
शान्ति प्रक्रिया टुंग्याउन साथ पाउने विश्वासमा एमालेलाई पनि राष्ट्रिय सभामा भागबन्डा दिने गठबन्धन दलभित्रको तयारी विवादमा परेको छ ।
२० मध्ये १९ सीटमा हुने निर्वाचनमा आफू शून्य हुने भएपछि प्रमुख प्रतिपक्षी दल एमालेले कांग्रेस र माओवादीसँग आफूलाई नछुटाउन आग्रह गर्दै आएको छ ।
उसलाई ३ सीटसम्म दिन कांग्रेस र माओवादीको शीर्ष नेतृत्व तयार रहेको नेताहरूको दाबी छ । तर, एमालेबाटै छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादी र कांग्रेसभित्रैको एउटा पक्ष यसको विरोधमा उत्रिएको छ ।
एमालेलाई समेत भागबन्डा दिने गरी बुधबार र बिहीबार भएको बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आपत्ति जनाएका छन् ।
बालुवाटारमा बुधबार साँझ बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीले आफूहरूलाई शून्य नबनाउन आग्रह गरेको बताएका थिए । त्यसपछि एमालेको प्रस्ताव के हो ? ऊ कसरी जान चाहन्छ, उसको प्रस्ताव सुनौं भन्दै तीन दलको बैठक सकिएको थियो । तीन दलपछि एमालेसहितको बैठक बसे पनि ओलीको चाहनाबाहेक केही सुनिएन । त्यसैले अर्को दिन बसौं भनेर बिहीबारका लागि बैठक सारिएको थियो ।
बिहीबार बालुवाटारमा गठबन्धनको बैठक बस्यो । सोही बैठकमा नेकपा एसका अध्यक्ष नेपालले एमालेलाई दिन खोजिएको भागबन्डाप्रति आपत्ति जनाएका थिए ।
‘हाम्रो गठबन्धन एकातिर छ, तर एमालेलाई के बाध्यता भएर वा उद्देश्य राखेर राष्ट्रिय सभामा तीन सीटसम्म दिने भनियो ?’ बैठकमा नेपालले आक्रोशपूर्ण रूपमा भनाइ राखेको एक नेताले जानकारी दिए । नेपालको आक्रोशपूर्ण अभिव्यक्तिपछि प्रधानमन्त्री प्रचण्डले ओलीले नै मिलेर जान प्रस्ताव गरेपछि शान्ति प्रक्रियाको टीआरसी विधेयक टुंग्याउनेसहित विषयमा साझा सहमति गरेर अगाडि बढ्न खोजिएको आशय व्यक्त गरेका थिए । गठबन्धनले दिन खोजेको बढीमा ३ सीट थियो, तर एमालेले ६ सीट मागेको भन्दै प्रधानमन्त्रीले बिफ्रिङ गरेपछि नेपाल झन् आक्रोशित बनेको नेताहरू बताउँछन् । गठबन्धनकै दल भए पनि जसपा अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टि नजनाएको स्रोतको दाबी छ ।
यसअघि कांग्रेस, माओवादी, नेकपा एस र जसपाले जितेका सीट उनीहरूले नै लिने र एमालेबाट खाली हुने ९ सीटमा भागबन्डा गर्ने तयारी छ । तर एमाले पनि मिसिन खोजेपछि गठबन्धनभित्रका साना दलले समेत दाबी बढाउँदैछन् । लोसपा, जनमत र नागरिक उन्मुक्तिले एक–एक सीट पाउनुपर्ने माग गरेको नेताहरू बताउँछन् ।
एमालेलाई मिसाउने प्रधानमन्त्रीको प्रस्तावमा देउवाले धेरै प्रतिक्रिया नदिई समर्थन जनाएको नेताहरू बताउँछन् । तर, कांग्रेसमा पनि असन्तुष्टि चुलिएको छ ।
कांग्रेस नेता डा. शेखर कोइरालाले त आपत्ति जनाउँदै स्टाटस नै लेखेका छन् ।
‘कारण स्पष्ट छ, सत्ता गठबन्धनका कुनै दललाई टीआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले, एक–दुई सीटका लागि जे पनि हस् ?’ शेखरले गम्भीर प्रश्न उठाउँदै भनेका छन्, ‘यदि यसो हैन भने केन्द्र र सबै प्रदेशमा एमाले पनि सरकारमा आए भैगो, किन बाहिर बसेर केही पदका लागि बार्गेनिङ गर्नु ? संसदीय समितिका तीन सभापति र राष्ट्रिय सभाका दुई/तीन सीट पाएपछि प्रमुख प्रतिपक्षले राष्ट्रिय मुद्दामा आँखा चिम्लनु झनै दुर्भाग्यपूर्ण हो ।’
कोशीमा गठबन्धन धरापमा पारेको भन्नेहरूले एमालेलाई भागबन्डा दिन खोजेको भन्दै शेखरले व्यंग्य समेत गरेका छन् ।
‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् । हुन त यो शृंखला एमालेलाई संसदीय समितिमा तीन सभापति दिने दिनबाटै शुरू भएको हो,’ उनले लेखेका छन्, ‘टीआरसीका सम्बन्धमा गम्भीर प्रकृतिका मुद्दामा क्षमा दिन नहुने सर्वोच्च अदालतको निर्देशनात्मक आदेश र मानव अधिकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको अधीनमा रहेर द्वन्द्वबाट पीडितहरूले पर्याप्त क्षतिपूर्ति पाउने गरी मात्र विधेयक आउनुपर्ने कुरामा स्पष्ट हुनु जरुरी छ ।’
राष्ट्रिय सभा सदस्यको भागबन्डा गर्ने बैठकमा सहभागी भएका कांग्रेस महामन्त्री गगन थापासमेत असन्तुष्ट देखिन्छन् । बुधबारमात्रै एक सार्वजनिक कार्यक्रममा थापाले देश पूर्व प्रधानमन्त्रीहरूको कब्जामा रहेको बताएका थिए ।
माधव नेपाल र कांग्रेसभित्रको असन्तुष्टिपछि फेरि बिहीबार साँझ एमालेसहितको छलफल गर्ने गरी दलहरू बालुवाटारबाट उठेका थिए ।
‘अघिल्ला दिनजस्तै हामी आज पनि सत्ता गठबन्धनका दल राष्ट्रिय सभाको विषयमा छलफल गर्न बस्यौं । सबै दलसँग छलफल गरेर जाने गरी अहिलेसम्म सैद्धान्तिक छलफलमा छौं,’ कांग्रेस नेता रमेश लेखकले भने, ‘तर कसरी भागबन्डा गर्ने भन्ने कुनै टुंगो लागेको छैन । छलफल जारी छ । आज साँझ फेरि कांग्रेस, एमाले र माओवादीबीच छलफल हुन्छ ।’
पछिल्लो समय कांग्रेस र माओवादी राष्ट्रिय सभामा एमालेलाई समेत साथमा लिएर जाने विषयमा लचक भए पनि भागबन्डा नटुंगिएको लेखक बताउँछन् ।
‘हामी छलफलकै क्रममा भएकाले कुन दलले कति सीट लिने भन्ने टुंगो लागेको छैन,’ लेखकले भने, ‘भोलिसम्ममा राष्ट्रिय सभाको विषयलाई टुंग्याउनेगरी छलफलमा जुटेका छौं ।’
सत्ता गठबन्धनसँग संवादमा रहेको एमालेले पनि शुक्रबार सचिवालयको बैठक बोलाएको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभाका १९ सीटको निर्वाचनका लागि २३ पुसमा उम्मेदवारी दर्ताको कार्यक्रम छ ।