
अब कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले पनि स्नातकोत्तर तहमा नेपाली विषय पढ्न पाउने भएका छन् ।
मंगलवार बसेको त्रिवि नेपाली विषय स्थायी समिति, विद्यापरिषद् स्थायी समिति तथा प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको समितिका अध्यक्ष प्राडा खगेन्द्रप्रसाद लुइँटेलले विज्ञप्तिमामार्फत जनाएका छन् ।
निर्णयअनुसार अब जुनसुकै विषयबाट स्नातक तह उत्तीर्ण गरेकाले स्नातकोत्तर तहमा नेपाली विषय पढ्न पाउनेछन् ।
‘त्रिविबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको वा त्रिविबाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण भएको र त्रिविबाट स्नातक तहको समकक्षता प्राप्त गरेको हुनुपर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।
यसअघि स्नातक तहमा नेपाली विषय पढेकाले मात्रै स्नातकोत्तर तहमा सो विषय पढ्न पाउने व्यवस्था थियो ।
