![नाकामा विशेष निगरानी, थानकोटबाट भित्रिने सवारीसाधन एक-एकगरी जाँच्न थालियो [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/thankot_1_UXIjd51hko.jpg)
काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा प्रहरीले विशेष निगरानी बढाएको छ । बिहीबार एकै दिन दुई समूहबाट हुन लागेको प्रदर्शनलाई ध्यानमा राखेर अराजक गतिविधि हुनसक्ने भन्दै प्रहरीले निगरानी बढाएको हो ।
प्रहरीले नाकामा विशेष जाँच गर्न थालेको हो । उपत्यका भित्रिने मुख्य नाका थानकोटमा गाडी तथा मोटरसाइकललाई एक/एकगरी जाँच गर्न थालिएको छ ।

प्रहरीले उपत्यका प्रवेश गर्ने नाकामा विशेष जाँच गर्न थालेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार गाडीमा चेकसहित आवश्यक शान्ति सुरक्षाका लागि सबै संयन्त्र परिचालन गरिएको छ ।
नाकामा नेपाल प्रहरीसहित सशस्त्र प्रहरीसमेत परिचालन गरिएको छ । काठमाडौंका अन्य नाकामा पनि कडाइ गरिएको छ । यस्तै, प्रहरीले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ ।

दुई समूहको प्रदर्शनलक्षित गरी काठमाडौं र ललितपुरका विभिन्न ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । माइतीघर मण्डलादेखि बानेश्वर, प्रधानमन्त्री र राष्ट्रपति निवास वरपरलगायत पुल्चोक क्षेत्रमा जुलुस, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेध आदेश जारी गरिएको छ ।
बिहिबार नेकपा एमाले निकट युवा संघ र व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले काठमाडौंको तीनकुने र बल्खुमा प्रदर्शन गर्दै छ ।





