१० साउन २०८३, आइतबार
राष्ट्रियसभा निर्वाचन परिणाम

विष्णुकुमारीको राजनीतिक यात्राः स्थानीय तहमा चोट, राष्ट्रियसभामा बलियो भोट

माघ ११, २०८०
बुटवल
विष्णुकुमारीको राजनीतिक यात्राः स्थानीय तहमा चोट, राष्ट्रियसभामा बलियो भोट

गुल्मेली महिला नेतृ विष्णुकुमारी सापकोटाले संसद्को माथिल्लो सदन राष्ट्रियसभाको यात्रा तय गरेकी छिन् । बिहीवार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा सापकोटा ५ हजार ४३५ र मतभार सहित विजयी भइन् । सापकोटा गुल्मीमा नेपाली कांग्रेसभित्र बौद्धिक र क्षमतावानको पहिचान बनाएकी छिन् । पार्टीमा लामो रस्साकस्सीपछि उनलाई राष्ट्रियसभा उम्मेदवार बनाएको थियो । गुटको किचलोका कारण सत्ता गठबन्धनको ठूलो दल कांग्रेसलाई उम्मेदवार छान्न निकै सकस भएकै बेला सापकोटा राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनेपछि पार्टीका नेता कार्यकर्ता र गुल्मेलीमा खुसीयाली छाएको थियो । 

सरल जीवनशैली अपनाउन रुभाउने सापकोटा विस २०२३ असार १० गते मुसिकोट नगरपालिका–८ मा जन्मिएकी हुन् । सबैसँग मिल्न सक्ने नेतृत्वको रुपमा आफ्नो छवि बनाएकी सापकोटाले शारदा विद्या मन्दिर माविमै कक्षा ४–५ मा पढ्दैबाट जुनियर रेडक्रस सर्कलहरूमा आवद्ध भएर नेतृत्वको विकास गरेकी थिइन् ।

सापकोटाले महेन्द्र आदर्श माविबाट नेपाल विद्यार्थी संघमा आवद्ध भएर औपचारिक रुपमा विद्यार्थी राजनीति शुरू गरेकी हुन् । यसपछि उनी पद्म कन्या क्याम्पसमा नेविसंघ सदस्य, पाटन संयुक्त क्याम्पसको इकाई समापति हुँदै २०५५ सालमा सोही क्याम्पसकीे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्यमा निर्वाचित भइन् । 

त्यस्तै सापकोटा २०५८ सालमा नेविसंघको छात्रा विभागअन्तर्गत केन्द्रीय सदस्य भएको केही समयपछि गृहजिल्लाको राजनीतिमा फर्किन् । ०६३ देखि ०७४ सम्म महिला संघको सभापति बनिन् । उनी ०७४ सालमै नेपाली कांग्रेसको १३ महाधिवेशनमा जिल्ला कार्यसमिति सचिव बनेकी थिइन् । सापकोटा १४ औं महाधिवेशनबाट अहिले कांग्रेस लुम्बिनी प्रदेशको कार्यसम्पादन समिति सदस्य रहेकी छिन् । 

सापकोटा ०७४ सालको स्थानीय तहको निर्वाचनमा मुसिकोट नगरपालिकामा उपप्रमुखको उम्मेदवारसमेत रहेकी थिइन् । नेकपा (एमाले)की महिला नेतृ कमला शर्मासँगको प्रतिस्प्रर्धामा उनी पराजित भएकी थिइन् । स्थानीय तहको चोटलाई भुलाउने गरी संसद्को माथिल्लो सदनमा पुगेपछि उनलाई गुल्मीमा बधाई दिनेको ओइरो लागेको छ । राजनीतिबाहेक सामाजिक कर्महरूमा समेत सक्रिय सापकोटाले आफूलाई पार्टीले दिएको अवसरलाई राष्ट्रियहितमा उपयोग गर्ने बताइन् । 

पार्टीमा आफूले अवसरभन्दा पनि प्रजातन्त्र र लोकतन्त्रको पक्षमा काम रहेको बताउँदै सापकोटाले राष्ट्रियसभामा पनि सोही अनुसारको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘मेरो खुसी नै सबै नेता–कार्यकर्ताको खुसी हो । मलाई अवसर दिने नेतृत्वप्रति आभारी छु,’ उनले भनिन्, ‘राष्ट्रिय नेता बनेर राष्ट्र एवं प्रजातन्त्र र लोकतन्त्रको पक्षमा काम गर्ने प्रण गर्दछु ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्