०४ साउन २०८३, सोमबार
झुलाघाट–चिवाभञ्ज्याङ यात्राको समीक्षा

समृृद्धिका लागि एमालेले गरेको संकल्प यात्रापछि ओलीले उठाएका मुख्य ६ सवाल

पुस ८, २०८०
काठमाडौं
समृृद्धिका लागि एमालेले गरेको संकल्प यात्रापछि ओलीले उठाएका मुख्य ६ सवाल

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मध्यपहाडी ३० गरेको १९ दिने लामो ‘झुलाघाट–चिवाभञ्ज्याङ: समृद्धिका लागि संकल्प यात्रा’ राजनीतिक रुपमा सफल भए पनि केही चुनाती रहेको प्रष्ट्याएको छ । संकल्प यात्रापछि पहिलोपटक सञ्चारकर्मीसँग आइतवार साक्षात्कार गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले असाधारण उद्देश्य लिएर गरिएको यात्रा सफल भएको दाबी गरेका छन् । 

यद्यपि, १ करोड २० लाखभन्दा बढी जनसंख्या बस्ने मध्यपहाडी क्षेत्रमा देखिएका सामाजिक, आर्थिक, सांस्कृतिक साथै विकास समृद्धिकाका लागि केही गम्भीर चुनौती देखिएको पनि उनले संकेत गरेका छन् । सरकारको असफलताका कारण नागरिकमा निराशा र हतोत्साह पैदा भए पनि आफूहरूको अभियानले धेरै भ्रमलाई चिरेको दाबी पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले गरेका छन् । 

मध्यपहाडी क्षेत्रका जिल्लामा गरिएको २ हजार किलोमिटरको यात्रालाई ओलीले ‘अभूतपूर्व’ र ‘अत्यन्त उपलब्धिपूर्ण’ रहेको बताएका छन् । लाखौँ नागरिकसँग सांस्कृतिक कार्यक्रम र अन्तक्र्रियाबाट पहाडी भूगोलको बदलिँदो तस्वीर, भूभागका समस्या समृद्धिका अवसर तथा चुनौती पहिचान भएको निष्कर्ष एमालेको छ । यस भेगको सामाजिक–आर्थिक रुपान्तरण र समृद्धिको नयाँ संकल्प बोकेर फर्किएको जानकारी अध्यक्ष ओलीले गराएका छन् । 

यी हुन् एमाले अध्यक्ष ओलीले संकल्प यात्रापछि औल्याएका ६ सवाल:

null

१. खस्किएको छैन पार्टीहरूको लोकप्रियता

पूर्वराजावादी र अतिवादीले भ्रम फैलाए पनि पार्टीहरूको लोकप्रियता नखस्किको दाबी एमालेले गरेको छ । 

‘यस अभियानमा भएको विशाल जनसहभागिताले धेरै भ्रम र अन्यौललाई चिर्ने काम गरेको छ । केही समययता कतिपय पूर्वराजावादी, पश्चगामी र अतिवादीहरूलाई केन्द्र बनाएर निर्माण गरिएका जनविरोधी चर्चा र प्रयास, ’पार्टीहरूको लोकप्रियता खस्किएको छ’, ’नेतृत्वको प्रतिष्ठामा ह्रास आएको छ’ र ’मान्छेहरू लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानकै विकल्प खोजिरहेका छन्’ भनेर निर्माण गर्न खोजिएको गलत भाष्य खण्डित भएको छ,’ एमालेले भनेको छ, ‘आपसी प्रतिस्पर्धा र कतिपय सन्दर्भमा रहेको कटुताका बाबजुद लोकतान्त्रिक गणतन्त्र पक्षधर कुनै पनि दलमाथि अनाहकमा आक्रमण गर्नु भनेको परिणामतः संविधान र प्रणालीमाथिकै आक्रमण हो । तसर्थ, एमालेप्रति व्यक्त यो सद्भाव र समर्थन वस्तुतः लोकतान्त्रिक गणतन्त्र र संविधानप्रतिकै स्वभाव र समर्थन हो । एमालेको सङ्कल्प यात्राले लोकतान्त्रिक गणतन्त्रप्रतिको जनसमर्थनलाई थप सुदृढ र मजबुत बनाएको छ ।’ तर व्यवस्थाका निम्ति स्थापित दलले दह्रो खुट्टा टेक्नुपर्ने अध्यक्ष ओलीले औँल्याएका छन् । 

राजतन्त्र ल्याउँछौं भन्नेलाई आफूहरूको अभियानले असान्दर्भिक बनाइदिएको पनि उनले बताए । 

२. संघीयतामाथि प्रश्न उठाउने बेला भएको छैन

अध्यक्ष ओलीले देशमा संघीयताको अभ्यास भएको एक दशक पनि नपुगेको अहिले नै नकारात्मक टिप्पणी गर्न नहुने बताए । ‘संघीयतामा हामी एक दशकको अभ्यासमा छौं । यसैले अहिले संघीयताको विषयमा नकारात्मक टिप्पणी गर्नु उचित हुन्न,’ उनले भने, ‘हामी जहाँ पुग्यौं त्यहाँ लोकतान्त्रिक प्रणालीमा दृढ भएर चासो राखेको पाइयो । गणतन्त्रको नागरिक सर्वोच्चताप्रति जनतालाई बढी चासो रहेको पाइयो । संघीयतालाई कार्यान्वयन गर्न र मझबुत बनाउन दलहरू लाग्नुपर्छ ।’

संघीयताप्रतिको वितृष्णा कम गर्न नागरिकलाई डेलिभरी दिनुपर्ने ओलीले औँल्याएका छन् । 

‘नागरिक निराश छन् तर विकासका काममा नतिजा दिनुपर्छ । भ्रष्टाचार नियन्त्रण गरेर सरकार हुनुको औचित्य पुष्टि गर्नुपर्छ’ उनले भने, ‘शक्तिको स्रोत दिनेबारे कति फलदायी काम भए समीक्षा गर्नुपर्छ । अहिले शक्ति विकेन्द्रीकरणको प्रश्न होइन बाँडफाँट हो ।’

३. युवा पलायन बसाइँसराइ गम्भीर 

ओलीले देशको अर्थतन्त्रमा महत्वपूर्ण स्थान ओगट्ने पहाडी क्षेत्रबाट युवा विदेश पलायन र बसाइँसराइ मुख्य समस्या भएको औँल्याए । ‘सामान्यतया चुनावलाई लक्षित गरी यस्ता अभियान चलाउने गर्ने अभ्यास दलहरूमा छन् । यो अभियानमा दीर्घकालीन हिसाबले अर्थतन्त्रको मेरुदण्ड भएको र धेरै जनसंख्या भएको पहाडमा बढ्दो बसाइँसराइ, युवा पलायन र कारोबार नै बन्द भए देशको भविष्य नै अप्ठ्यारोमा पर्न सक्छ,’ उनले भने, ‘युवा नभएपछि खेती हुँदैन । जमिन बाझिन्छ, वन बढ्छ । हाम्रो कार्यक्रममा ४० प्रशितत युवा आए तर केही आशावादिता मानिसमा छ । कृषिको आधुनिकीकरण, व्यावसायीकरण कसरी गर्ने भन्नेमा चिन्तन गर्न ढिलाइ भइसकेको छ ।’

आफूहरूले यात्रा गरेका ३० जिल्लामध्ये अधिकांशको जनसंख्या वृद्धिदर ऋणात्मक रहेको ओलीले जनाएका छन् । ‘पहाडी गाउँवस्तीहरूमा बसाइँसराइँ ठूलो चुनौतीको रुपमा देखा परेको छ । हामीले यात्रा गरेका ३० जिल्लामध्ये अधिकांशको जनसङ्ख्या वृद्धिदर ऋणात्मक रहेको छ । कतिपय गाउँवस्तीहरू रित्तिदै गएका छन्,’ उनले भनेका छन्, ‘विद्यार्थीको अभावमा कतिपय विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । खेतीयोग्य जमिन बाँझो बन्दैछन् । गाउँमा श्रमका लागि युवाहरूको अभाव छ । कतिपय ठाउँमा त बृद्धबृद्धाहरूको हेरचाह गर्ने या मलामी जाने युवाहरूको समेत अभाव देखिन्छ ।’

बसाइँसराइँ पछाडि केही वाध्यात्मक कारण रहेको तर र जनशक्ति पलायनमा पछिल्लो समय केही अपवाहले काम गरेको ओलीको दाबी छ ।

‘बसाइँसराइँ पछाडि केही वाध्यात्मक कारणहरू रहेका छन् । तर पछिल्लो समय ’नेपालमा अवसर नै छैन’, ’नेपाल बन्दै बन्दैन’, ’विदेशमा अवसर नै अवसर छ’ र ’जसरी पनि त्यहाँ पुग्न पाइयो भने जिन्दगी सप्रिहाल्छ’ भन्ने भ्रामक प्रचार, प्रायोजित भाष्य, त्रुटिपूर्ण शैक्षिक प्रणाली र मनोविज्ञानले पनि युवाहरूको वाह्य आप्रवासनलाई बढावा दिइरहेको छ । यसको समाधानका लागि तत्काल पहल अनिवार्य भएको छ,’ उनले थपेका छन् ।

तुलनात्मक रुपमा पहाडमा पूर्वाधार बढे पन पर्याप्त नभएको ओलीले भ्रष्ट्याए । ‘पहाडमा पूर्वाधार बन्दै छन् । बाटोघाटो छन् । तर किसानलाई उत्पादन गर्ने र प्रविधिको प्रयोग गरेर आधुनिक खेती गर्ने, सिंचाइँको प्रबन्ध गर्न सकिएको छैन,’ उनले भने, ‘अब पहाडलाई फलफूल खेतीतर्फ आकर्षित गर्ने हो भने आम्दानी बढ्छ ।’

४. मध्यपहाडी राजमार्गः डबल लेनको सुरक्षित 

३० भन्दा बढी जिल्लालाई जोड्ने मध्यपहाडी राजमार्गलाई व्यवस्थित र सुरक्षित बनाउनुपर्ने आवाज आफूहरूले पाएको एमाले अध्यक्ष ओलीले बताए । 

‘मध्यपहाडी राजमार्गको विषयमा भूगोल र नागरिकको आवाज निर्माण कति छिटो हुन्छ भन्नेमा छ । हामी डबल लेनको सुरक्षित बाटो बनाउने अभियानमा छौं,’ उनले भने, ‘मुख्य कुरा जनताको सुविधाको हो । यसमा राजनीतिकरण गरेर यो दल उ दल भन्दैनौं । कुन सरकारले शुरू गर्यो । कसले पूरा गर्छ भन्ने मात्रै होइन । जसरी पनि राम्रो हुनुपर्छ भन्ने हाम्रो मान्यता छ ।’

ओलीले सबैतिर पिच नभएको, धेरै ठाउँमा अझै पनि अप्ठ्यारो रहेको, अग्ला पुल थपेर राजमार्गको लम्बाइ छोट्याउने विषयलाई पनि प्राथमिकता राख्नुपर्ने बताए । 

५. आफ्नै समीक्षा गर्छौं, छलफल गर्छौं

ओलीले लामो संकल्प यात्राका क्रममा प्राप्त भएका सुझावलाई सकारात्मक रुपमा स्वीकार्ने बताए । 

‘नागरिकमा आएको निराशालाई चिर्न हाम्रो अभियालने पनि काम गर्यो । तर पनि नागरिकमा अन्योल, नैराश्यता छ । राज्यसत्ताको दुरुपयोग गरिएकोमा नागरिकका गुनासा छन् । सुगममा सचेत मिडिया हुँदा त बेथितिको चाङ छन् । झन् दुर्गममा के होला यो अनुमान गर्न सकिन्छ,’ उनले भने, ‘यात्राका क्रममा पाइएका निष्कर्ष, ध्यानाकर्षण, इस्यूका सन्दर्भमा के गर्न सकिन्छ, आवश्यक कारबाही अघि बढाउँछौं । सरकारमा हुँदा के गर्यौं । पार्टीका रुपमा के गर्यौं समीक्षा गरेर हामी अझै बढी जानकारी गराउँछौं ।’

संकल्प यात्रामा सर्वदलीय, सर्वपक्षीय साक्षात्कारपछि पनि सुझाव आएको भन्दै ओलीले अब काठमाडौंमा विज्ञसँग पनि बसेर मध्यपहाडको विकासको लागि के गर्न सकिन्छ थप छलफल गर्ने जानकारी दिए । 

६. छिमेकीसँग तटस्थ

संसद्मा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले नेपालको विकासको निम्ति छिमेकी र मित्रराष्ट्रसँग तटस्थ र मित्रवत सम्बन्धको पक्षमा रहेको बताए । 

‘बिरालो सेतो होस् वा कालो उसले मुसा मार्नुपर्छ । हाम्रो विकासको निम्ति छिमेकी चीन वा भारत जो भए पनि हामी सार्वभौम देशको रुपमा तटस्थ, मित्रवत सम्बन्ध र शान्तिको पक्षमा छौं,’ उनले भने, ‘हामी यो र उ भनेर विवाद गर्ने पक्षमा लाग्नु हुन्न ।’


 

salt training

कमेन्ट गर्नुहोस्