२८ असार २०८३, आइतबार
ताल मिचेर अवैध संरचना

फेवापछि बेगनास अतिक्रमणमा पोखरा महानगर मुकदर्शक: माझीकुनामा धमाधम ठडिँदै अवैध संरचना

माघ २२, २०८०
कास्की
फेवापछि बेगनास अतिक्रमणमा पोखरा महानगर मुकदर्शक: माझीकुनामा धमाधम ठडिँदै अवैध संरचना

पर्यटकको आगमनसँगै माझीकुना पछिल्लो समय चर्चित छ । पोखरा महानगरपालिका वडा ३१ मा पर्ने बेगनास तालको छेउ हो, माझीकुना । पर्यटकको चहलपहलसँगै माझीकुनाको छेउछेउमा ताल अतिक्रमण तीव्र रूपमा बढिरहेको छ । फेवाताल संरक्षणमा फसेको महानगरको ध्यान अतिक्रमण भइरहेको बेगनास तालसम्म पुग्न सकेको छैन । 

पछिल्लो दुईवर्षमा मात्र माझीकुना छेउमा संरचना थपिएका छन् । वडादेखि महानगर भने मुकदर्शक बनेर बसिरहेका छन् । व्यावसायिक रूपमा माझीकुनामा चहलपहल हुन थालेको धेरै भएको छैन । १० वर्षअघि शुरू भएको माझीकुनाको पर्यटन व्यवसाय पछिल्लो समय कोरोना महामारीमा आन्तिरक पर्यटकले चर्चित बनाएका हुन् । यता माझीकुनामा आन्तिरक पर्यटकको उपस्थिति बढ्दै गयो । त्यो सँगै मापदण्डभित्र नै करोडौं लगानीमा संरचना ठडिन थाले । 

ताल संरक्षण गर्न नसकिरहेको महानगरले उल्टै तालको मापदण्ड घटायो । पोखरा महानगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर जिसीले ५५ औं कार्यपालिका बैठकमा तालको मापदण्ड घटाए । फेवातालको मापदण्डसँगै अन्य तालहरूको मापदण्ड घटाउँदा बेगनासको ५५ मिटरमा झारियो । यसअघि तत्कालीन लेखनाथ नगरपालिकाले तालको १ सय मिटरभित्र कुनै पनि संरचना बनाउन नपाइने गरी मापदण्ड तोकेको थियो ।

सर्वोच्चले कार्यपालिका निर्णयको विपक्षमा फैसला गरिसकेको छ । हाल तालको मापदण्ड १ सय मिटर नै कायम छ । तालको मापदण्ड त तोकिएको छ, तर यसको अनुगमन र तालको संरक्षणका विषयमा भने सबै बेखबर छन् । ताल छेउमै संरचना थपिँदै छन् । महानगरको प्राथमिकतामा यो विषय परेकै छैन ।  ​​

बेगनास अतिक्रमण झल्काउने गूगल तस्वीर


पर्यटकलाई लक्षित गर्ने नाममा संरचना अव्यवस्थित रूपमा थपिएका छन् । स्थानियवासीदेखि जनप्रतिनिधिको एकै गुनासो छ, पोखरा महानगरले लेखनाथलाई वास्ता गरेन । महानगरले बेगनास संरक्षणमा ध्यान नदिँदा थप भद्रगोल बनेको बताउँछन्, तत्कालीन लेखनाथ नगरपालिकाका प्रमुख शालिकराम पराजुली । 

‘यसको संरक्षणका लागि कुनै मापदण्ड बनेन । जथाभावी छ । अव्यवस्थित छ । दिगो रूपमा विकास गर्ने कुनै योजना देख्दिनँ मैले । निराश छु, झन् भन्दा झन् बिग्रने स्थितिमा छ । यत्रो भूगोल छ, यस्तो भद्रगोल छ,’ उनले गुनासो पोखे । 

वेगनास तालको मनमोहक दृश्य

तत्कालीन समयमा बेगनास संरक्षणका लागि आफूहरूले काम गरेको उनी सुनाउँछन् । मापदण्डभित्र पर्ने संरचना समेत त्यस समय भत्काएको उनको दाबी छ । पर्यटकीय चहलपहल हुनु सकारात्मक भए पनि व्यवस्थित हुनुपर्ने उनको भनाइ छ । नगर सल्लाहकार परिषद्का सदस्य समेत रहेका उनले विषय उठाए पनि सुनुवाइ नभएको गुनासो पोखे । महानगर फेवातालको विषयमा मात्र अल्झिएको उनको भनाइ छ । 

‘माझीकुना माछा खानका लागि राम्रै हो, तर त्यसलाई व्यवस्थित गरेर दीर्घकालीन रूपमा जाने भए हुन्थ्यो । जहाँतहीँ घर निर्माण गरेका छन् । नक्सा पास भएको छ कि छैन त्यसलाई कसले हेर्ने हो, केही थाहा छैन । अन्धाधुन्ध देख्छु म । नगर परिषद्मा अलिकति उठाएको थिएँ, कसो गर्ने भन्ने छलफल पनि भएन,’ उनले गुनासो गरे । 

२०२१ पछि माझीकुना क्षेत्रमा थपिएका संरचना 


त्यसो त बेगनास ताल जोगाउनका लागि समिति नबनेका पनि होइनन् । स्थानीयबाट आवाज नउठेको पनि होइन । तर, यो विषयमा सम्बन्धित निकायले कहिल्यै चासो लिएर जनगुनासो सुनेकै छैन । ८ वर्षअघि दीनानाथ ढकालको नेतृत्वमा बेगनास ताल संरक्षण समिति गठन भएको थियो । त्यो समिति निष्क्रिय छ । त्यसपछि पनि बेगनास ताल जोगाउन समिति बनिरहेका छन् । तर, सबै उदासीन छन् । समितिदेखि सबै उदासीन बन्दा ताल संरक्षणको विषयमा महानगरले समेत मौनता साँधेको उनको भनाइ छ । 

‘समिति यहाँ धेरै नै बने, काम चल्ने खाल्का भएनन् । चुप लागेर बस्ने हो भने बेगनास पनि फेवाकै स्थितिमा जाने भयो भन्ने चिन्ताको विषय भयो । तालबाट जग लगाएर बनाउने काम भएको छ । अब वडालाई मतलब छैन । महानगर पनि चुप लागेर बस्छ,’ उनले सुनाए । 

वेगनास तालको मनमोहक दृश्य

बेगनास अतिक्रमणको समस्या सबैभन्दा बढी माझीकुना क्षेत्रमा रहेको उनी सुनाउँछन् । अन्यत्र पनि नभएको हैन, माझीकुना र पिप्ले कुनामा अतिक्रमण गरेर संरचना बनाउने काम तीव्र छ । तत्कालीन लेखनाथ नगरपालिका महानगरमा गाभिएसँगै तालतलैया र प्राकृतिक सम्पदाका विषयमा सरोकारवालाको ध्यान नगएको गुनासो उनको छ ।

मापदण्डभित्र संरचना थपिँदै छन् । महानगरले भने अनुगमन नगरी मापदण्डभित्र संरचना बनाउन नपाइने भनेर मात्र बसिरहेको छ । मापदण्डभित्र बनेका संरचना हटाउँछौं भनेर टार्ने काम मात्र हुँदै आएको छ । पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सना मापदण्ड मिचेर बनेका संरचना हटाउने दाबी गर्छन् । 

‘मापदण्डभित्र महानगरले संरचना बनाउन कुनै पनि अनुमति दिएको छैन । यदि कसैले मापदण्ड मिचेर स्वीकृति नलिई बनाउँछन् भने महानगरले त्यसलाई रोक्छ नै,’ महानगरका प्रवक्ता मोतीलाल तिमिल्सनाले भने । 

बेगनास अतिक्रमण झल्काउने गूगल तस्वीर


संरक्षणमा महानगरले दाबी गरे पनि नतीजामुखी काम शून्य छ । बेगनास अतिक्रमण पछिल्लो वर्षमा तीव्ररूपमा भइरहँदा समेत हात बाँधेर बसिरहेको छ । बेगनासको विषयमा महानगरको ध्यान गएको देखिँदैन । तर, प्रवक्ता तिमिल्सिना महानगर यस विषयमा एकदमै सचेत रहेको जिकिर गर्छन् ।

‘पर्यटकीय पूर्वाधारको सन्दर्भमा पनि वाटर स्पोर्टसका लागि प्रोजेक्ट स्टडी कन्सेप्ट अगाडि बढेको छ । संरक्षणविना यो सम्भव छैन । तालको संरक्षणका विषयमा पोखरा महानगरपालिका एकदमै सचेत छ,’ उनले भने । 

वाटर स्पोर्टसको विषय महानगरले नीति तथा कार्यक्रममा समेटेको छ । १३ औँ नगर सभामा महानगरले बेगनासमा वाटर स्पोर्टस सञ्चालन गर्ने उल्लेख गरेको थियो ।

 

salt training

कमेन्ट गर्नुहोस्