०३ साउन २०८३, आइतबार

हिमालयन रि-इन्स्योरेन्सले आईपीओ निकालेको पहिलो वर्षमै दिने भयो बोनस शेयर

माघ २८, २०८०
काठमाडौं
हिमालयन रि-इन्स्योरेन्सले आईपीओ निकालेको पहिलो वर्षमै दिने भयो बोनस शेयर

हालै मात्र सर्वसाधारणमा शेयर जारी गरेको हिमालयन रि-इन्स्योरेन्स लिमिटेडले आईपीओ निकालेको पहिलो वर्षमै ४ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । 

यही माघ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरी आगामी फागुन २० मा हुन गइरहेको कम्पनीको तेस्रो वार्षिक साधारणसभामा निर्णयार्थ पेश गरेको छ । 

साथै नियामक निकाय नेपाल बीमा प्राधिकरणले दुवै पुनर्बीमा कम्पनीलाई आगामी वर्षको माघ ३० भित्र चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको कम्पनीले जनाएको छ । यसै परिपेक्षमा कम्पनीले बोनस शेयरपछि हुने चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँको १० को ८ (८० प्रतिशत) अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्तावसमेत कम्पनीको तेस्रो वार्षिक साधारणसभामा निर्णयार्थ पेश गरेको छ । 

कम्पनीको पुनर्बीमा शुल्क आम्दानी आर्थिक वर्ष २०७८-७९ को तुलनामा आव २०७९-८० मा ५३५ प्रतिशतले वृद्धि भई ५४६ करोड रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको खुद नाफा आव २०७८-७९ को तुलनामा २०७९-८० मा १२२ प्रतिशतले वृद्धि भई ६५ करोड रुपैयाँ पुगेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

कम्पनीले हालैमात्र भारतबाट पुनर्बीमा व्यवसाय भित्र्याउन त्यहाँको बीमासम्बन्धी नियामकीय निकायबाट स्वीकृति पाएको थियो । यसैगरी विश्वविख्यात रेटिङ एजेन्सी एएक बेस्ट प्रालिले कम्पनीको रेटिङ बी वा बी प्लसमा स्तरोन्नति गरिदिएको थियो । 

‘नेपालको निजी क्षेत्रबाट प्रवर्द्धित पहिलो पुनर्बीमा कम्पनीले हासिल गरेको एकपछि अर्काे सफलताले कम्पनीको आगामी दिनमा सफलताका थप खुड्किलाहरू पार गर्दै दक्षिण क्षेत्रको एक उदाउँदो पुनर्बीमा कम्पनीको रुपमा आफूलाई उभ्याउने विश्वास लिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्