
लमजुङको दोर्दी गाउँपालिका–२ अर्चलबोटमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
रोट्रयाट क्लब अफ नारायणगढ र रोटरी क्लब अफ नारायणगढको संयुक्त आयोजनामा लक्ष्मीनारायण मावि पिपलभञ्ज्याङमा सञ्चालन भएको शिविरको उद्घाटन गर्दै सांसद उर्मिला माझीले स्वास्थ्य नै जीवनको प्रमुख आधार भएकाले स्वास्थ्यमा विशेष ध्यान दिन सहभागीहरूलाई आग्रह गरेकी थिइन् ।
उनले जनताको स्वास्थ्यप्रति राज्य र वर्तमान सरकार संवेदनशील रहेको बताइन् । सरकारले जटिल प्रकृतिका रोगका लागि निःशुल्क उपचार, स्वास्थ्य बीमा, नाबालक र वृद्ध ज्येष्ठ नागरिकका लागि सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गरेको जानकारी दिँदै यसको उपयोग गर्न अपिल गरिन् ।
उनले प्रत्येक स्थानीय तहमा १५ शय्या अस्पताल निर्माणको नीति कार्यान्वयनमा रहेको बताउँदै ग्रामीण भेगमा जनताको स्वास्थ्यका लागि यस्ता खालका स्वास्थ्य शिविरले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।
शिविर भूपू विद्यार्थी तथा समाजसेवी युवा सुनिल मरेटाको विशेष संयोजनमा भूतपूर्व विद्यार्थी समाजको आयोजनामा भएको हो । कार्यक्रममा सात सयभन्दा बढी सेवाग्राहीले सेवा पाएका छन् ।
कार्यक्रममा दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, वडाध्यक्ष गणेश खत्री, विद्यालयका प्रधानाध्यापक ईश्वरी अधिकारी, पूर्वप्रअ तथा व्यवस्थापन समिति अध्यक्ष एवं समाजसेवी रामप्रसाद पौडेल, प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेललगायत चितवनस्थित भरतपुर अस्पताललगायतबाट आएका चिकित्सकको उपस्थिति थियो ।