२० असार २०८३, शनिबार
राष्ट्रिय सभा सदस्य बन्न रस्साकस्सी

राष्ट्रिय सभाका लागि आकांक्षीको 'लिगलिगे दौड'– उज्यालो नहुँदै धाउँछन् नेताको दैलो

पुस १, २०८०
काठमाडौं
राष्ट्रिय सभाका लागि आकांक्षीको 'लिगलिगे दौड'– उज्यालो नहुँदै धाउँछन् नेताको दैलो

१९ जना राष्ट्रिय सभा सदस्य चयनका लागि आगामी ११ माघमा हुने निर्वाचनका लागि सत्तारुढ दलभित्र दाबेदारहरूको दौडधूप तीव्र भएको छ । 

राष्ट्रिय सभामा एमालेका ९, कांग्रेसका ४, माओवादी केन्द्रका ३, नेकपा एसका २ र जसपा तथा स्वतन्त्र १/१ गरी २० सांसदको पदावधि सकिने भएपछि सत्तारुढ दलभित्र दाबेदारको लर्को लागेको हो । 

सत्ता गठबन्धनले यसअघि एमालेले जितेका लगभग सबै सीट हात पार्दैछन्, यसैले यसअघि भएका कायम राखेर पनि संख्या बढाउन सत्तारुढ गठनबन्धनभित्रका नेताहरू लागेका हुन् ।

१९ सीटमा चुनाव हुँदै गर्दा कांग्रेसले कम्तीमा ९, माओवादी केन्द्रले ६, नेकपा एसले ३ र जसपाले १ सदस्य पाउने गरी मोटामोटी समझदारी भएको नेताहरू बताउँछन् । तर, लोसपा र नागरिक उन्मुक्तिले पनि राष्ट्रिय सभा सदस्यका लागि दाबेदारी छोडिसकेका छैनन् ।

२० मध्ये १९ वटामा निर्वाचन हुँदैछ । एक महिला सदस्य मनोनीत गरिनेछ ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेशका सांसद र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन्, जसमा प्रदेशका सांसदको ५३ र स्थानीय तहका पदाधिकारीको १९ मतभार हुन्छ ।

यही कुल मतभारतका आधारमा बागमतीबाट ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट  ३/३ तथा कोशी, मधेश र लुम्बिनीबाट २/२ जनाको टुंगो सम्बन्धित प्रदेशको मतभारका आधारमा लाग्छ ।

यसरी निर्वाचित हुने पदमा पनि महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्यतर्फको अनुपात मिलाउनुपर्ने हुन्छ । 

नेताको घरमा दाबेदारको लर्को

राष्ट्रिय सभाका निर्वाचनको मिति समय नजिक आउँदै गर्दा दाबेदारहरूले नेताको घर नै घेर्न थालेका छन् ।

मुख्यगरी सत्ता गठबन्धनले लगभग सबै सदस्य जित्ने भएपछि कांग्रेस, माओवादी, नेकपा एस, जसपा, नागरिक उन्मुक्ति पार्टीसम्मको दाबी राष्ट्रिय सभा सदस्यका लागि छ ।

कांग्रेसमा सभापतिदेखि महामन्त्रीसम्मको निवासमा दाबेदारहरूको लर्को लागिरहेको छ ।

‘पछिल्लो केही दिनयता राष्ट्रिय सभा सदस्य बन्नका लागि नेताको लर्को नै लागेको छ,’ कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘हुँदैन भन्दा नेताहरू सबै रिसाउन सक्छन्, त्यसैले सबैलाई सकारात्मक जवाफ दिएर पठाउने गरेका छौं ।’

अध्यक्ष बन्न पनि उत्तिकै दाबी 

आगामी फागुन २० पछि राष्ट्रिय सभा अध्यक्षबाट गणेशप्रसाद तिमिल्सिनाको पनि पदावधि सकिँदैछ, यसैले ११ माघमा हुने सदस्यका निर्वाचनपछि राष्ट्रिय सभा अध्यक्षमा पनि दलका नेताहरूले आँखा लगाएका छन् । 

राष्ट्रिय सभा सदस्य बन्न र अध्यक्षसमेत हुनका लागि कांग्रेसमा कृष्णप्रसाद सिटौला र गोपालमान श्रेष्ठ मुख्य दाबेदार छन् । सिटौलाप्रति कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत सकारात्मक रहेको नेताहरू बताउँछन् । तर, निर्वाचनमा पराजितलाई बनाउनु हुँदैन भन्ने मत पनि कांग्रेसमा उत्तिकै छ । यद्यपि, संविधान लेखन र शान्ति प्रक्रियामा काम गरेको अनुभवको हिसाबले पनि राष्ट्रिय सभामा यसपटक सिटौलाले बलियो दाबेदारी दिएका छन् । 

कांग्रेसबाट पुराना नेता गोपालमान श्रेष्ठ पनि उत्तिकै बलिया दाबेदार हुन् । राष्ट्रिय सभामा पर्नकै लागि उनले केही समय घि समानुपातिकको बन्द सूचीबाट नाम फिर्ता लिएका थिए । देउवालाई अहिलेसम्म हरेक पाइलामा सहयोग गरेको भन्दै उनले यसपटक यो पद आफूले पाउनुपर्ने दाबी गरिरहेका छन् । तर, पार्टीले अहिलेसम्म निर्णय गरेको छैन ।

कांग्रेसका यी दुईले मात्रै होइन, माओवादी र नेकपा एकीकृत सामाजवादीले पनि अध्यक्षमा दाबी गरिरहेका छन् । माओवादीले नारायण दाहाल र नेकपा एसले उपाध्यक्ष प्रमेश हमालको नाममा दाबी गरिरहेको नेताहरू बताउँछन् ।

नेकपा एसका नेता हमालले दल दर्तासहितको प्रक्रिया अगाडि बढेकाले केही दिनमा दलबीच उम्मेदवारको टुंगो लाग्ने जानकारी दिए । 

‘दल दर्तासहितको प्रक्रिया सकिएको छ । अब सत्तारुढ दलबीचको सहमति अनुसार क्लस्टरमा कसले कहाँ लिने भन्ने टुंगो लाग्छ होला,’ उनले भने, ‘हामी पनि राष्ट्रिय सभामा दाबेदार दल हौं । भोलि सचिवालय बैठक बसेपछि यस विषयमा कुरा होला ।’ 

दाबेदार दल भइसकेपछि केही नामको विषयमा चर्चा हुनु स्वाभाविक रहेको उनी बताउँछन् ।  

कांग्रेसबाट को–को छन् दाबेदार ?

सहमहामन्त्री फरमुल्लाह मन्सुर, बलबहादुर केसी, आनन्दप्रसाद ढुंगाना, अरुण सुवेदी, डा. मीनेन्द्र रिजाल, डा. गोविन्दराज पोखरेल पनि दाबेदारमध्येका प्रमुख हुन् ।

मन्सुर कांग्रेसका पदाधिकारी हुन् । केसी पुराना नेता हुन् भने ढुंगाना कांग्रेसको अनुशासन समिति संयोजक हुन् । पछिल्लो केही वर्षयता ढुंगाना सभापति शेरबहादुर देउवा निकट रहँदै आएका छन् ।

सुवेदीले देउवा प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकारको भूमिका निभाएका थिए । विश्लेषक समेत रहेका सुवेदीले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को पक्षमा दह्रो वकालत गरेका थिए ।

राष्ट्रिय सभा राजनीतिक व्यक्तिमात्र भन्दा पनि बाहिरका विज्ञहरूको समेत थलो भएकाले उनलाई प्रबल दाबेदार मानिएको छ ।

कांग्रेसमा युवा नेताबाट भूपेन्द्रजंग शाही र मनोजमणि आचार्य पनि दाबेदार छन् । 

कलाकार नीर शाह यसअघि पनि राष्ट्रिय सभामा कांग्रेसबाट दाबेदार थिए । सभापति शेरबहादुर देउवा पनि उनलाई सदस्य बनाउन सकारात्मक नै थिए । तर, उनी हुन सकेनन् । त्यसैले फेरि पनि शाहले दाबी गरिरहेको नेताहरू बताउँछन् । 

यिनी दाबेदामध्येका एक नेता चुनाव हारेकालाई नदिने विषय कार्यान्वयन भए आफ्नो दाबी स्वाभाविक भएको बताउँछन् । 

‘वर्षौंसम्म चुनावमा पार्टीले जितेको छ । कहिले हार्ने र कहिले जित्ने भएको छ । मन्त्री पनि बनेकै छन् । यस्तोमा फेरि पनि उनीहरू नै दाबेदार बन्ने विषय कति उचित होला ?’ दाबेदारमध्येका एक नेता भन्छन्, ‘हामीले नेताको दैलो चहारेका छैनौं, तर पार्टीमा दुःख गरेको आधारमा मूल्यांकन गरिदिए हुन्थ्यो भन्ने लागेको छ ।’

युवा नेता भुपेन्द्रजंग शाहीले आफूले जित्ने बेलामा पार्टीले टिकट नदिएको भन्दै यसपटक राष्ट्रिय सभामा दाबी गरेको बताए । चुनाव उठ्दा प्रतिस्पर्धी मत ल्याएर पनि पराजित भइयो, तर जित्ने अवस्था हुँदा गठबन्धनबाट टिकट दिइएन,’ उनले भने, ‘त्यसैले मैले यसपटक राष्ट्रिय सभामा इच्छा राख्नु अनुचित होइन ।’

दाबेदारमध्येकै अर्का एक नेता आनन्दप्रसाद ढुंगानाले परिपक्व र भिजनरी व्यक्तिलाई राष्ट्रिय सभामा लानुपर्ने पक्षमा रहे पनि युवाको प्रसंग आउँदा पनि आफूले विरोध नगर्ने बताए ।

‘राष्ट्रिय सभाका लागि हामीले इच्छा राखेर मात्रै हुँदैन, पार्टीहरूबीच कसरी सहमति बन्छ, अनि को जाने भन्ने अहिले नै भन्न सकिँदैन,’ उनी भन्छन्, ‘तर कांग्रेसमा युवा नेता अगाडि आउँदैछन् भने उनीहरूलाई बनाउँदा विरोध गर्न मिल्दैन ।’

माओवादीबाट महासचिव देव गुरुङ, लीलामणि पोखरेल, विश्वनाथ साह, रामनारायण बिँडारीदेखि, अजयशंकर नायक, डोरप्रसाद उपाध्याय, रेणु चन्दसहितका नेता दाबेदार रहेको नेताहरू बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्