०४ साउन २०८३, सोमबार

ललितपुर महानगरले दिन थाल्यो स्वास्थ्य बीमा कार्यक्रममार्फत स्वास्थ्य सेवा

पुल्चोकको यल स्वास्थ्य सेवा केन्द्रबाट सेवा लिन सकिने
फागुन १, २०८०
ललितपुर
ललितपुर महानगरले दिन थाल्यो स्वास्थ्य बीमा कार्यक्रममार्फत स्वास्थ्य सेवा

ललितपुर महानगरपालिकाले मंगलवारबाट स्वास्थ्य बीमा कार्यक्रममार्फत स्वास्थ्य सेवा शुरू गरेको छ । 

महानगरले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)को सञ्चालन र व्यवस्थापनमा स्वास्थ्य सेवा शुरू गरेको हो । स्वास्थ्य सेवा पुल्चोकमा रहेको यल स्वास्थ्य सेवा केन्द्रबाट लिन सकिने महानगरले जनाएको छ । 

ललितपुर महानगरका प्रमुख (मेयर) चिरीबाबु महर्जनले स्वास्थ्य बीमा महानगरले नगरबासीलाई दिएको उपहार भएको बताए । केन्द्रको उद्घाटन गर्दै उनले नेपालकै उत्कृष्ट अस्पताल र मुलुककै जेठो नगरपालिकाबीचको समझदारी तथा सहकार्यबाट महानगरबासीले उत्कृष्ट सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे । 

‘पाटन अस्पतालसँगको सहकार्यले कोभिडको समयमा उत्कृष्ट काम गर्न सक्यौँ,’ उनले भने, ‘अब मुलुककै लागि उदाहरणीय बन्ने गरी स्वास्थ बीमामार्फत उपचार सेवाको काम अगाडि बढेको छ ।’ 

null

महानगरले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको मेयर महर्जनले स्पष्ट पारे । महानगरमा स्वास्थ्य बीमा कार्यक्रम केही ढिला भएपनि ढिला भएको अनुभूति नहुने गरी सेवा प्रवाह हुने उनले दाबी गरे । उनले केन्द्रमा जनशक्तिदेखि उपकरणसम्म कुनै क्षेत्रमा कमी कमजोरी हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे । 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा राजेशलाल डंगोलले स्वास्थ्य बीमा कार्यक्रममार्फत प्रवाह हुने सेवाले नागरिकको खर्च घटाउन र रोगका कारणले ऋणको भारी बोक्नुपर्ने अवस्था अन्त्य गर्न सहयोग गर्ने बताए । उनले बीमा कार्यक्रममार्फत प्रवाह हुने सेवामा नगरवासीलाई निराश हुने अवस्था आउन नदिने प्रतिबद्धता जनाए ।

बीमा बोर्डका कार्यकारी निर्देशन दामोदर बसौलाले २०७२ चैत २५ गते कैलालीबाट शुरू भएको स्वास्थ्य बीमा कार्यक्रम हाल देशका ७५३ वटै पालिकामा सञ्चालन भएको जानकारी गराए । उनले स्वास्थ्य बीमा शुरू गर्नुभन्दा गुणस्तरीय सेवा पाउने कुरा महत्वपूर्ण भएको बताए । 

ललितपुर महानगर स्वास्थ्य बीमा सम्पर्क व्यक्ति दाताराम अधिकारीले यल स्वास्थ्य केन्द्रमा अहिले कर्मचारी र चिकित्सकसहित ५६ जनाको व्यवस्था भएको जानकारी गराए । आपतकालीन र बहिरङ्ग सेवामा पाँच–पाँच शय्या रहेको स्वास्थ्य सेवा केन्द्रबाट दैनिक पाँच विशेषज्ञ सेवासहित २४ घन्टा सेवा प्रदान गरिने छ । जनरल मेडिसिन, जनरल सर्जरी, प्रसुति, बालस्वास्थ्य र हाडजोर्नीको विशेषज्ञ सेवा प्रदान गर्ने महानगरले जनाएको छ ।
 

कमेन्ट गर्नुहोस्