
काठमाडौंको तारकेश्वर नगरपालिकाले पौराणिक तारकेश्वर मन्दिरमा शिव महापुराण शुरू भएको छ । तारकेश्वर– ३ पाँचमानेस्थित तारकेश्वर महादेव मन्दिरमा बिहीवारदेखि शिवपुराण शुरू भएको हो ।
माघ २३ गतेसम्म चल्ने उक्त शिवपुराणमा वाचक गुरु नारायण चतुव्र्युहले कथा वाचन गरिरहेका छन् ।
यसैबीच बिहीवार ११ बजे शोभा कलश र पुर्वाङ्गको कार्यक्रम सम्पन्न भएको थियो । त्यसपछि दिउँसो ३ बजे शिवपुरायणको उद्घाटन अर्थमन्त्री डा प्रकाशशरण महतले गरेको आयोजकले जनाएका छन् ।
यस्तै माघ २२ गते लक्ष्यबत्ती दीप प्रज्वलन र कार्यक्रम समापन माघ २३ गते दिउँसो ३ बजेदेखि ५ बजेसम्म हुने तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले जानकारी दिए ।
‘यस नगरपालिकामा तारकेश्वर महादेव मन्दिरका साथै नगरपालिका भित्रका अन्य धार्मिक तथा साँस्कृतिक मठ मन्दिर र पर्यटकीय स्थलको स्वदेश तथा विदेशमा प्रचारको प्रबद्र्धन गर्ने मूल उद्देश्यका साथ तारकेश्वर नगरपालिका यस पौराणिक तारकेश्वर महादेव मन्दिरमा शिवपुराण आयोजना गरिएको हो,’ उनले भने ।
उनका अनुसार सुरम्य शिवपुरी पर्वतको काखमा रहेको ताकेश्वर महादेव मन्दिर हिन्दू धर्मालम्वीहरूको महत्वपूर्ण धार्मिक तीर्थस्थल हो । स्कन्दपुराणको श्री स्वास्थानी ब्रतकथामा भएअनुसार सतीदेवीको दाहिने तिघ्रो पतन भएको यस स्थानमा तारकेश्वर महादेव उत्पन्न भइ शिवशक्ति स्वरुपले रहेका हुन भन्ने उल्लेख छ ।

यस स्थलमा लक्ष्मीले तपस्या गरेका कारण कुनै पनि अनिकाल नहुने जनविश्वास छ भने असारमा खडेरी पर्दा तारकेश्वर महादेवको रुद्री हवन र पूरा गरेर पानी माग्दा वर्षा हुने गरेको विश्वास रहेको छ । पौराणिक कालमा दानवहरूले युद्ध गर्न देवगणले महादेवको प्रार्थना गरी हातहतियार सिद्धि प्राप्त गरेका कारण पूजा अर्चना एवं जपतप गर्दा मनोकांक्षासमेत पूरा हुने विश्वास रहेको पाइन्छ ।
त्यस्तै पहिला पहिला स्थानीयले धार्मिक कार्यका लागि भाँडाकुँडा माग्दा प्राप्त हुने गरेकाले लोकोक्ति पनि जाडिएको पाइन्छ ।
नगरपालिका क्षेत्रमा पौराणिक तारकेश्वर महादेव मन्दिर, गृह्रयेश्वरी, मनमैजु, धर्मस्थली, जयन्तीपुर भुवनेश्ववरी, शान्तिधाम बालकुमारी मन्दिर सिद्धेश्वर, सिम्लेश्वर लगायतका पवित्र धार्मिक तीर्थस्थल रहेका छन् ।
त्यस्तै नगरपालिका क्षेत्रमा भ्युटावर, ऐतिहासिक पाँचमाने, झण्डापार्क, तारकेश्वर साङ्ला अस्पताल, फुटुङ नागपोखरी, ज्येष्ठ नागरिक स्कूलकोको विस्तृत परियोजना प्रस्ताव तयार गरिएको लगायतका पर्यटकीय क्षेत्र रहेको तारकेश्वर नगरपालिकाले जनाएको छ ।