
गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुल आचार्य बेल्जियम आइपुगेका छन्। काठमाडौंमा यही असोज ३० देखि कात्तिक ३ गतेसम्म हुन गइरहेको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आचार्य बेल्जियम आइपुगेका हुन्।
बेल्जियमको ब्रसेल्स विमानस्थलमा आचार्यको टीमलाई एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा, उपाध्यक्ष पदमा उमेदवार तथा पूर्व अघ्यक्ष गंगाधर गौतम, एनआरएनए युवा अभियन्ता काशी दनै लगायतले स्वागत गरेका थिए।
त्यस लगत्तै लुभेन शहरमा एनआरएनए सदस्य तथा नेपालीहरूको आयोजनामा एक स्वागत तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । एनआरएनए बेल्जियमले आयोजना गरेको उक्त कार्यक्रममा अन्य देशबाट आएका विभिन्न पदका प्रत्याशीहरूको समेत सहभागिता थियो।
निर्वाचन नजिकिँदै गर्दा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा सहभागीले एनआरएनएको अबको कार्यदिशा कस्तो हुने, एनआरएनए नागरिताको फाइदा/बेफाइदा, निर्वाचन प्रचार–प्रसार भड्किलो भएको, हामीले अब किन भोट दिने, केका लागि जिताउने, एनआरएनको शाख किन गिरेको जस्ता प्रश्न उठाएका थिए।
जवाफमा अध्यक्ष कुल आचार्यले 'आफूहरूको सम्पूर्ण ध्यान यसपटक नागरिकतामा नै गएको कारण अरू धेरै काम चाहेर पनि पूरा गर्न नसकेको' बताए। हामी कहिले को मन्त्री, कहिले को सचिव, कहिले को नेतालाई भेटेर थाक्यौं, अरू काम गर्न नै सकेनौं, अब त्यसो हुँदैन,' उनले भने, 'हामीले एनआरएनए हेर्ने छुट्टै विभाग वा मन्त्रालय मागेका छौं ।'

त्यसैगरी उपाध्यक्ष पदका उमेदवार गंगाधर गौतमले नागरिकताको प्रश्न राजनीतिक भएका कारण एनआरएनएमा लागेकाले राजनीति गर्नै नहुने, बुझ्नै नहुने, नेतासँग सम्पर्क सम्बन्ध गर्नै नहुने भन्ने केही नभएको तर्क राखे। 'एनआरएनको को मान्छे को नेतासँग भेट्छ भन्ने कुरा गौण हो, रिजल्ट निस्किन्छ कि निस्किन्न भनेर हामीले हेर्नुपर्छ,' उनले भने ।
कार्यक्रममा नेदरल्यान्डबाट केन्द्रीय उपाध्यक्ष पदमा आफ्नो उमेदवारी घोषणा गरिसकेका नारायण आचार्य, आईसीसी युवा संयोजकका उमेदवार एवं पोर्चुगलका पूर्व अध्यक्ष रबिन अधिकारी, सचिव पदका उमेदवार तथा पोर्चुगलका पूर्वअध्यक्ष भीम केसी कमल, अमेरिकाबाट महासचिव पदका लागि उमेदवारी घोषणा गरेका बुद्धि सुवेदी, स्पेनबाट सचिवका लागि उमेदवारी दिएका चिन्तामणि सापकोटालगायतले आगामी महाधिवेशनमा आफूहरूलाई मतदान गर्न उपस्थितिका लागि आग्रह गरेका थिए ।
कोरोना , भूकम्पलगायत मानवीय संकटमा आफूहरूले गरेको योगदानको कदर गरिदिन सबैको आग्रह थियो। त्यसैगरी विदेशबाट नेपालीहरूको शव नेपाल पठाउने सन्दर्भमा पोर्चुगललगायत देशमा एमआरएनएको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गरिएको थियो। नेपालको विकाससँग जोडिनका लागि अबको नेतृत्वलाई पनि रुपान्तरण गर्नुपर्नेमा उम्मेदवारहरूको जोड थियो ।
एनआरएनए बेल्जियमकी महासचिव रुबिना शर्माले सञ्चालन गरेको उक्त स्वागत तथा अन्तरक्रिया कार्यक्रमको अध्यक्षता अध्यक्ष सीता सापकोटाले गरेकी थिइन्।