
नेपालका उत्तरी नाकाबाट बिरामी उद्धारको बहानामा समेत सुन तस्करी हुने गरेको तथ्य खुलेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको विद्युतीय चुरोट (भेप) र ६०.७१६ केजी सुन तस्करीको विषयमा जाँचबुझ गर्न बनेको ‘सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग’ले गरेको अनुसन्धानमा यस्तो तथ्य खुलेको हो ।
विशेष गरी उत्तरी नाका नजिकबाट हुने हवाई उद्धारका क्रममा सुन तस्करी गरेको तथ्य खुलेको आयोगका अध्यक्ष तथा पूर्व न्यायाधीश डिल्लीराज आचार्यले बताए ।
‘हामीले उत्तरी नाकाबाट हुने हवाई उद्धारमा सुन तस्करी हुने गरेको सूचना र केही तथ्यहरू फेला पारेका छौं । त्यसका विषयमा अहिले थप अनुसन्धान भइरहेको छ,’ अध्यक्ष आचार्यले लोकान्तरसँग भने ।
बिरामी लिने बहानामा उत्तरी नाका रसुवामा हेलिकप्टर बोलाउने र त्यसमा बिरामीसँगै सुन रहेको झोलासहित काठमाडौंका ठूला अस्पतालमा अवतरण गरेर ट्याक्सीमा सुन सम्बन्धित ठाउँमा पुर्याइने गरेको छ ।
आयोगले अहिले कसरी सुन तस्करी भइरहेको छ, त्यसमा को–को संलग्न छन् भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।
कृष्णबहादुर महरा लगायतसँग बयान लिन तथ्य फेला परेन !
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानमा पसेर छानबिन गर्न पाउने अधिकार पाएको आयोगले सुनसँग जोडिएर आएका व्यक्तिहरूसँग पनि बयान लिइरहेको छ ।
पछिल्लो समय विद्युतीय चुरोट (भेप) तथा स्कूटर र मोटरसाइकलको 'ब्रेक शू'भित्र लुकाएर ल्याएको सुनका ३२ जना प्रतिवादीहरूसँग बयान लिएको छ ।
त्यसबाहेक प्रहरीले अनुसन्धानको क्रममा बुझेका तर अभियोजन नगरेका १३ जना व्यक्तिको समेत बयान गरेर कागज गराएको अध्यक्ष डिल्लीराज आचार्यले लोकान्तरलाई बताए ।
‘हामीले प्रहरीले अभियोजन नगरेका १३ जना व्यक्तिहरूसँग समेत बयान लिएका छौं,’ अध्यक्ष आचार्यले लोकान्तरसँग भने ।
उनका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)की निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य र अन्य २ जना डीएसपीको बयान लिइएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अभियोजन पत्रमा चार्ट नै बनाएर संलग्नता देखाएका पूर्व सभामुख कृष्णबहादुर महरालाई भने बयानमा बोलाइएको छैन ।
आयोग गठन भएसँगै उनको बयानको विषयलाई उत्सुकताका साथ हेरिएको थियो । तर, ३ महिनाको म्याद थपिएको आयोगले अहिलेसम्म पनि बयान लिन सकेको छैन ।
‘उहाँ (कृष्णबहादुर महरा)को सुनसँग कतै कनेक्सन देखिएन । हाम्रो उद्देश्य पनि उहाँलाई बयानमा ल्याउने भन्ने थियो,’ आयोगका एक सदस्यले लोकान्तरसँग भने ।
अहिले बागमती प्रदेशका मन्त्री तीर्थ लामा लगायत सञ्चार माध्यममा नाम आएका अन्य व्यक्तिहरूसँग बयान लिने तयारी गरेको आयोगले बताएको छ । तर, माथिल्लो तहका व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याउन सकेको छैन ।
सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख महराले पटक–पटक फोनमा कुरा गरेको तथ्य बाहिरिएको थियो । सुन तस्करसँग महराको टेलिफोन संवादलाई लिएर संसदमा विपक्षी दलले चर्को आवाज उठाएका थिए ।
पछि त्रिभुवन विमानस्थलमा प्रहरीले बरामद गरेको १ केजी सुन प्रकरणमा कांग्रेस सांसद एवं बागमती प्रदेशका मन्त्री तीर्थ लामाको नाम जोडिएको थियो । उनको नाममा काटिएको ६ लाख रुपैयाँको चेक समेत फेला परेको थियो ।
नेपालमा पछिल्लो समयमा सुन तस्करी बढेपछि सरकारले त्यसको छानबिन गर्नका लागि असोज १५ गते पूर्व न्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा आयोग गठन गरेको थियो ।
विशेष गरेर गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट ६०.७१६ केजी सुन भित्रिएपछि सर्वत्र विरोध हुँदा सरकारले आयोग बनाएको हो ।
प्रतिपक्षमा रहेको नेकपा एमाले लगायतका दलहरूले सुनको विषय संसद्मै उठाएर आयोग गठनका लागि जोडदार माग गरेका थिए ।
डीएफएल र सीडीआरका माध्यमबाट चेकजाँच गर्दै आयोग
आयोगले आफ्नो अनुसन्धानलाई बलियो बनाउन र थप प्रमाणहरू ल्याउनका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) र कल डिटेल रेकर्ड (सीडिआर)को सहायता लिइरहेको छ ।
अध्यक्ष आचार्यका अनुसार प्रहरीले पहिला संकलन गरेका प्रमाणहरूबाट छुटेका प्रमाणलाई बाहिर ल्याउन तथा अध्ययनका लागि डीएफएलको सहायता लिइएको हो ।
‘पूर्व संकलित प्राविधिक जाँच प्रमाणहरूको संकलन तथा अध्ययन र थप प्रविधिमैत्री प्रमाणहरूको संकलनका लागि डीएफएल र सीडीआर गरिरहेका छौं,’ अध्यक्ष आचार्यले लोकान्तरसँग भने ।
आयोगले ३२ जना प्रतिवादीहरूसँग बयान गरेको छ । विद्युतीय चुरोट र ब्रेक प्याडसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा सीआईबीले जफत गरेर सिलबन्दी गरेका र सुन तस्करीमा प्रयोग भएका टोखा, बूढानीलकण्ठ र बालुवाटारका गोदामको स्थलगत अवलोकन पनि गरेको छ ।
अध्यक्षका अनुसार अयोगले संसद्मा प्रनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग छलफल र परामर्श गरेको छ ।
राज्य व्यवस्था समितिका सभापति र अर्थ समितिका सभापतिसँग पनि छलफल र परामर्श गरेको अध्यक्ष आचार्यले लोकान्तरलाई बताए ।