
विराटनगरको कोशी अस्पतालमा कर्मचारी नियुक्तिमा अस्पताल विकास समितिले मनपरी गरेको खुलेको छ । स्वास्थ्य मन्त्रालयबाट स्वीकृत दरबन्दीलाई लुकाएर कर्मचारीका लागि सूचनाको आव्हान गर्दै मनपरी गरिएको हो । विकास समिति र मेसु मिलेर जथाभाबी मापदण्ड बनाएर आफूअनुकूल विभिन्न पदका ५० जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरिएको अस्पतालका एक कर्मचारीले बताए ।
आफूनिकटका व्यक्तिलाई कर्मचारीमा नियुक्ति दिन समितिका अध्यक्ष डा फरवार्ड सिलवाल र मेसु डा चन्द्रभाल झाबीच मिलेमतो रहेको कर्मचारीहरू बताउँछन् । यसअघि अस्पतालले माघ ४ गतेको मिति राखेर २१ दिनको म्याद दिँदै तीन महिने सेवा करार रहनेगरी भर्नाका लागि विज्ञापनमार्फत दरखास्त आह्वान गरेको थियो ।
जसमा मेडिकल अधिकृत, नर्सिङ अधिकृत, बायो मेडिकल टेक्निसियन, स्टाफ नर्स र फार्मेसी सहायक माग गरिएको छ । खुला विज्ञापन गरिएको पदमा तल्लो तहलाई लिखित र अन्तरर्वार्ता दुवै परीक्षा लिने व्यवस्था रहेकोमा माथिल्लो तहलाई अन्तरर्वार्ताका आधारमा नियुक्तिको तयारी गरिएको छ । मन्त्रालयबाट अस्पताल विकास समितिका लागि ८७ जनाको दरबन्दी स्वीकृत भए पनि ५० का लागि मात्रै दरखास्त आह्वान गरिएको छ ।
स्वीकृत दरबन्दीअनुसार ३८ जनाको विज्ञापन भने लुकाइएको छ । परीक्षा नै नगरी अस्पताल विकास समितिले यसअघि करारमा कर्मचारी भर्नासमेत गरिसकेको एक कर्मचारीले जानकारी दिए । जसमा गोविन्द मिश्र र विनोद राजभरलाई करारमा नियुक्त गरिसकिएको छ । मिश्रलाई आठौँ तहका बायो मेडिकल इन्जिनियर र राजभरलाई आठौँ तहकै आईटी इन्जिनियरमा नियुक्त गरिएको हो ।
यस्तै हलुका सवारी चालकमा कमलप्रसाद दाहाललाई नियुक्त गरिएको छ । पुष २२ गते बसेको अस्पताल विकास समितिको बैठकबाट उनीहरूलाई नियुक्त गरिएको हो ।
सवाल उठ्ने विषय त यो छ आठौँ तहको बायो मेडिकल र आईटी इन्जिनियरको भर्नाका लागि अस्पतालले विज्ञापन नै गरेको थिएन । स्वास्थ्य उपकरण लगायतका सामग्री खरिद् र मर्मत प्रक्रियासँग जोडिने भएकाले अस्पताललाई बायो मेडिकल इन्जिनियर आफूनिकटको राख्न अध्यक्ष र मेसु सहमत भएको कर्मचारीहरू बताउँछन् ।
यसरी अस्पतालमा बेथिति बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । अख्तियारको इटहरी कार्यालयले छानबिन थालेको हो । अस्पताल प्रशासन सञ्चालक समिति समेतको मिलेमतोमा मूल्यांकन र टेन्डर नगरीकन सरकारी भवनहरू भत्काएपछि अख्तियारले छानबिन थालेको बताइएको छ । मूल्यांकन र टेन्डर नगरीकन सरकारी भवनहरू भत्काइएको हो । चिकित्सक र कर्मचारीलाई आवासका लागि उपलब्ध गराइएका ६ वटा भवन भत्काउनसमेत अध्यक्ष डा फरवार्ड सिलवालकै डोजर प्रयोग भएको थियो ।
यता अस्पताल विकास समितिका अध्यक्ष सिलवालले भने दुई कर्मचारीलाई आपतकालीन अवस्थामा राखिएको बताएका छन् । ‘दुवैजना ज्यालादारीमा गर्दै हुनुहुन्थ्यो,’ उनले भने ‘शनिवार काम गरेको ज्याला पनि नपाएपछि तुरुन्त आवश्यकतासमेत परेकाले निर्णय गरेर कर्मचारी राखेका हौँ । हाम्रो कुनै गलत मनसाय छैन ।’ उनले दरबन्दी नलुकाइएको पनि दाबी गरेका छन् । अस्पताल विकास समितिले तलब खुवाउन पुग्नेगरी मात्रै विज्ञापन गरिएको उनले बताए । थप स्रोतको व्यवस्थापन भएपछि अन्य सूचना निकाल्ने उनले जानकारी दिए ।
कोशी अस्पताल विकास समितिमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) रहेका छन् । सिलवाल विराटनगर महानगरपालिकाका प्रमुख (मेयर) नागेश कोइरालाका साथी हुन् । उनकै जोडवालमा उनी अध्यक्ष भएका थिए । कांग्रेसका अन्य दुई सदस्यमा हरि भट्टराई र डा ज्योति कार्की रहेका छन् । कार्की कोशी अस्पतालमै कार्यरत छाला रोग विशेषज्ञ हुन् । माओवादी केन्द्रका भने किशोर पाण्डे सदस्य रहेका छन् ।
दरबन्दी लुकाएर कर्मचारी सूचना प्रकाशन गरेपछि केही दलका नेताहरूले त्यसको विरोध गरेका छन् । कोशी अस्पताललाई पार्टी कार्यालय बनाए जसरी सञ्चालन गर्न खोजिएको नेकपा (एकीकृत समाजवादी), मोरङका नेता वासिम आलम आरोप लगाए ।
‘हाम्रो दल एकीकृत समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) लगायतका दलसँग मिलेर संयुक्त विज्ञप्ति निकाल्ने तयारीमा छ,’ उनले भने, ‘सुधार नगरिए आन्दोलन गर्छाैँ ।’