
नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान अगाडि बढ्ने सम्भावना कम बन्दै गएको छ ।
पहिलो चरणको अनुसन्धानपछि दायर मुद्दामा जिल्ला अदालत काठमाडौंले १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरे पनि दोस्रो चरणको अनुसन्धान अगाडि बढ्ने सम्भावना कम भएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले साउन २९ गते १८ जना पीडितबाट ३ वटा जाहेरी आएको बताएको थियो ।
सानु भण्डारी र केशव दुलालको संयुक्त टोलीले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै लमजुङ, सुनसरी, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट १ करोड ८५ लाख ९२ हजार ठगी गरेको भनेर जाहेरी परेको भन्दै अपराध अनुसन्धान कार्यालयले प्रेस विज्ञप्ति समेत जारी गरेको थियो ।
अपराध अनुसन्धान कार्यालयले थप अनुसन्धानका लागि भन्दै जाहेरीलाई काठमाडौं प्रहरी परिसर टेकु पठाएको थियो । करीब महिना दिनअगाडि काठमाडौं प्रहरीमा पुगेको यो जाहेरीमाथि थप अनुसन्धान नभएको स्रोतले लोकान्तरलाई बतायो ।
‘पुरानै व्यक्तिका नाममा जाहेरी परेकाले थप अनुसन्धान हुने देखिँदैन,’ स्रोतले भन्यो ।
पहिला अनुसन्धान भएर अदालत पुगेका व्यक्तिहरूमाथि त्यही विषयमा थप अनुसन्धान हुने अवस्था नरहेको तर्क काठमाडौं प्रहरी परिसरका एक अधिकारीले गरे । यही तर्क अगाडि सारेर दोस्रो चरणको अनुसन्धान रोकिने सम्भावना बढेको हो ।
प्रहरीले बेचन झालगायत केही आरोपीलाई पहिलो चरणमा प्रतिवादी नबनाएर दोस्रो चरणको अनुसन्धानका बाटो खुला राखिएको बताएको थियो ।
तर, झाको कनेक्सन उच्च तहका नेतासँग देखिएपछि उनीमाथि अनुसन्धान अगाडि नबढेको स्रोतको दाबी छ ।
नेपाली कांग्रेस र नेकपा एमालेका उच्च तहका नेतासँग उनको उठबस पाइएको स्रोतले बतायो । बेचन झालगायत ३ जना कहाँ छन् भन्ने विषयमा प्रहरी अनभिज्ञ भएजसरी बसेको छ ।
प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रमुख एसएसपी दानबहादुर कार्कीले १८ जनाको ३ वटा जाहेरी परेपछि सुक्ष्मरूपमा अनुसन्धान भइरहेको बताएका थिए ।
‘कसैलाई पक्राउ गरिसकेपछि प्रहरीसँग ६० दिनको समय हुन्छ, त्यसैले सूक्ष्मरूपमा अनुसन्धान गरेर पक्राउ गर्ने तयारीमा छौं,’ कार्कीले लोकान्तरसँग भनेका थिए ।
यसबीचमा महानगरीय प्रहरी कार्यालय (मेट्रो), अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसर तीनैतिर नेतृत्व फेरियो । अनुसन्धानमा रहेका अधिकारीहरूको सरुवा गरेको भनेर आलोचना समेत भएको थियो ।
अहिले मेट्रोमा एआईजी दीपक थापा, काठमाडौं प्रहरी परिसरमा एसएसपी भूपेन्द्र खत्री र अपराध अनुसन्धान कार्यालयमा एसएसपी सोमेन्द्रसिंह राठोर नेतृत्वमा छन् ।
बालकृष्ण खाँणलाई भेट्न कारागारमा कांग्रेस नेताको लर्को
यही प्रकरणमा असार १ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले बालकृष्ण खाँणलगायतका १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । बाँकी २ जना धरौटीमा छुटेका थिए ।
अहिले केन्द्रीय कारागार सुन्धारामा रहेका खाँणलाई भेट्न दैनिकजसो कांग्रेस नेता कार्यकर्ताको लर्को लाग्ने गरेको छ ।
मन्त्रीहरू रमेश रिजाल र एनपी साउद, कांग्रेसका पूर्व महामन्त्रीद्वय कृष्ण सिटौला र शशांक कोइराला, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे लगायतले कारागारमा पुगेर खाँणलाई भेटिसकेका छन् ।
कांग्रेसका सांसद तथा नेता कार्यकर्ता खाँणलाई भेट्न आइपुग्ने गरेको केन्द्रीय कारागार स्रोतले लोकान्तरलाई जानकारी दियो ।
जिल्ला अदालतको आदेशविरुद्ध खाँणलगायत प्रतिवादीहरूले दिएको पुनरावेदन विचाराधीन अवस्थामा छ ।
ठगिएको जाहेरी दिएर फरार गजेन्द्र कहाँ छन् ?
नक्कली शरणार्थी प्रकरणमा ठगिएको भन्दै जाहेरी दिएका दाङको तुलसीपुर उपमहानरपालिका– ५ गजेन्द्र बुढाथोकी आफैं फरार छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय दाङले २०७९ फागुन ३० गते १ करोड ४९ लाख रुपैयाँ ठगी गरेको भन्दै गजेन्द्रविरुद्ध जिल्ला अदालत दाङमा मुद्दा अभियोजन गरेको थियो ।
जिल्ला अदालत दाङले बुढाथोकीविरुद्ध २०७८ फागुन १९ गते पक्राउ पुर्जी जारी गरेको थियो । उनी त्यसयता फरार छन् ।
एकातिर बुढाथोकी सहितका व्यक्तिहरूको जाहेरीका आधारमा मुद्दा अगाडि बढेको छ भने अर्कातिर उनी आफैं फरार अभियुक्त छन् ।
उनलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । ‘गजेन्द्रको विषयमा सामान्य अनुसन्धान भएको छ, तर सिरियसली अगाडि बढेको छैन,’ स्रोतले लोकान्तरसँग भन्यो ।
यस प्रकरणमा प्रकरणमा पूर्व–उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई तथा केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, सन्दीप रायमाझी, नरेन्द्र केसी, विक्रम भन्ने गोविन्दकुमार चौधरी, रामशरण केसी, पूर्व सासंद आङटावा शेर्पा, शमशेर मियाँ र भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललगायत पुर्पक्षका लागि थुनामा छन् ।
खाँण, रायमाझीलगायत १४ जना केन्द्रीय कारागारमा छन् भने सानु भण्डारी र केशव दुलाललाई नख्खु कारागारमा राखिएको छ ।
पक्राउ परेका र फरार अभियुक्तहरूविरुद्ध २८ करोड ८१ लाख ७४ हजार ५ सय रुपैयाँ बिगो दाबी गरिएको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।