२९ असार २०८३, सोमबार

नेपालमा अझै चल्दैछ ‘परदेशी २’, शनिवार ५१ औं दिन मनाउँदै

नेपालमा सफल भएसँगै विदेश प्रदर्शन आरम्भ
मंसिर १४, २०८०
काठमाडौं
नेपालमा अझै चल्दैछ ‘परदेशी २’, शनिवार ५१ औं दिन मनाउँदै

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । 

चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ ।

प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र दशैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आएको थियो ।

दर्शकको अपार मायाका साथ चलचित्रले प्रदर्शनको लामो यात्रा तय गरेको हो । काठमाडौंसँगै देशका विभिन्न सहरका हलमा चलचित्र बिहीवार ४९ औं दिनमा प्रदर्शनरत छ । 

काठमाडौंमा अष्ट नारायण पिक्चर्स, गोपीकृष्ण मुभिज र आइएनआई सिनेमाज वानेश्वरमा चलचित्र प्रदर्शनरत छ । 

त्यस्तै, बुटवलको मिलन सिनेमा हल, दाङको श्री गणेश सिनेमा हल र भिएफएक्स सिनेमाज, कावासोतीमा रहेको कावासोती सिनेम्याक्स, नेपालगञ्जमा रहेको सिने रोयल, पोखराको श्रीकृष्ण हलमा चलचित्र निरन्तर चलिरहेको निर्माता राजेश वंशलले जानकारी दिए । 

चलचित्रले कमाइ पनि राम्रो गरेको छ ।

घरेलु बक्स अफिसमा चलचित्रले ८ करोड हाराहारी ग्रस कलेक्सन गरेको निर्माता वंशलले बताए । युवापुस्तामा रहेको विदेश मोह, त्यसले परिवार र समाजमा पारेको प्रभावको कथामा बनेको चलचित्रलाई रमेश बिजीले लेखेका हुन् ।

प्रकाश, केकी र वर्षासँगै प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, नीर शाह, सबिन बास्तोला, देवेन्द्र बब्लुलगायतको समेत चलचित्रमा शीर्ष भूमिका छ । ​

मानकृष्ण महर्जनको छायांकन, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । 

विदेशमा पनि

नेपालका दर्शकमाझ रुचाइएको चलचित्रको विदेश प्रदर्शन सुरु भइसकेको छ । चलचित्र यूएई, कतार, इराक, ओमान, बहराइनलगायतका मध्यपूर्वका देशमा प्रदर्शनमा आइसकेको छ । 

कुवेतमा केही दिनमा प्रदर्शनमा आउँदैछ । माल्टामा चलचित्रले दर्शकबाट राम्रो माया पाइसकेको निर्माण पक्षले जनाएको छ । 

अमेरिकाको विभिन्न सहरमा चलचित्रको प्रदर्शन सुरु भएको छ । निर्देशक रायमाझी स्वयंम नै यतिबेला चलचित्र प्रदर्शनका लागि अमेरिकामा छन् । 

फिनल्यान्ड र स्पेनमा चलचित्र प्रदर्शन हुने क्रममा छ । जापानका केही सहरमा चलचित्र प्रदर्शन तय भएर प्रचारप्रसार सुरु भइसकेको छ ।

कोरियामा डिसेम्बर ३ बाट चलचित्र प्रदर्शनमा आउँदैछ । अस्ट्रेलिया, यूके, हङकङ, न्युजिल्याण्ड, क्यानडासँगै भारतमा समेत चलचित्र प्रदर्शन हुने तयारीमा रहेको निर्माता वंशलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्