
वरिष्ठ सङ्गीतकर्मी तथा सङ्गीतमहर्शी नातीकाजीको ९९ औँ जन्मजयन्तीको अवसर पारेर आज नातीकाजी स्मृति समाजले पशुपतिनाथमा उनद्वारा रचिएका तथा सङ्गीत दिएका भजन प्रस्तुत गरेको छ ।
पशुपतिनाथमा दैनिक रुपमा सञ्चालन हुँदै आएको सन्ध्याकालीन आरती हुनुपूर्व सन्ध्यामा उक्त समाजले नातीकाजीले रचना गर्नुभएका तथा सङ्गीत दिएका दर्जनौँ भजन प्रस्तुत गरिएको थियो ।
नातीकाजीको जन्मजयन्तीको अवसर पारेर यो वर्षदेखि प्रत्येक वर्ष नातीकाजी स्मृति समाजले पशुपतिनाथमा उनले सङ्गीत दिएका भजन प्रस्तुत गर्ने कार्यक्रम घोषणा गरेको समाजका अध्यक्ष तथा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाले जानकारी दिए ।
अध्यक्ष बास्कोटाले भने, “वरिष्ठ सङ्गीतकर्मी तथा सङ्गीतमहर्शी नातीकाजीको जन्मजयन्तीका अवसरमा हामीले बिहान ‘नातीकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार–२०८०’ घोषणा गर्ने छौँ र साँझको समयमा पशुपतिनाथमा उहाँद्वारा रचिएका भजन प्रस्तुत गर्ने छौँ ।”
कार्यक्रममा सुदेश शर्मा, बानिका प्रधान, निशा देशार, शशीविक्रिम थापा, सञ्जय तुम्रोक तथा माण्डवी त्रिपाठीलगायत कलाकारले नातीकाजीले रचना गर्नुभएका तथा सङ्गीत दिएका भजन प्रस्तुत गरेका थिए ।
यसैबीच समाजद्वारा आज आयोजित एक समारोहमा ‘नातीकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार–२०८०’ समेत घोषणा गरिएको छ । समाजले आयोजना गरेको कार्यक्रममा विभिन्न स्रष्टा, सङ्गीतकर्मी तथा सञ्चारकर्मीलाई यो सम्मान तथा पुरस्कार अर्पण गरिने समाजका अध्यक्ष तथा वरिष्ठ सङ्गीतकार बास्कोटाले बताए ।