
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङमा सञ्चालन भएको पाँचौँ मिछुर्लुङ दसैँ मेला सकिएको छ । यही कात्तिक ८ गतेदेखि सुरु भएको उक्त मेला कोजाग्रत पूर्णिमाको दिन समापन भएको हो ।
तेस्रो नेत्र युवा संस्थाले दसैँको अवसर पारी मेलाको आयोजना गरेको थियो । मेलाको अवसरमा आयोजित जुनियर पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी मेटल समूह भिमादले जितेको छ । शनिबार सम्पन्न फाइनलमा किहुँस्थित हुक्का समूहलाई पराजित गर्दै गण्डकी मेटल समूहले उपाधि जितेको हो । प्रतियोगितामा माझकोट समूह तृतीय भएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः रु ३० हजार, २० हजार र दश हजार नगदसहित ट्रफी प्रदान गरिएको आयोजक संस्थाका सचिव अमृत थापाले जानकारी दिए । महोत्सव समापनका अवसरमा मौलिक कौरा र लोपोन्मुख झाम्रे नृत्य प्रस्तुत गरिएको थियो ।
मगर जातिको बाहुल्य रहेको मिछुर्लुङको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित विगत पाँच वर्षदेखि प्रत्येक दसैैँमा मेला आयोजना हुँदै आएको छ । महोत्सवको समापन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जितप्रकाश आलेले ग्रामीण पर्यटन प्रवर्द्धनमा सरकारको सहयोग रहने बताए । मन्त्री आलेले ग्रामीण पर्यटन समृद्धिको आधार भएकाले यसमा सरकारको साथ रहने बताए ।
उनले भने, “पर्यटनबाट समृद्धि सम्भव छ, त्यसमाथि ग्रामीण पर्यटन समृद्धिको आधार हो । सरकार पर्यटन प्रवर्द्धनका लागि सबै हिसाबले सहयोग गर्न सकारात्मक छ ।” भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले नगरपालिकाले पर्यटनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाएको बताए ।