सञ्चालन गरेको कम्पनीहरूमासमेत लगानी रहेको देखिएको छ ।

बैंकहरूलाई एउटै लगानीकर्ताबाट ३ अर्ब उठाउने चिन्ता

यो सहकारीका सञ्चालक शर्माले विभिन्न १० वटा बैंकको ३ अर्ब १५ करोड ९० लाख ७८ हजार ३४१ रुपैयाँ ऋण चलाएका छन् । शिवशिखर सहकारीका सञ्चालकले  सवारी साधनदेखि जग्गासम्म धितो राखेर बैंकबाट ऋण लिएका छन् ।

हिमालयन बैंकले उनीहरूको २ वटा कम्पनी त्रिदेवी फ्लोर एन्ड आयल इन्डस्ट्रिज र नटराज एग्रोमा २२ करोड ४९ लाख ९४ हजार ६५० रुपैयाँ ऋण लगानी गरेको छ । बेस्ट फाइनान्स, एनआईसी एसिया बैंक, एभरेष्ट बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकबाट लिएको ३ अर्बभन्दा बढी ऋण अझै चुक्ता गर्न बाँकी छ ।

सहकारीले गरेको एउटा ठगीको उदाहरण मंगलबजार शाखालाई लिन सकिन्छ । यो शाखाले ६३ जना बचतकर्तालाई ५९ लाख ३९ हजार ९ सय रुपैयाँ बराबरको शेयर दिएर रकम संकलन गरेको छ । अभियोजन प्रतिवेदनमा यो शाखाबाट सहकारीले ठगी गरेको उल्लेख छ । यस शाखाबाट १६ हजार ५ सयदेखि साढे ५ लाखसम्मको शेयर दिएको भन्दै बचतकर्तालाई ठगी गरेको देखिएको छ ।

काठमाडौंका ४ वटा शाखा महाराजगञ्ज, बागबजार, न्यूरोड र कीर्तिपुरबाट पनि २ अर्ब ८० करोड ६९ हजार ८१४ रुपैयाँ संकलन गरेर केन्द्रीय कार्यलयमा जम्मा गराएको देखिएको छ ।

आफैंलाई ८६ करोड ऋण लगानी

शिवशिखर सहकारीका सञ्चालकले ठग्नका लागि यतिसम्म गरेका छन्, कि शून्य प्रतिशत ब्याजदर ऋण प्रवाह गरेको र त्यो रकम आफैंले लिएका छन् । 

सहकारीका सञ्चालक तथा अध्यक्ष केदारनाथ शर्मा र सचिव तेजबहादुर तामाङले शून्य प्रतिशत ब्याजदरमा २ करोड ३६ लाख र ७७ करोड  ८७ लाख ३० हजार ऋण लिएको प्रतिवेदनबाट देखिएको छ ।

शर्माकी आफ्नै श्रीमतीले १८ प्रतिशत ब्याजदरमा ३ करोड ९० लाख ६४ हजार १९०, लेखा सुपरिक्षण समितिको पदाधिकारीले १९ लाख ५५ हजार, लेखा समितिको सदस्यले ९ करोड रुपैयाँ लिएका छन् । 

उनकै सहकारीको ऋण शाखामा कार्यारत कर्मचारीले १ करोड ४८ लाख ८५ हजार रुपैयाँ ऋण लिएको सरकारी वकिलको कार्यालयले दर्ता गराएको मुद्दामा उल्लेख छ । देशभरमा केदारनाथको नाममा मात्रै ८८ रोपनी र उनकी श्रीमतीको नामामा ६७.६३ रोपनी जग्गा छ ।

हिसाब बिगार्ने सहकारी तनावमा वाणिज्य बैंकहरू

पछिल्लो समय एकपछि अर्को सहकारी समस्या पर्दा त्यसको असर वाणिज्य बैंकहरूलाई समेत पर्न थालेको छ । सहकारीमा बचत जम्मा गरेका आम सर्वसाधारणको घरबारै बिगार्ने काम गरेका ती सहकारीले वाणिज्य बैंकसँगको कारोबार पनि बिगारेका छन् । सहरकारी सञ्चालकले सहकारीको पैसा दुरुपयोग गरेर लगानी गरेको व्यापार व्यवसाय र त्यसमा भएको लगानीमा जोखिम बढेको छ । हिसाब बिगारेर समस्यामा परेका सहकारी सञ्चालकले गरेको लगानीका व्यवसायबाट पनि बैंकहरूलाई ऋण तिर्न नसक्ने अवस्थामा पुगे, जसका कारण वाणिज्य बैंकहरूको अर्बौं रकम जोखिममा परेको छ ।

अर्थतन्त्रको एउटा खम्बा मानिएको सहकारीमा समस्या आउँदा बैंकहरूमा समेत त्यसको असर देखिन थाल्नु स्वभाविक मानिए पनि समग्रमा अर्थतन्त्र नै बिगार्ने काम सहकारीबाटै भइरहेको चिन्ता सम्बन्धित वाणिज्य बैंकहरूको छ । सहकारीकै कारण केही बैंकको ऋण नउठ्ने र खराब कर्जा बढ्ने अवस्था देखिएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले बताए । 

उनले भने ‘सहकारी क्षेत्रमा समस्या आएकै कारण बैंकहरूमा पनि तरलत अभाव भएको हो । यसकै असरका कारण सबैजसो वाणिज्य बैंकको खराब कर्जा बढेको छ ।’

ढुंगानाले भने, ‘विभिन्न बैंकबाट ऋण लिएका र कारोवार गरेका कारण समग्र बैंकिङ प्रणालीमै खराब कर्जा बढाउने अवस्था देखिएको छ ।’

एउटा बैंकमा थोरै रकम भएपनि समग्रमा समस्यामा परेका सहकारीसँगको कारोवारको रकम भने ठूलो भएको बुझाइ पनि ढुंगानाको छ ।

नेपाल बैंकका सीईओ कृष्णबहादुर अधिकारी पनि ज–जसले लगानी गरेका छन्, त्यसलाई पक्कै सहकारीकै कारण समस्या भइरहेको बताउँछन् ।

अधिकारी भन्छन्, ‘जुन बैंकको सहकारीसँग कारोबार छ र कारोबार बिग्रएका छन्, त्यसको कारण एउटाले गर्दा समग्र सिस्टममै असर गरिहेको छ ।’

बैंकहरूले प्रत्यक्षरूपमा लघुवित्तमा लगानी गरेका छन् भने सहकारीमा अप्रत्यक्ष रूपमा लगानी भएको छ । सहकारीले अगाडि सारेका योजनामा लगानी भएको छ र सो सहकारी समस्यामा पर्दा बैंकहरूलाई चिन्ता बढेको अधिकारीले दिए । 

गत वर्षको तुलनामा चालू आवमा बैंकहरूको खराब कर्जा अझै बढ्ने चिन्ता नेपाल बैंकर्स संघले नै गरेको छ । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जामा संशोधनपछि समस्यामा परेका व्यवासायी र तिनका अरू लगानी पनि सुक्ष्म निगरानीमा पर्ने भएका छन् । एउटै ऋणीको एउटा ऋण असल र अर्को खराब कर्जा हुन सक्छ । खराब कर्जाले असललाई पनि असर गर्न सक्ने हुँदा अब बैंकहरूको खराब कर्जा बढ्ने चिन्ता नेपाल बैंकर्स संघको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने, ‘राष्ट्र बैंकले आइतवार जारी गरेको पहिलो निर्देशन बैंकिङ क्षेत्रको लागि ठीकै आयो । तर, एकैदिन आएको अर्को निर्देशनले भने ऋण तिर्न नसकेका र समस्यामा परेका व्यवसायीलाई थप मार पर्ने र जसका कारण खराब कर्जा बढ्ने जोखिम निम्त्याउने देखियो ।’ 

नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरूको खराब कर्जा गत असार मसान्तसम्ममा ३.०२ प्रतिशत रहेको छ । यस्तो कर्जा वाणिज्य बैंकहरूको मात्रै २.९८ प्रतिशत रहेको तथ्यांकले देखाउँछ । यो तथ्यांकअनुसार वाणिज्य बैंकहरूले गत असार मसान्तसम्ममा लगानी गरेको ४३ खर्ब १२ अर्ब रुपैयाँ कर्जामध्ये १ खर्ब २८ अर्ब रुपैयाँ खराब कर्जा हुन पुगेको छ । 

एकातिर अर्थतन्त्रमा भएको मन्दीको असर र अर्कोतर्फ सकारीले नित्याएको समस्या थप हुँदा बैंकहरूलई पनि स्वाभाविक रूपमा तनाव बनाएको केसीले बताए । 

‘सहकारीसँग सिधै लगानी नभए पनि त्यसका अरू बिजनेसमा गएको लगानी हाम्रो बैंकमा अहिलेसम्म डिफल्ट देखिएको छैन’, सानिमा बैंकका सीईओ निश्चल पाण्डेले भने । समग्रमा बैंकिङ प्रणालीको कर्जामा दबाब परेको र केही बैंकको लगानी जोखिममा परेको विषय भने गम्भीर हुनसक्ने पनि उनको भनाइ छ ।

सतहमा देखिएका ठूला सहकारी र सतहतमा नदेखिएका सहकारीसहितमा बैंकले गरेको लगानीको हिसाब मिलाएर आफ्नो व्यवसायलाई लयमा ल्याउन बैंकहरूलाई दबाब बढेको पनि सम्बन्धित बैंकहरूको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्