२६ असार २०८३, शुक्रबार
सन्दर्भ : कांग्रेस महासमिति बैठक

गगन-विश्वप्रकाशको गृहकार्य : २०८२ भित्रै कांग्रेसको १५ औं महाधिवेशन

मंसिर २०, २०८०
काठमाडौं
गगन-विश्वप्रकाशको गृहकार्य : २०८२ भित्रै कांग्रेसको १५ औं महाधिवेशन

विधानअनुसार नियमित ४ वर्ष र थप गर्न सकिने डेढ वर्ष गरी कांग्रेस महाधिवेशन साढे ५ वर्षमा गर्ने सुविधा पार्टी नेतृत्वलाई छ । तर, कांग्रेसमा पहिलोपटक दुई युवा महामन्त्री भएपछि उनीहरूले महासमिति बैठकबाटै महाधिवेशनसहितका कार्यक्रमलाई तालिकाबद्ध गरेर जाने तयारी गरेका छन् । 

महाधिवेशनको घोषणा केन्द्रीय कार्यसमितिले नै गर्ने हो, तर पुस १६ देखि १९ गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकमा महाधिवेशनसहितका पार्टी गतिविधिका विषयलाई तालिकाबद्ध गर्ने प्रयासमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लागेका छन् । 

२०७८ मंसिरमा काठमाडौंमा भएको १४ औं महाधिवेशनले नेतृत्व मात्रै चयन गरेको थियो । त्यसैले कांग्रेसले यसपटकको महासमितिलाई नीति अधिवेशनको रूपमा पनि गर्दैछ । कांग्रेसमा नीतिगत प्रस्टता र विधानको प्रभावकारी कार्यान्वयन गराउन महासमिति माथि दबाब छ । 

यसअघि दुई–दुई महिनामा केन्द्रीय समितिको बैठक गर्ने विषयलाई कार्यान्वयन गराउन महामन्त्रीद्वयले भूमिका खेलेका थिए । यसै अभियानमा महासमितिबाट पार्टीलाई थप व्यवस्थित गर्ने तयारीस्वरूपको क्यालेन्डर बनाएरै अगाडि बढ्ने तयारीमा उनीहरू जुटेका हुन् ।

‘नियमित अवस्थामा महाधिवेशनको निर्णय केन्द्रीय समितिको बैठकले गर्ने हो । तर, संगठन कसरी जान्छ, सदस्यता वितरण, प्रदेश, सम्मेलन, जिल्ला सम्मेलन, पार्टीका अधिवेशनहरू कसरी हुन्छन् भन्ने विषयलाई संगठनात्मक प्रतिवेदनमा उल्लेख गर्न खोजेका छौं, किनकि यसले पार्टीलाई एउटा दिशा दिन्छ,’ महामन्त्री शर्माले भने, ‘यसैले पार्टीका गतिविधि नियमित गरौं भनेर कांग्रेसको महाधिवेशन २०८२ भित्रै गरौं भन्ने प्रस्ताव गर्न लागेका हौं ।’ 

विशेष अवस्था र संकट पर्दा मात्रै पाँच र साढे पाँच वर्षसम्म पुग्नुपर्ने हो, तर नेतृत्वले यसको दुरुपयोग गरेर कार्यकाल लम्ब्याउने प्रपञ्च गर्दै आएका छन् ।

‘उपसभापति र दुई महामन्त्रीले महासमितिमा पेस हुने नीति प्रस्ताव, संगठनात्मक र समसामियक प्रस्ताव तयार गरिरहनुभएको छ । प्रस्ताव तयार भएपछि केन्द्रीय कार्यसमितिमा छलफल होला, विधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्छौं भन्ने कुरामा विरोध नहोला भन्नेमा हामी छौं,’ संगठनात्मक प्रतिवेदन तयारीमा महामन्त्री थापालाई सहजीकरण गरिरहेका प्रताप पौडेल भन्छन्, ‘किनकि केही संकटबाहेक सामान्य अवस्थमा ४ वर्षमा महाधिवेशन हुनुपर्छ । विधानले परिकल्पना गरेको महाधिवेशन चार वर्षमा गर्ने विषयलाई तालिकाबद्ध गरेर जाऊँ भनेरै २०८२ भित्रै महाधिवेशन गर्ने विषय उल्लेख गर्न लागेका हौं ।’

सांगठनिक र राजनीतिक प्रतिवेदन बनाएपछि जोडिएका विषयलाई दुई  महामन्त्रीले निष्कर्षमा पुर्‍याउने उनी बताउँछन् । ‘यी दुवै प्रस्ताव प्रारम्भिक मस्यौदाको चरणमा छन् । दुवै महामन्त्रीहरू जिल्ला–जिल्लामा जानुभएको छ,’ उनले भने, ‘उहाँहरूले सांगठनिक रूपमा सुधार र पार्टीले गति लिन तथा विधान कार्यान्वयन गर्न तलदेखि माथिसम्म के गर्नुपर्छ वा के बदल्नुपर्छ भने सुझाव लिइरहनुभएको छ । यी सुझावलाई आधार मानेर मस्यौदा बन्छ ।’ 

महाधिवेशन निर्वाचन अघि कि पछि भन्ने विषय फेरि पनि पेचिलो बन्ने देखिन्छ । पार्टी नेतृत्वमै रहनेले आफ्नो अनुकूल टिकट बाँड्ने परिस्थिति धेरै हुने गर्छ । यसैले संस्थापनइतरले निर्वाचनपूर्व र संस्थापन पक्षले निर्वाचनपछि महाधिवेशन गर्ने कुरालाई प्राथमिकतामा राखेका छन् ।

यसअघि महामन्त्रीहरूले क्यालेन्डर बनाएर संगठनलाई अगाडि बढाउने निर्णय गरेपछि पार्टीका केन्द्रीय समिति बैठक, जिल्ला सम्मेलन पनि नियमित भइरहेकाले संगठनका हरेक गतिविधिलाई तालिकाबद्ध गर्न प्रेरित गरेको उनी बताउँछन् । 

यो तयारीलाई ठूलो पार्टी पंक्तिले साथ दिइरहेको उनको भनाइ छ ।

चुनावमा गठबन्धन नगर्न धेरै सुझाव

जिल्ला र देशका विभिन्न स्थानबाट आगामी निर्वाचनमा कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्न सुझाव आएको उनी बताउँछन् । 

‘हामीले अघिल्लो चुनावमा तालमेल गर्‍यौं, तर चुनावी तालमेल हाम्रो पार्टीको हितमा रहेको छैन भन्ने सुझाव देशैभरबाट आएका छन्,’ पौडेल भन्छन्, ‘यसैले आगामी महाधिवेशनमा पनि चुनावपूर्वको तालमेलले पार्टीलाई क्षतिमात्रै गराउँछ भन्ने धेरै सुझाव आएका छन् ।’

महाधिवेशनपछिको चुनावी स्वार्थ 

कांग्रेसमा महाधिवेशन र निर्वाचन पार्टीका नेताहरूको सबैभन्दा ठूलो प्राथमिकताभित्र पर्ने गर्छन् । पार्टीमा आफ्नो वर्चस्व स्थापित गर्न पनि महाधिवेशन र निर्वाचनलाई नेताले आफूअनुकूल उपयोग गर्दै आएका छन् । त्यसैले २०८४ मा आमनिर्वाचन हुँदै गर्दा महाधिवेशन निर्वाचन अगाडि कि पछाडि भन्ने विषय कांग्रेसलाई यसपटक पनि पेचिलो बन्ने देखिएको छ । 

विधानतः चार वर्ष र एक वर्ष थप गर्न पाउने तथा छ महिना संविधानको व्याख्या अनुसार थप्न मिल्ने हुँदा साढे ५ वर्षमा कांग्रेसमा बल्ल महाधिवेशन हुँदै आएका छन् । तर, यसका लागि विशेष कारण र संकट देखिनुपर्छ । यद्यपि नेतृत्वले सामान्य कारणलाई विशेष बनाएर महाधिवेशन आफू अनुकूल गर्दै आएका छन् । 

महाधिवेशन निर्वाचन अघि कि पछि भन्ने विषय फेरि पनि पेचिलो बन्ने देखिन्छ । पार्टी नेतृत्वमै रहनेले आफ्नो अनुकूल टिकट बाँड्ने परिस्थिति धेरै हुने गर्छ । यसैले संस्थापनइतरले निर्वाचनपूर्व र संस्थापन पक्षले निर्वाचनपछि महाधिवेशन गर्ने कुरालाई प्राथमिकतामा राखेका छन् ।

‘ठूलो संकटबाहेक नियमित ४ वर्षमा महाधिवेशन हुनैपर्छ । यो भनेको आगामी २०८२ भित्रै १५ औं महाधिवेशन गर्नुपर्छ भन्ने हो,’ कांग्रेसका एक नेता भन्छन्, ‘तर पार्टी नेतृत्व सहजै चार वर्षमै महाधिवेशन गर्न तयार होला भन्ने लाग्दैन । किनकि महाधिवेशन गर्दा हार्न सकिन्छ र २०८४ को चुनावमा आफू अनुकूल टिकट बाँड्न पाइँदैन । यसैले उनीहरू समय टार्न लाग्न सक्छन् ।’ चुनावपछि महाधिवेशन गर्दा ६ वर्ष बढी हुनेछ । 

संस्थापन इतर डा. शेखर कोइराला पक्ष, गगन–विश्वप्रकाश पक्ष भने २०८२ सालमा महाधिवेशन गरेर दुई वर्षपछि नयाँ नेतृत्वसहित निर्वाचनमा जाँदा पार्टी सफल हुने पक्षमा छ । यसैले संस्थापनइतरले चार वर्षमै महाधिवेशन गर्ने विषयलाई प्राथमिकतामा पार्दै आएको छ । 

शेखर र गगनसहितका धेरै नेताले ०८२ सालभित्र महाधिवेशन गर्नुपर्ने विषयलाई प्राथमिकता दिँदै आएका छन् । देउवा दोस्रो चरणमा डा. शेखर कोइरालालाई पराजित गर्दै २०७८ मंसिर २९ गते लगातार दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका थिए । अब विधानले पनि देउवालाई सभापतिमा दोहोरिन दिँदैन । त्यसैले देउवा नदोहोरिने हुँदा धेरै आकांक्षीले सभापति पदमा फ्लोर ओपन भएको रूपमा बुझेका छन् । 

पार्टीमाथि एकपछि अर्को चुनौती खडा भएकाले नयाँ नेतृत्वले चुनाव गराउने विषय वैज्ञानिक हुने इतरपक्षको माग छ । ८ असोजमा बसेको केन्द्रीय समितिको बैठकले सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति, उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीतिगत प्रस्ताव तयारी समिति, गगन थापाको नेतृत्वमा सांगठनिक प्रतिवेदन र विश्वप्रकाश शर्माको नेतृत्वमा समसामयिक राजनीतिक प्रस्ताव समिति गठन गरेको थियो । 

मंसिरको दोस्रो साता सभापति देउवाले पदाधिकारीका र पूर्व पदाधिकारीको बैठक बोलाएर महासमिति बैठकको तयारीबारे जानकारी लिएका थिए । महामन्त्री विश्वप्रकाश शर्माले पनि अझै ३० क्षेत्रबाट महासमिति सदस्यको टुंगो लाग्न बाँकी रहेको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्