०५ साउन २०८३, मंगलबार

फिल्म ‘गाउँ नै रमाइलो’मा आर्यन र दयाहाङ फाइनल

पुस ११, २०८०
काठमाडौं
फिल्म ‘गाउँ नै रमाइलो’मा आर्यन र दयाहाङ फाइनल

‘गाउँ नै रमाइलो’ नामक फिल्म निर्माणको घोषणा गरिएको छ । 

यस वर्षको सुपरहिट फिल्म ‘नाङ्गो गाउँ’का निर्माता हिमाल कडरियाले यस फिल्मको निर्माण घोषणा गरेका हुन् । दिनेश राउतले निर्देशन गर्ने पक्का भएको फिल्ममा विकास सुवेदीको लेखन रहनेछ । दिनेशले फिल्म ‘पूजार सार्की’को काम सकेपछि ‘गाउँ नै रमाइलो’को छायांकन सुरु गर्नेछन् । 

यसैबीच, यो फिल्ममा दुई सुपरस्टार अभिनेताहरूको टिमअप पक्का भएको छ ।

फिल्ममा अभिनेताद्वय आर्यन सिग्देल र दयाहाङ राईले काम गर्ने पक्का भएको निर्माता कडरियाले जानकारी दिएका छन् ।

आर्यन र दयाहाङले यसअघि फिल्म ‘मेरो एउटा साथी छ’मा काम गरेका थिए । यी दुई नायकको टिमअपले फेरि दर्शकमाझ नयाँ उत्साह थपिने आँकलन गर्न सकिन्छ । 

यो फिल्मलाई आउँदो वर्षको दशैँमा रिलिज गर्ने घोषणा समेत गरिएको छ । क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुने यो फिल्मले गाउँको कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने बुझिएको छ ।

फिल्मका अन्य कलाकारहरूको घोषणा विस्तारै गरिने निर्माणपक्षले बताएको छ । 

यो फिल्मको नेपाल वितरणको जिम्मा आरआर फिल्मसले लिएको छ । यस्तै, ओभरसिजमा एमएसएम इन्टरटेन्मेन्टले यो फिल्म वितरणको जिम्मा लिएको छ । फिल्मको छायांकन आउँदो वर्षको जेठबाट सुरु हुने निर्माणपक्षले उल्लेख गरेको छ । 

निर्माता कडरियाले फिल्म ‘दुःखी आत्मा’ निर्माणको घोषणा पनि गरिसकेका छन् । दीपेन्द्र लामाले निर्देशन गर्ने यो फिल्ममा दयाहाङ राई फाइनल भइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्