३० असार २०८३, मंगलबार
चकलेटी अभिनेतालाई भ्याइ नभ्याइ

के गर्दैछन् नयाँ पुस्ताका 'चकलेटी हिरो’हरू ?

माघ ९, २०८०
काठमाडौं
के गर्दैछन् नयाँ पुस्ताका 'चकलेटी हिरो’हरू ?

पछिल्लो पुस्ताका केही ‘चकलेटी’ अभिनेताहरूलाई यतिबेला नेपाली चलचित्रमा काम गर्न भ्याइ नभ्याइ छ । उनीहरूलाई चलचित्रको कुनै कमी छैन । प्रदीप खड्का, अनमोल केसीदेखि पल शाहसम्म पछिल्लो पुस्ताका व्यस्त ‘चकलेटी’ अभिनेतामा पर्छन् ।

‘प्रेम गीत ३’ रिलिजपछि केही समय गुपचुप देखिएका अभिनेता प्रदीप खड्काले पछिल्लो समय एकपछि अर्को चलचित्र साइन गरिरहेका छन् । दिनेश राउतको निर्देशन रहने चलचित्र ‘पूजार सार्की’मा उनले काम गर्दैछन् । यो चलचित्रमा उनीसहित आर्यन सिग्देल र पल शाहका साथमा अञ्जना बराईली र परीक्षा लिम्बु देखिँदैछन् । माघभित्रै छायांकनमा निस्कने भनिएको चलचित्रको वर्कसपमा समेत प्रदीपले समय दिइरहेका छन् । 

प्रदीप ‘ऐरी’मार्फत् बलिउडमा डेब्यु गर्ने तयारीमा छन् । यो चलचित्रका लागि केही महिनायता उनले ‘फाइट’ सिकिरहेका छन् । कपाल लामो बनाएका छन् । 

null

वर्किङ टाइटल ‘एक्टर’ रहेको अर्को चलचित्रमा पनि प्रदीपले काम गर्दैछन् । यो चलचित्रमा उनको जोडीका रूपमा अभिनेत्री आना शर्मा अनुबन्धित भइसकेकी छन् । राजन भुसालको निर्देशनमा बन्ने चलचित्रमार्फत् अभिनेता राजबल्लभ कोइरालाले अभिनयमा कमब्याक गर्दैछन् । 

यीबाहेक थुप्रै निर्माता–निर्देशकहरू प्रदीपलाई आफ्नो चलचित्रमा खेलाउन लागिपरेका छन् । उनले पनि थुप्रै चलचित्रको स्क्रिप्ट हेरिरहेका छन्, यद्यपि साइन गरिसकेका भने छैनन् । लोकान्तरसँगको कुराकानीमा प्रदीपले पछिल्लो समय आफूले थुप्रै चलचित्रको स्क्रिप्ट पढेको बताए । बौद्धिक अभिनेताका रूपमा समेत परिचित प्रदीप विज्ञापनहरूमा समेत रोजाइका अभिनेतामा पर्छन् ।  

यस्तै, अर्का चकलेटी अभिनेता अनमोल केसी यतिबेला चलचित्र ‘फर्की फर्की’को छायांकनमा व्यस्त छन् । गतवर्षको ‘छड्के २’ अनमोलको पछिल्लो रिलिज चलचित्र थियो, जुन ‘फ्लप’ भएपछि अनमोलको करिअरमा धक्का लागेको धेरैको टिप्पणी थियो । उक्त चलचित्रको निराशाजनक व्यापारपछि आफू चुकेको स्वीकारेका  अनमोलले ‘फर्की फर्की’मा भरपूर मेहनत गरिरहेको निर्माण पक्षले बताएको छ । सुयोग गुरुङको निर्देशनमा बनिरहेको चलचित्रमा अनमोलको जोडीका रूपमा अभिनेत्री जसिता गुरुङ छिन् । यस्तै, अनमोलले हेमराज बिसीको निर्देशनमा ‘जेरी २’मा समेत अभिनय गर्दैछन् । ८ वर्षअघि प्रदर्शनमा आएको हिट चलचित्र ‘जेरी’को सिक्वेलका रूपमा निर्माण हुन लागेको चलचित्रमा अनमोलको जोडीका रूपमा आना शर्मा देखिँदैछिन् । यो चलचित्रको छायांकन कहिलेदेखि सुरु हुन्छ टुंगो छैन । 

null

अनमोलले चलचित्र ‘रावायण’मा पनि काम गर्ने तयारी थियो । यद्यपि, उक्त चलचित्र खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेको भन्दै निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा प्रहरीमा जाहेरी दिएको थियो । निर्माण युनिटको उजुरीका कारण अनमोलले हिरासतको बाससमेत बस्नुपरेको थियो । सुदर्शन थापाको निर्देशनमा निर्माण हुने तयारीमा रहेको उक्त चलचित्रका लागि लिएको पेस्की अनमोलले हिरासतबाट छुटेपछि फिर्ता गरेका थिए । उक्त लफडाले गर्दा अनमोल पछिल्लो समय चलचित्र साइन गर्नु र पेस्की लिनुअघि थप सोचविचार गर्न थालेको निकट स्रोत बताउँछ । 

अनमोलसँग हिजोआज पनि थुप्रै चलचित्रको अफर पुग्ने गरेको छ । उनी विज्ञापनमा समेत निकै रोजाइका अभिनेता हुन् । 
अर्का अभिनेता पल शाहको व्यस्तता भने पछिल्ला दिनमा महोत्सवतिर ढक्लिएको छ । 

उनलाई महँगो पारिश्रमिक तिरेरै भए पनि महोत्सवमा लैजान आयोजकहरू लालायित छन् । उनी पनि दैनिकजसो महोत्सवमा पुगेर प्रस्तुति दिइरहेका छन् । उनलाई हेर्न महोत्सवमा दर्शकहरूको भिड लागेको भिडियोहरू सामाजिक सञ्जालमा छ्यापछयाप्ती भेटिन्छन् । 

चलचित्रको कुरा गर्दा पलले ‘मायावी’को छायांकन सकेका छन् । दिवाकर भट्टराईको निर्देशन रहेको यो चलचित्रमा पलका साथमा दिपिका प्रसाइँ शीर्ष भूमिकामा छिन् । पलले लगत्तै काम गर्ने तयारीमा रहेको चलचित्र ‘पूजार सार्की’ हो । यस्तै, उनले ‘मायाका रंगहरू’नामक चलचित्रमा पनि काम गर्दैछन् । केवल तामाङको निर्माण र निर्देशनमा बन्ने चलचित्रको छायांकन फागुनबाट सुरु गर्ने तयारी छ । पलको मुख्य भूमिका रहने गरी चलचित्र ‘ओ सजन’ विकास बोर्डमा दर्ता भए पनि कहिलेदेखि छायांकन सुरु हुन्छ टुंगो छैन । गायक यश कुमारले आफ्नो निर्देशन रहने नयाँ चलचित्र ‘ए मन सुटुक्क भन’मा पल शाहलाई अनुबन्ध गरेका थिए । तर, यो चलचित्रमा अब पल नहुने निश्चित भइसकेको यशले बताएका छन् । 

null

प्रदीप र अनमोलले म्युजिक भिडियोमा काम नगर्ने भए पनि पल शाह भने भिडियोका सबैभन्दा रोजाइका अभिनेता हुन् । उनले एकपछि अर्को म्युजिक भिडियोमा पनि काम गरिरहेका छन् । विज्ञापनको कुरा गर्दा पछिल्लो समय पललाई ब्राण्डको विज्ञापनमा खास्सै खोजिएको छैन । 

यस्तै, अर्का चकलेटी अभिनेता सलिनमान बनियाँ भने चलचित्रको पर्दाबाट अलि टाढा देखिएका छन् । ‘ए मेरो हजुर २’बाट डेब्यु गरेका उनले पहिलो चलचित्रबाटै लोभलाग्दो माया पाएका थिए । रिजर्भ बस्न रुचाउने यी अभिनेता चलचित्र ‘यात्रा’पछि मिडिया र चलचित्र नगरीबाट टाढै बसिरहेका छन् । उनले व्यवसायमा समय दिइरहेका छन् । उनीकहाँ चलचित्रको अफर पुगे पनि काम गर्न जाँगर नदेखाएको बुझिएको छ । 

अर्का चकलेटी अभिनेता आकाश श्रेष्ठले पनि पछिल्लो समय चलचित्रमा काम गरेका छैनन् । उनले चलचित्र साइन गरेको खबर पनि बाहिरिएको छैन । एकपछि अर्को चलचित्र असफल भएपछि उनी म्युजिक भिडियोमै रमाइरहेका छन् । भिडियोमा आकाश निकै डिमाण्डेड अभिनेता हुन् ।

salt training

कमेन्ट गर्नुहोस्