गायिका विष्णु माझीको यस वर्षको तीज गीत सार्वजनिक भएको छ ।
तीज आउन अब २ सातामात्र बाँकी रहँदा विष्णुको गीत ‘पुतलीको भट्टी –१९’ सार्वजनिक भएको हो ।
बुधवार बेलुका सार्वजनिक ‘बलमा’ गीतमा विगतमा जस्तै विष्णुको एकल स्वर छ ।
गीतमा उनका श्रीमान सुन्दरमणि अधिकारीको शब्द एवं संगीत छ । आशिष अविरलले गीतलाई एरेन्ज तथा मिक्सिङ गरेका हुन् ।
भिडियोमा यसपटक बिनु सुवेदी फिचर्ड छिन् । साथमा, सुन्दरमणि अधिकारी पनि प्रस्तुत छन् ।
मौसम हिमालीले भिडियोको कोरियोग्राफी गरेका छन् ।
सुन्दरमणिकै निर्देशन रहेको भिडियोमा महिला हिंसाविरुद्धको सन्देश दिने प्रयास गरिएको छ ।
शम्भु चालिसेको छायांकन, निशान घिमिरेको सम्पादन रहेको गीत सुन्दरमणि र विष्णुकै सपना म्युजिक इण्डष्ट्रीज नामक युट्युबबाट सार्वजनिक गरिएको हो ।
विष्णुले प्रत्येक वर्ष तीज गीत सार्वजनिक गर्दै आएकी छिन् । उनी तीज गीतमा सबैभन्दा धेरै भाग ल्याउने गायिका समेत हुन् ।
पछिल्लो समय बाहिरी गीतमा स्वर नदिएका कारण पनि विष्णुको तीज गीतको थप प्रतीक्षा थियो ।
गीत सार्वजनिक भएसँगै प्रतीक्षामा रहेका स्रोता–दर्शकहरु खुशी भएका छन् । यद्यपि, अपेक्षा गरेअनुसारको गीत नआएको प्रतिक्रिया स्रोता–दर्शकहरुले दिइरहेका छन् ।