०५ साउन २०८३, मंगलबार

पूर्वप्रधानमन्त्री चन्दलाई नागरिक अभिनन्दन गर्दाको खर्च विवरण सार्वजनिक

फागुन ५, २०८०
धनगढी
पूर्वप्रधानमन्त्री चन्दलाई नागरिक अभिनन्दन गर्दाको खर्च विवरण सार्वजनिक

कैलालीको धनगढीमा पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई नागरिक अभिनन्दन गरेको मूल समारोह समितिले खर्च विवरण सार्वजनिक गरेको छ ।

शनिवार पत्रकार सम्मेलन गर्दै समितिले समारोह आयोजनाका लागि विभिन्न व्यक्तिहरूबाट सङ्कलन भएको रकम र खर्चको विवरण सार्वजनिक गरेको हो ।

समारोह आयोजनाका लागि कुल ६ लाख ६ हजार  ३ सय ३२ रुपैयाँ सङ्कलन भएकोमा नागरिक अभिनन्दन कार्यक्रममा ७ लाख ९ हजार १ सय ६६ रुपैयाँ खर्च भएको नागरिक अभिनन्दन गरेको मूल आयोजक समिति संयोजक माया प्रकाश भट्टले बताए ।

उनका अनुसार ८० हजार ३ सय रुपैयाँ सङ्कलन हुन बाँकी छ । सो रकम सङ्कलन भएमा जम्मा आम्दानी ६ लाख ८६ हजार ६ सय ३२ रुपैयाँ हुनेछ ।

आम्दानी र खर्चको विवरण हेर्दा २२ हजार ५ सय ३४ रुपैयाँ घाटा भएको छ । ‘हामीले खर्च जोगाउने प्रयास गरेकै हौं । यसमा सरकारी तहबाट सहयोग भएको थिएन । व्यक्तिहरूले नै सक्दो सहयोग गरेका थिए । अभिनन्दनका क्रममा हामीले उहाँको ग्रन्थ पनि सार्वजनिक गरेका छौं। अब उक्त पुस्तकलाई बचेर घाटा भएको रकम सङ्कलन गर्ने हाम्रो योजना छ । निःशुल्क वितरण गर्नुपर्ने ठाउँमा गरेर बाँकी रहेका पुस्तकलाई प्रतिपुस्तक ५ सयका दरले बिक्री गर्छौं', समिति संयोजक भट्टले पत्रकार सम्मेलनमा भने ।

नेपाली साहित्य क्षेत्र र राजनीतिमा पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै ८४ औं वसन्त पूजनको अवसरमा चन्दलाई यही फागुन ३ गते सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी कैलालीको धनगढीमा नागरिक अभिनन्दन गरिएको थियो ।

४ पटक प्रधानमन्त्री भएका चन्दका हिउँको तन्ना, नेताका साथी, पाहुना घर लगायतका दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशन भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्