सहकारी ठगी प्रकरणमा ग्यालेक्सी टीभीका अध्यक्ष जीबी राई लगायतविरुद्ध छानबिन र कारबाहीका लागि सहकारी विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई लेखी पठाउने तयारी गरेको छ ।
विभिन्न सहकारीको बचत हिनामिनाको छानबिन गरिरहेको विभागले थप अनुसन्धानका लागि सीआईबीलाई प्रतिवेदनसहितको फाइल पठाउन लागेको हो । सूर्यदर्शन, सुप्रिमलगायत विभिन्न सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष राईविरुद्ध सहकारी विभागमा उजुरी परेको थियो ।
सहकारी विभागका प्रवक्ता टोलराज उपाध्यायले सहकारी ठगी प्रकरणमा विभागले अनुसन्धान गरिरहेको जानकारी दिए । सीआईबीले पनि अनुसन्धान गरिरहेकाले यसलाई निष्कर्षमा पुर्याउने उनले बताए ।
विभागबाट केही कागजात लिएर अनुसन्धान शुरू गर्न लागिएको सीआईबी स्रोतले जानकारी दियो । ‘सम्भवतः आज नै उजुरी दर्ता हुन्छ होला, त्यसको अन्तिम तयारी भएको छ,’ सीआईबी स्रोतले जानकारी दियो ।
राईसँगै रास्वपा सभापति रवि लामिछानेलाई पनि कारबाही गर्न माग गर्दै कांग्रेस भ्रातृ संगठन नेविसंघले शनिवार काठमाडौंमा मसाल जुसुल निकालेको थियो । रवि र जीबीलाई कारबाहीको माग गर्दै युवराज सफलले सहकारी विभागमा उजुरी दर्ता गरेका थिए ।
जीबीले डुबाएको ग्यालेक्सी टीभीमा रविको नाममा समेत शेयर भेटिएको थियो । आफू सदस्य नै नरहेका विभिन्न सहकारीबाट ऋण लिएर लामिछानेको नाममा शेयर खरिद गरेको पाइएको थियो ।
सभापति लामिछानेले भने ठगीएका सहकारीपीडितको पैसा राज्यले फिर्ता दिनुपर्ने माग गरेका छन् । आफैैंले पैसा फसाएर राज्यले तिर्नुपर्छ भनेको भन्दै रविको आलोचना भइरहेको छ ।