०५ साउन २०८३, मंगलबार

देश दौडाहाको तयारीमा ‘परदेशी २’ टिम, फिल्मको कथामा आधारित नाटक देखाइने

असोज १, २०८०
काठमाडौं
देश दौडाहाको तयारीमा ‘परदेशी २’ टिम, फिल्मको कथामा आधारित नाटक देखाइने

असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ यसै साताबाट देश दौडाहामा निस्किने भएको छ । 

केही दिन काठमाडौंका विभिन्न कलेजहरूमा पुगेर नाटक प्रस्तुत गरेको चलचित्रको यही बिहीवार (असोज ४)बाट देश दौडाहा सुरु हुन लागेको हो । 

‘परदेशी २’कै थिममा आधारित रहेर तयार पारिएको नाटक लिएर काठमाडौं बाहिरका मुख्य शहरमा पुग्न लागिएको निर्माण टिमले जानकारी दिएको छ । नाटकमा चलचित्र बाहिरका प्रोफेसनल कलाकारहरूले प्रस्तुति दिनेछन् । 

त्यस्तै, देश दौडाहामा चलचित्रका मुख्य कलाकारहरू अभिनेता प्रकाश सपूत, अभिनेत्रीद्वय केकी अधिकारी र वर्षा शिवाकोटीलगायतको सहभागीता रहनेछ । 

चलचित्रको टिमले असोज ४ र ५ गते चितवनमा कार्यक्रम गर्ने तय भएको छ । त्यसपछि ७ र ८ गते नेपालगञ्ज पुगेर कार्यक्रम गर्नेछ ।

९ र १० गते बुटवलमा कार्यक्रम हुनेछ भने ११ र १२ गते चलचित्रको टिम पोखरा पुगेर कार्यक्रम गर्नेछ । देशका यी मुख्य शहरका स्कूल/कलेजमा हुने कार्यक्रममा चलचित्रका मुख्य कलाकारहरूले विभिन्न प्रस्तुतिका साथ प्रचारप्रसार गर्दै चलचित्र हेर्न दर्शकलाई आग्रह गर्नेछन् । 

चलचित्र बाहिरका कलाकारहरूले ‘विदाई’ शीर्षकको साङ्गीतिक पक्षलाई समेत समेटिएको नाटक कलेज ड्रेसमै प्रस्तुत गर्नेछन् । ​

रमेश बिजीको कथा लेखन रहेको ‘परदेशी २’ विदेशमा पढ्न जाने विद्यार्थीहरूको कथामा निर्माण भएको हो । विद्यार्थीको कथामा बनेको चलचित्र भएका कारण सोही विषयमा नाटक तयार पारेर प्रस्तुत गरिएको निर्देशक नारायण रायमाझीले बताएका छन् । यसले चलचित्रको प्रचारमा ठूलो भूमिका खेल्ने विश्वास निर्माण टिमको ।

‘परदेशी २’ मा प्रकाश, केकी र वर्षाका साथमा नीर शाह, रमा थपलिया, प्रशान्त तामाङ्ग, दीलिप रायमाझी, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । लोकदोहोरी गायनमा स्थापित प्रकाशको यो पहिलो चलचित्र हो । 

राजेश बंशल (अग्रवाल) र नारायण रायमाझीले संयुक्त रुपमा चलचित्रको निर्माण गरेका हुन् । यसको अघिल्लो श्रृङ्खला बक्स अफिसमा सुपरहिट भएको थियो । पहिलो चरणको देश दौडाहा सकिएपछि चलचित्रको दोस्रो चरणको देश दौडाहा सुरु हुनेछ । चलचित्रप्रति दर्शकलाई आकर्षित गर्न ‘परदेशी २’ले अपनाएको प्रचार शैलीलाई प्रशंसा गरिएको छ । 

मानकृष्ण महर्जनको छायांकन, बि.बि अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको चलचित्रमा अष्ट महर्जनको द्धन्द्ध, श्यामश्वेत रसाईलीको साउण्ड डिजाइन र मिक्सिङ, दीर्घ खड्काको सम्पादन छ ।

कमेन्ट गर्नुहोस्