
बाल्यकालदेखि गायनमा समेत सौखिन अभिनेत्री गौरी मल्लले वर्षौं पहिले दर्जन बढी गीत गाएकी थिइन् ।
उनले चलचित्र ‘भाई’मा नायिका मेलिना मानन्धरको लागि पाश्र्व गायन समेत गरेकी थिइन् । यद्यपि उनले आफ्नो गायन करियर भन्दा अभिनय करियरलाई नै अगाडि बढाएकी थिइन् । उनै अभिनेत्री मल्लले गायिकाको परिचयलाई पुनः जीवित पार्दै तीज विशेष गीत सार्वजनिक गरेकी छन् ।
राजधानीमा एक कार्यक्रमकाबीच उनले ‘धिन ताका नाका धिन’ बोलको गीतको अडियो भिडियो सार्वजनिक गरेकी हुन् । सार्वजनिक तीज गीतमा शब्द, सङ्गीत र स्वर दिँदै उनी गायनमा फर्किएकी छन् । उनले आफ्नै नामबाट युट्युब च्यानल समेत शुभारम्भ गरेकी छन् । यस गीतको भिडियो उनकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
यस गीतको भिडियोमा गौरी आफैले अभिनय गरेकी छन् । गौरीसँगै अभिनेत्री मिथिला शर्माले पनि यसमा अभिनय गरेकी छन् । साथमा समाईरा श्रेष्ठ, तेन्जु योन्जन, निलम पौडेल, सिम्रन शेरचन लगायतको अभिनय छ । भिडियोलाई सन्तोष राजबाहकले कोरियोग्राफी तथा निर्देशन गरेका छन् ।
अञ्जु पोखरेल दाहाल म्युजिक भिडियोकी निर्माता हुन् भने सुवास दाहालले निर्माण संयोजन गरेका छन् । उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ ।

गीत सार्वजनिक कार्यक्रममा मल्ल उत्साहित र भावुक बनेकी थिइन् । उनले आफ्नी आमालाई सो कार्यक्रममा निम्त्याएकी थिइन् । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, वरिष्ठ गीतकार करूण थापा, वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठ लगायत अतिथिको रुपमा उपस्थित थिए ।
कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठले नृत्य, गायन र अभिनय तीन वटै कलामा पोख्त रहेकाले गौरीलाई नाट्यश्वरीकी छोरी रहेको बताउँदै शुभकामना दिए ।
अभिनेत्री वसुन्धरा भुसालले आफ्नो परिस्थितिले साथ नदिँदा यस गीतमा अभिनय गर्न नपाएको बताइन् । अभिनेत्री मिथिला शर्माले सबै काम छोडेर यस गीतमा अभिनयको लागि तत्कालै राजी भएको बताइन् ।
मल्लले आफ्नो गायन यात्राबारे स्मरण गर्दै गायिका रचना रिमालले समय दिन नसकेपछि रेकर्डिष्ट डिजे एलएक्सले प्रेरणा दिई आफैंलाई गाउन लगाएको बताइन् ।
उनले आफूमा यसरी गाउन सक्छु भन्ने हिम्मत नरहेको तर सफल भएको बताइन् । उनले अब गायनमा निरन्तरता दिने बताइन् ।