
नेपाल टेलिकमले सञ्चालनमा रहेका ३४ विमानस्थलमा फ्रि वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।
टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त सम्झौतामा फागुन ११ गते शुक्रवार हस्ताक्षर गरेका छन् ।
सहमति पत्रमा टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत बिनिता श्रेष्ठ र प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गरेका छन् ।
सहमति पत्रअनुसार टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्रि वाइफाइ नेटवर्क जडान गर्नेछ ।
यस्तै, नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरूमा समेत चरणबद्ध रुपमा फ्रि वाइफाइ इन्टरनेट सेवा सञ्चालन गर्नेछ ।
त्यसैगरी विमानस्थलभित्र यात्रुहरूलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवासम्बन्धी जानकारी उपलब्ध गराउनका लागि सूचना तथा सहायता कक्ष स्थापना गरिने छ ।
फ्रि वाइफाइ नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनको लागि उपकरणहरू जडान गर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनका लागि आवश्यक कार्य नागरिक उड्डयन प्राधिकरणले गनेछ ।
त्यसैगरी यात्रुहरूलाई सुविधा हुने गरी मोबाइल चार्जिङ स्टेसन राख्ने स्थानसमेत प्राधिकरणले उपलब्ध गराउने छ ।
यस अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा फ्रि वाइफाइ सेवा सञ्चालन गर्ने सहमति भइसकेको छ भने अब विमानस्थलको सबै स्थानमा सेवा उपलब्ध हुने टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए ।