०८ साउन २०८३, शुक्रबार

'एक भगवत् गीता’को नाम विवादबारे चलचित्र विकास बोर्डमा छलफल

भदौ १९, २०८०
काठमाडौं
'एक भगवत् गीता’को नाम विवादबारे चलचित्र विकास बोर्डमा छलफल

चलचित्र विकास बोर्डमा केही आध्यात्मिक संस्थाहरूले नेपाली चलचित्र ‘एक भगवत गीता’को नामबारे उठाएका प्रश्न र विमतिको विषयमा छलफल भएको छ । 

भदाै २९ गते रिलिज मिति तोकिएको चलचित्रको नाम परिवर्तन गर्नुपर्ने माग आध्यात्मिक विकास समाज, हिन्दू जागरण नेपाल र विश्व हिन्दू युवा संघ अन्तराष्ट्रिय समितिले गरेका थिए । श्रीमद् भगवत् गीता कुनै कथा नभई सन्देशहरूको ग्रन्थ भएको कारण कथाको रूपमा गलत तरिकाले प्रस्तुत गर्न लागिएको आरोप ती संस्थाहरूले लगाएका थिए । 

छलफलमा निर्माण पक्षले भगवत गीताको नाममा कुनै गलत सन्देश दिन नलागेको प्रष्ट पारेको छ । गीताले दिएको कर्मयोगको सन्देशलाई आम मानिसमाझ परिचित गराउनु चलचित्रको उद्देश्य रहेको निर्माण पक्षले जनाएको छ । 

आध्यात्मिक गुरूहरूले स्क्रिप्ट र चलचित्र हेरेपछि नामसम्बन्धी विवाद टुंग्याउने सहमति भएको छ ।
बोर्ड अध्यक्ष भुवन केसीले चलचित्रको निर्माता परिवार नै अध्यात्ममा विश्वास राख्ने भएकोले चलचित्रले धर्मग्रन्थलाई गलत व्याख्या नगर्ने विश्वास लिएको बताए । ‘हुनत मैले यो चलचित्र हेरेको छैन । तर पनि उहाँहरूको परिवारका सबै सदस्य नै आध्यात्मिक रहेको कारण श्रीमद् भगवत् गीताको सन्देशविपरीत चलचित्र बनाउनुभएको छ भन्ने लागेको छैन,' उनले भने, 'यद्यपि चलचित्र हेरेर मात्र नाम परिवर्तनको विषयमा निर्णय लिनु उत्तम हुनसक्छ ।’ केसीले समस्या समाधानको लागि बोर्डले सदैव सबै पक्षलाई स्वागत गर्ने जिकिर गरे ।

बोर्डका प्रवक्ता केएल बुढाथोकीले एक भगवत् गीताबारेको विवाद र विमति सकारात्मक निष्कर्षमा पुर्‍याउने सहमति भएको बताए । चलचित्रले कुनै पनि जात, धर्म र समुदायमाथि आघात पुर्‍याउने, विभेद सिर्जना गर्ने, द्वैष र घृणा फैलाउने वा कुनै किसिमको मानहानी हुने आशय व्यक्त गर्नु हुँदैन भन्ने कुरामा बोर्ड स्पष्ट र दृढ रहेको बुढाथोकीले बताए । बोर्ड सिर्जनात्मक स्वतन्त्रताको पक्षधर रहेको उनको जिकिर छ ।

बोर्डका अध्यक्ष भुवन केसीको उपस्थितिमा भएको छलफलमा चलचित्रको तर्फबाट निर्माता सुनिलकुमार थापा, निर्देशक झरना थापा र नायिका सुहाना थापा सहभागी थिए । यस्तै हिन्दू जागरण नेपालका रामकृष्ण उपाध्याय, हरिप्रसाद पाठक, शिव सेना नेपालकी सिर्जना वाग्ले, मनोज सापकोटा, विश्व हिन्दू युवा संघ अन्तराष्ट्रिय समितिका सागर थापालगायत आध्यात्मिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

छलफलमा बोर्डका सदस्य सचिव विशाल सापकोटा, सदस्यहरू राजु केसी र रविचन्द्र अधिकारीसहित चलचित्र वितरकद्वय गोपाल कायस्थ र गोविन्द शाही, चलचित्र निर्माता उदय सुब्बा लगायतको सहभागिता थियो ।

salt training

कमेन्ट गर्नुहोस्